अनेसासमा आवद्ध रहेर नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउने हाम्रो अभियान -प्रा. डा. खगेन्द्र लुइटेल

अनेसास बिओटीका सल्लाहकार प्रा.डा. खगेन्द्र लुइटेलसँग अनेसास दर्पणका निवर्तमान प्रधान सम्पादक  लालगोपाल सुवेदीले लिनुभएको अन्तर्वार्ता-

(१) यहाँको आफ्नो साहित्ययात्राबारे हामीलाई जानकारी गराइदिनुहोस् न ।

मैले २०२९ सालको रत्नज्योति नामक हस्तलिखित पत्रिकामा प्रकाशित ‘विद्यार्थी’ शीर्षकको कविताका माध्यमबाट साहित्ययात्रा प्रारम्भ गरेको हो । मेरा हालसम्ममा विभिन्न विधाका एक सयजति पुस्तकाकार कृति र प्रशस्तै फुटकर समालोचना प्रकाशित छन् । मेरा थुप्रै कविता, कथा, निबन्ध, प्रबन्ध नियात्रा, संस्मरण, जीवनी, बालसाहित्य, बालनिबन्ध आदि पनि प्रकाशित भइसकेका छन् । पुस्तकाकार कृतिका अतिरिक्त स्वदेशी र विदेशी विभिन्न पत्रपत्रिकाहरूमा भाषासाहित्य तथा समालोचना एवं समीक्षासम्बन्धी प्रशस्त फुटकर लेखरचनाहरू प्रकाशित छन् । मैले डायस्पोरा, लोकवार्ताविज्ञानलगायत अनेक विषयमा अनुसन्धान गरेको छु, विभिन्न विधाका साहित्यिक इतिहास लेखेको छु ।

मेरो पहिलो प्रकाशित पुस्तकाकार कृति आर.के. नारायणको गाइड (२०४९) उपन्यासको अनुवाद हो । मेरा प्रकाशित कृतिहरू समालोचना, भाषाविज्ञान, व्याकरण, कोशविज्ञान, लोकसाहित्य र डायस्पोराका साथै निबन्धसँग सम्बन्धित छन् । म अरूले हात नहालेका विभिन्न नयाँ क्षेत्रमा हात हाल्न रुचाउँछु ।

मेरा विभिन्न तहको पाठ्यक्रमअनुरूपका थुप्रै पाठ्यपुस्तकहरू, केही सम्पादित कृतिहरू र श्यामव्यङ्ग्यात्मक निबन्ध सङ्ग्रह पनि प्रकाशित छन् । मैले विभिन्न व्यक्तिका कृतिहरूको सम्पादन पनि गरेको छु । मैले शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको नेपाली विषय समितिमा रहेर नेपाली विषयको पाठ्यक्रम र पाठ्यपुस्तकको संशोधन–परिमार्जन पनि गरेको छु भने नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशको संशोधन–परिमार्जन पनि गरेको छु ।

मेरा समालोचनात्मक कृतिहरू विभिन्न तहको पाठ्यक्रममा समावेश गरिएका छन् । मेरा पुस्तकहरू विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म र स्वदेशदेखि विदेशसम्म पढाइ हुन्छन् । साहित्यका विविध विधाका थुप्रै रचनाहरू विद्यालय तहका विभिन्न कक्षाका पाठ्यपुस्तकमा पनि समाविष्ट छन् ।

म वस्तुवादी, भाषावादी समालोचना संरचनावादी समालोचना पद्धतिको अनुशरण गरी कुनै पनि कृतिको समालोचना गर्न रुचि राख्छु । मैले सांस्कृतिक र डायस्पोरिक समालोचना पनि लेखेको छु । कुनै पनि कृति र कृतिकारको अनावश्यक प्रशंसा नगरी यथार्थवादी ढङ्गले निष्पक्ष रूपमा समालोचना गर्न रुचि राख्छु । मैले कविता, कथा, उपन्यास, नाटक, निबन्ध, लोकसाहित्यजस्ता सबै विधामा समालोचना गरेको छु । मैले स्वदेश एवं विदेशका विभिन्न व्यक्तिका विविध विधाका कृतिहरूको भूमिका पनि लेखेको छु । एम. ए., एम. फिल र पिएचडी तहका थुप्रै शोधनिर्देशन एवं परीक्षण गरेको छु । बेलायत, अमेरिका, क्यानडा, जापान, कोरिया, युरोपका विभिन्न देशलगायत संसारका विभिन्न मुलुकमा डायस्पोरा, मानक नेपाली भाषालगायत अनेक विषयमा प्रशस्त कार्यपत्र प्रस्तुत गरेको छु, टिप्पणी गरेको छु ।

(२) यहाँको विचारमा साहित्य के हो र यहाँको साहित्यिक दृष्टिकोण के हो ?

