महेश्वर पन्त
नेताकी आमा
 
पिँढीको बलोमा अडेस् लागेर
बलेसीले थोप्लो पारेको आँगनमा
कुर्कुच्चो घुमाएर ठूलो डोब पार्छिन् र,
त्यही डोबलाई हेरेर भावुक हुँदै भन्छिन् आमा-
‘यत्रै भयो होला है मेरो देश नेपाल !’
चारैतिर तीतेपाती र बोकेझारले
धावा बोलिसकेको उन्को बूढो घरलाई
धेरै सन्तानले पछाडि छोडिसके
आफूजस्तै जीर्ण घर त्यो
घुँडामा हातको टेको लगाएर थिरिएको छ
दुई-चार दिनको पाहुनाजस्तै ।
चपेरा उप्किएको टाटे
कमेरे भित्तोमा कोरिएका
धर्साहरूले भित्तो भरिएपछि
उन्लाई थाहा छ, उन्को छोरोको
जन्मदिन आउने गर्छ
आज ठ्याक्कै त्यो दिन आएको छ ।
उन्का दुवै आँखाका डिलहरूमा
ममताका दुई थोप्ला देखा पर्छन्
तलाउमा डुब्न लागेका धमिला आँखाले
पर क्षितिजसम्म हेर्ने प्रयास गर्छन्
आमाका कट्कटिएका ओठहरूमा हल्का
कम्पन देखिन्छ र झिनो आवाज सुनिन्छ-
‘जन्दिनको धेरै शुभकामना है छोरा !
मेरो बचेको आयु पनि तिमीलाई लागोस् ।’
आजैको दिन हो
तिमी मेरो
शरीरको सबैभन्दा पृय टुक्रा
मेरो शरीरबाट छुटेर धर्तीमा
पाइला टेकेका थियौ
छैठीमा तिम्रो बाले आशीर्वाद दिएका थिए
‘नेपालआमाको रक्षा गरेस्, विश्वविजेता भएस्’
सम्झन्छौ ?
मैले सम्झिरहेकी छु
लाग्छ, तिमी अझै मेरो शरीरमा छौ
नसा-नसामा खेलिरहेका छौ
धड्कनमा चलिरहेका छौ
मेरो रगतमा उम्लिरहेका छौ
मैले कसरी बिर्सन सक्छु र ?
भन्छन्,
तिमीले देश जित्यौ रे
देशको बागडोर तिम्रो हातमा छ रे
तिमी ठूलो मान्छे भयौ भन्छन्
खै, थाहा छैन कति ठूलो मान्छे भयौ
तर,
सुन्छु नेपालआमा दु:खी छिन रे
छिमेकिहरूले तिम्री आमाको छातीमा
बुट बजारिरहेछन् रे
तिम्रो आँखाअगाडि कसरी आमा लुटिॅदै छिन्
आमाको रक्षा गर्न नसक्ने छोरा
विश्वविजेता हुन सक्दैन मेरो छोरा !
तिमी देशका लागि लड्दा
शहीद हुन सक्छौ, मलाई स्वीकार छ
तिमीजस्ता धेरै छोराहरू शहीद हुन सक्लान्
मलाई स्वीकार छ
तिमी लाचार कायर भएर बाँचेको
मलाई स्वीकार छैन छोरा !
छोरा म नारी हैन र ?
म आमा,म दिदीबहिनी र
म श्रीमती हैन र ?
सबै नारी रूपको रक्षा गर्नु
तिम्रो धर्म हैन ?
आज नारीअस्मिताहरू लुटिएको सुन्छु
बेचिएको सुन्छु
आफैँ लुटिएजस्तो लाग्छ
म रुन्छु छोरा !
के रुनुमात्र समाधान हो ?
के जनताले तिमीलाई त्यहाँ पुर्याएको
मैले यस्तै दिन देख्नलाई हो ?
अस्तिजस्तो लाग्छ
तिम्रो बाले किनिदिएको पायल चप्पल र ठुटे जाँगे लगाएर
तिमी शहर पसेको
मैले निधारमा साइतका
राता अक्षता लगाएको
आज ठूलो महलमा बस्छौ रे तिमी
थाहा छैन कति ठूलो छ तिम्रो महल
तर हाम्रो झुपडी उस्तै छ छोरा !
तिमी मार्सी चामलको भात खाएर
लाखौंको खाटमा विस्तारा लगाएर आराम गर्छौ रे
तर हाम्रो आँटो ढिॅडो र गुन्द्रुक अनि परालको गुन्द्री
झ्याम्टिएका पेटहरू उस्तै छन् छोरा !
यी हातका सिरानीहरू उस्तै छैन ।
आज नेपालआमा नाङ्लामा छिन् अरे
विक्री हुँदै
कठै ! यही दिन देख्न जनताले शक्ति
दिए होलान् तिमीलाई !
विश्वास् गरे होलान् तिमीलाई !
करोडौं अरबौंको बाँडफाँड छ रे बाबु !
तर तिम्रो भागमा कति पर्छ
मलाई के थाहा ?
सत्तरी करोड भनेको कति हो छोरा ?
मेरो तल औषधी पसलमा दुई सौ तिर्नु छ
तिमीले चिन्ता नगरे म निबेक गरेर तिर्ने छु ।
यता हल्ला चलाउँछन्
आश्वासनका पोकाहरू र
योजनाका ठेलीहरूले
जनता थिचिएका छन् रे
यिनलाई यो पहिरोबाट झिक्ने कस्ले ?
नेपालआमा र यिनका सन्तान मर्दैछन् छोरा ।
म त यस्ता कुरा गरिरहेछु
तर,
आज तिम्रो जन्मदिन
तिमीलाई धेरै शुभकामना छ
मेरो पनि उमेर तिमीलाई लागोस्
छोरा, यही नै मेरो शुभकामना छ
उही तिम्री लाटी खोप्री आमा नेपाल !
 
(फलेवास, पर्वत, नेपाल स्थायी बसोबास भएका कवि महेश्वर पन्त हाल बस्टन, अमेरिका बस्नुहुन्छ । उहाँका ओझेल परेको जून (गीतसङ्ग्रह) मुन्द्री (कथासङ्ग्रह), नबोल्नेहरू (कथासङ्ग्रह), फुर्लुङ (उपन्यास), बाैलाको डायरी (उपन्यास) आदि कृतिहरू प्रकाशित छन्)
प्रतिकृया दिनुहोस्