भाव, विचार वा घटनाको यथार्थाश्रित सौन्दर्यमूलक भाषिक संरचनालाई साहित्य मानिए पनि साहित्यको अन्तिम परिभाषा हुँदैन । साहित्यको परिभाषा समय र युगसापेक्ष हुने गर्छ । विभिन्न भाव, विचार, घटना, प्रसङ्ग आदिलाई भाषाका माध्यमबाट गद्य वा पद्यमा प्रस्तुत गरी विधाविशेषका कृतिगत स्वरूप प्रदान गर्नुलाई साहित्य भनिन्छ । मानवीय चिन्तनमा आधारित मानवोपयोगी भावधारा साहित्य हो र जुनसुकै सन्दर्भबाट भए पनि यो जीवनोपयोगी हुनुपर्छ । आधुनिक साहित्य युगीन यथार्थको प्रकटीकरणमा केन्द्रित हुनुपर्छ । साहित्य मानव सिर्जना भएकाले यो ज्ञानार्जन वा अन्य कुनै सन्दर्भबाट भए पनि मानवका लागि उपयोगी हुनैपर्छ । पहिलेको लेखन प्रभाववादी भए पनि अबको लेखन वस्तुवादी, यथार्थवादी, समय र समाजसापेक्ष हुनुपर्छ र यसमा स्रष्टा र द्रष्टा दुवै सचेत र जिम्मेवार हुनुपर्छ ।

(३) हिजो र आजको सिङ्गो नेपाली साहित्यलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

पहिले साहित्यकार कम र साहित्य बढी थियो । कृति छाप्न पनि उति हतारिंदैथे । साहित्यिक सिर्जना पनि स्तरीय नै हुन्थ्यो । पाठक पनि बढी नै थिए । पठन संस्कृति थियो । विमोचनको चलनै थिएन । अहिले परिस्थिति लगभग उल्टिएको छ । अहिले साहित्य कम र साहित्यकार बढी हुँदै गएको देखिन्छ । अहिले कृति छाप्न ज्यादै हतारिन्छन् र एउटा कृति छाप्नेबित्तिकै मेरो मूल्याङ्कन भएन भन्दै समालोचकलाई गाली गर्दै उफ्रिन थाल्छन्, पुरस्कारका लागि धाउन थाल्छन् । स्तरीयतामा ध्यान दिंदैनन् । अनावश्यक प्रचारबाजी गर्छन् । पाठक पनि घट्दो अवस्थमा छन् । पठन संस्कृति ह्रासोन्मुख हुँदैछ । विमोचन, अन्तक्र्रिया, चर्चापरिचर्चा आदिको बिगबिगी छ । सामाजिक सञ्जालले साहित्यको गुणात्मकता, शुद्धता र स्तरीयता खस्काएको छ । विभिन्न नामधारी प्रायोजित पुरस्कारले पनि साहित्यको महिमामुण्डन गरेको छ । यसको तात्पर्य अहिलेको साहित्य खतम, कामै नलाग्ने छ भन्नेचाहिं होइन । कतिपय स्तरीय साहित्य पनि सिर्जना भएका छन् तर ठूला भिडमा ती हराउने अवस्था छ ।

(४) घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ?

अहिले गृहदेश र गन्तव्यदेश दुवैतिर नेपाली साहित्य सिर्जनाको गति तीव्र बेगमा अगि बढिरहेको छ । दुवैतिर विमोचन, अन्तक्र्रिया, चर्चापरिचर्चा आदिको बिगबिगी छ । एउटै कृतिको विमोचन, अन्तर्कृया, चर्चापरिचर्चा पनि अनेक ठाउँमा अनेक पटक हुनथालेको छ । वैयक्तिक स्वार्थका कारण विदेशतिरबाट लेखिएका सामान्य कृतिलाई पनि अनावश्यक बढाइचढाइ गर्न यताका कथित समालोचक भनाउँदा टिप्पणीकारहरू दत्तचित्त भएर लागेका छन् भने उताका स्रष्टा पनि यस्तैमा मख्ख छन् । दुवैतिर सङ्ख्यात्मक रूपमा नेपाली साहित्यको गति निकै बढेको देखिए पनि गुणस्तरीयतामा उति ध्यान दिएको पाइन्न । दुवैतिर नेपाली साहित्यको सङ्ख्यात्मक गति निकै बढेकाले इतिहास लेखनमा पनि समस्या पैदा हुँदै गएको छ । अहिलेका गृहदेश र गन्तव्यदेश दुवैतिरका साहित्य सर्जकले स्तरीयता र शुद्धतामा विशेष ध्यान दिनुपर्छ भने समालोचकले पनि अनावश्यक रूपमा उचाल्ने र पछार्ने गर्नुहुन्न । यति हुँदाहुँदै पनि पूरै निराशजनक भने छैन ।

(४) अबको अनेसास कस्तो होस् र यसले कस्ताकस्ता काम गरोस् भन्ने चाहना राख्नुभएको छ ?

विश्वव्यापी रूपमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषासाहित्यको विकास, विस्तार र अन्तर्राष्ट्रियकरण -विश्वव्यापीकरण स्पष्ट कार्यदिशा निर्माण गरी अगि बढ्नु आवश्यक छ । आगामी दिनमा अनेसासले गर्नुपर्ने प्रमुख कार्यहरू निम्नलिखित देखिन्छन्-

(१) अनेसासबाट गरिने गतिविधि मात्रात्मकभन्दा बढी गुणात्मक कार्यतर्फ ध्यान दिनुपर्ने,

(२) आर्थिक रूपले केन्द्र तथा च्याप्टरलाई सबल तुल्याउन स्थायी कोषको व्यवस्था गर्नुपर्ने,

(३) हालसम्ममा यसका च्याप्टरहरूको सङ्ख्या ठ्याक्कै बताउन कठिन भएकाले तिनको अद्यावधिक अभिलेख तयार पारी सक्रिय र निष्क्रिय च्याप्टर छुट्ट्याएर सबैको जानकारीका लागि वेबसाइटमा राख्नुपर्ने,

(४) जथाभावी च्याप्टर गठन गरेर संस्थालाई अस्तव्यस्त तुल्याउने काम नगरी च्याप्टर गठनसम्बन्धी स्पष्ट नीति बनाएर त्यही आधारमा मात्र च्याप्टर गठन गर्नुपर्ने,

(५) विभिन्न च्याप्टरको मातहतमा रहने गरी खोलिएका उपशाखाहरूलाई व्यवस्थापन गर्नुपर्ने,

(६) सबै च्याप्टरहरूबाट सदस्यता नामावली अद्यावधिक गर्ने र त्यसपछि थपिएका सदस्यहरूलाई मतदाता नामावलीमा थप्दै जानुपर्ने,

(७) संसारभर फैलिएका च्याप्टरहरूलाई उपयोग गरी आप्रवासी नेपाली साहित्यको इतिहास निर्माण गर्न र अद्यावधिक तुल्याउन क्रियाशील हुनुपर्ने,

(८) नेपाली साहित्यको विभिन्न विधाका स्तरीय व्यक्ति चयन गरी तिनको अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण वा विश्वव्यापीकरण गर्नेतर्फ थप क्रियाशील हुनुपर्ने,

(९) आप्रवासबाट प्रकाशित स्तरीय व्यक्तिहरूको चयन गरी त्यसका विभिन्न विधागत सङ्कलनहरू प्रकाशित गर्नुपर्ने,

(१०) अनेसासबाट सञ्चालित पुरस्कारहरूको निर्णय एवं वितरण प्रक्रियालाई अझ पारदर्शी र विवादरहित तुल्याउनुपर्ने,

(११) अनेसासबाट वितरण गरिने विभिन्न व्यक्तिका नामसँग जोडेर स्थापित पुरस्कारलाई स्थायित्व र निरन्तरता दिने तथा अन्य दातालाई पनि पुरस्कार स्थापनाका निम्ति प्रोत्साहित गर्नुपर्ने,

(१२) व्यक्तिविशेषका नामबाट स्थापित सारै साना पुरस्कारलाई बढाउन सम्बद्ध व्यक्तिसँग आवश्यक समन्वय गर्नुपर्ने (कतिपय बढाइसकेको),

(१३) विभिन्न छापा एवं विद्युतीय प्रकाशनमार्फत संस्थाका गतिविधिलाई सर्वसुलभ तुल्याउने र आफ्ना प्रकाशनलाई नियमितता प्रदान गर्नुपर्ने,

(१४) नेपाली भाषा, साहित्य, कला र संस्वृतिको संरक्षण, संवर्धन एवं विकासका लागि स्पष्ट नीतिका साथ क्रियाशील रहने,

(१५) एनआरएनलगायतका विभिन्न साहित्यिक एवं गैरसाहित्यिक सङ्घसंस्थासँग भाइचाराको सम्बन्ध कायम गरी तिनीहरूसँग मिलेर संयुक्त रूपमा नेपाली भाषा साहित्यको उन्नयनतर्फ अग्रसर हुनुपर्ने,

(१६) बेलाबखत नेतृत्वमा रहेकै केही व्यक्तिले अनेसासलाई वैयक्तिक स्वार्थपूर्तिको साधन बनाएर संस्थाको दुरूपयोग गरेको देखिएकाले सबै मिलेर त्यस्ता दुष्कार्यको अन्त्य गरिनुपर्ने,

(१७) अनेसासलाई कसैको भातृसंस्थाका रूपमा परिणत नगरी साँच्चिकै व्यक्ति र राजनीतिनिरपेक्ष साहित्यिक संस्थाका रूपमा अघि बढाई सकेसम्म सबैलाई समेटेर आप्रवासी नेपाली साहित्यको छाता सङ्गठनका रूपमा विकास गर्नेतर्फ क्रियाशील रहनुपर्ने आदि ।

(५) तपाई‌का जीवनसम्बन्धी दृष्टिकोण के हो ?

म जीवनलाई सङ्घर्षशील यात्राका रूपमा लिन्छु । कुनै पनि क्षण उम्केपछि फेरि फर्केर नआउने हुनाले जुनसुकै काम गर्दा सकेसम्म आज र अहिल्यै गर्नुपर्छ भन्ने मान्यता हो । जुनसुकै कामलाई निर्धारित समयमा सक्नुपर्छ, भोलिका लागि साँच्न हुँदैन । आर्थिकभन्दा प्राज्ञिक उन्नयनमा जोड दिनुपर्छ । जीवनप्रति सदैव सकारात्मक दृष्टिकोण राख्नुपर्छ । be positive, see positive and do positive भन्ने मेरो मान्यता हो । जीवनमा आत्तिनु, पात्तिनु, मात्तिनु र तात्तिनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अनावश्यक फुर्क्याएर मान्छे बिगार्ने काम गर्नुहुन्न । दिनानुदिन मानवता ह्रास हुँदै गएकोमा म चिन्तित छु र त्यसको जगेर्ना गर्नुपर्ने देख्छु । म मानवतावादी दृष्टिकोणका पक्षपाती हुँ । समानता र स्वतन्त्रताको पक्षमा रहे पनि आफ्नो स्वतन्त्रताको उपयोग गर्दा अर्काको स्वतन्त्रतालाई पनि ध्यान दिनुपर्छ ।

कतिपय कुरामा तत्काल प्रतिक्रिया व्यक्त गर्नाले मैले केही नोक्सानी बेहोर्नु परेको भए पनि त्यसमा म कत्ति पनि पश्चात्ताप गर्दिनँ । म कसैलाई सुधार्नु उपयुक्त ठाने तत्काल प्रतिक्रिया व्यक्त गर्ने गर्छु भने उसलाई ठेगान लगाउनु आवश्यक ठाने कुनै प्रतिक्रिया व्यक्त नगरी त्यसका लागि थप योजना निर्माण गर्छु । म हरेक कार्यको निर्णय आफैँ गर्छु र त्यसबाट आउने परिणामप्रति कहिल्यै पश्चात्ताप गर्दिनँ । कुनै गम्भीर विषयमा भने नजिकका साथीभाइ, इष्टमित्रसँग सल्लाह लिन्छु तर अन्तिम निर्णय भने आफैँ गर्छु र त्यसबाट जस्तो परिणाम आए पनि पटक्कै चिन्तित हुन्न ।

हरेक व्यक्तिसँगको सम्बन्ध इस्यु बेस्ड हुनुपर्छ, कुनै एउटा इस्युमा कसैसँग नराम्रो भयो भन्दैमा उसका अन्य सबै गतिविधिमा ऊसँग सधैँ नराम्रो नै हुनुपर्छ भन्ने छैन, सकारात्मक कार्यमा राम्रो सम्बन्ध पनि हुनसक्छ । गुणदोषका आधारमा सबैसँग समान व्यवहार गर्नुपर्छ । राम्रो सम्बन्ध भएका बेलाको गोपनीयता सम्बन्धमा सामान्य कटुता आउनेबित्तिकै पहिलेका गोपनीयता सबै भङ्ग गर्नु राम्रो होइन । म गोपनीयता भङ्ग गर्ने र विश्वासघात गर्ने व्यक्तिलाई पटक्कै मन पराउँदिनँ । पहिले धेरै विश्वास गर्दा धोका पाएकाले यतिखेर ज्यादै कमलाई मात्र विश्वास गर्छु । म ब्याक बाइटिङ पटक्कै मन नपराउने हुनाले जसलाई जे भन्नु छ त्यो अगाडि नै भनिदियो रिसाउने, खुसाउने, सुध्रिने, नसुध्रिने सब उसको कुरा हो भन्ठान्छु । कमजोर व्यक्तिसँग लडेर जित्नुभन्दा बलवान्सँग लडेर हार्नु वा बराबरी हुनु उत्तम ठान्ने म हैसियत नभएका व्यक्तिसँग वादविवाद गरेर समय खेर फाल्नु निरर्थक ठान्छु । मेरो दृष्टिकोणमा अतीतलाई हेरेर चिन्ता लिने हैन त्यसबाट शिक्षा लिएर भविष्यतर्फ अग्रसर हुनु उत्तम हो । आफ्नो कामप्रति पूर्ण निष्ठावान् हुनुपर्छ ।

विद्यार्थी जीवनदेखि अहिलेसम्म आफ्नो कोही प्रतिस्पर्धी भेटेको छैन । मेरो प्रतिस्पर्धी म आफैँ हुँ । कुनै पनि विद्यार्थीलाई राजनैतिक आस्थाका आधारमा भेदभाव गर्ने प्रचलनको तीव्र विरोधी हुँ । म सबै विद्यार्थीसँग समान व्यवहार गर्छु । म विद्यार्थीलाई आफ्नो सम्पत्ति ठान्छु र तिनको प्रगतिमा सारै प्रसन्न हुन्छु ।

विद्यार्थी, शोधार्थी र अन्य कतिपय साथीभाइलाई पहिले आफूसँग भएका पुस्तक, पत्रपत्रिका, शोधपत्र आदि दिएर सहयोग गर्ने गर्थेँ तर कतिपयले लिएका आफ्ना सामग्री फिर्ता नगर्ने वा अङ्गभङ्ग पारेर फिर्ता गर्ने गरेकाले त्यसबाट चिन्तित भई कसैलाई सामग्री दिएर सधैँका लागि सम्बन्ध बिगार्नुभन्दा सामग्री नदिएर नै सम्बन्ध यथावत् राख्नु कल्याणकारी ठानी यतिखेर कसैलाई भने कसैलाई सामग्री दिन्न ।

नेपाली जाति र भाषा अब नेपालमा मात्र सीमित नरही संसारभर फैलिसकेकाले अब महाजाति र महाभाषा भइसकेको हुँदा यसैअनुरूप भाषासाहित्यको उत्थान गर्नुपर्छ । विदेशमा बस्ने नेपालीहरू धर्म र जातका आधारमा नभई सब नेपाली जाति भएर बस्नुपर्छ, सकेसम्म सबै मिलेर बस्ने नसके झगडाचाहिँ गनुहुन्न । सबै भाषा र जातिको साहित्य एवं सस्कृतिलाई सम्मान गर्नुपर्छ र ती सबै मिलेर राष्ट्रिय संस्कृति बन्छ ।

(७) हजुरलाई भन्न मन लागेका र भन्न बाँकी कुराहरू छन् कि ?

भन्न मन लागेका र भन्न बाँकी कुरा त कति छन् कति । अहिलेलाई चाहिँ यति मात्र भन्छु— आप्रवासका विभिन्न मुलुकमा बसोबास गर्ने नेपाली आपसमा चुक्र्याइँ नगरी सकेसम्म मिलेर बस्नुहोस्, मिल्न सक्नुहुन्न भने झगडाचाहिँ नगर्नुहोस् ।

नेपाली साहित्य र भाषाका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यहाँको विजयोत्सवमा खुसी र गर्व पनि गर्दछ । आगामी दिनमा अनेसासमा आवद्ध रहेर नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउने हाम्रो अभियानमा यहाँको साथ, सहयोग र प्रत्यक्ष सहभागिताको आशा राख्दै सफलताको कामना र बधाई ज्ञापन गर्दछु ।

प्रतिकृया दिनुहोस्