मोहन सिटौला

अनेसासका पूर्व अध्यक्ष  प्रा. मोहन सिटाैलासँग अनेसास दर्पणका निवर्तमान प्रधान सम्पादक  लालगोपाल सुवेदीले लिनुभएको अन्तर्वार्ता-

यहाँको आफ्नो साहित्य यात्राबारे हामीलाई जानकारी गराइ दिनु हुन्छ कि !

लाल गोपाल जी , यो दर्पणमार्फत म सम्पूर्ण अनेसास परिवार, नेपाली दाज्यूभाई दिदी बहिनीहरूमा ससम्मान अभिवादन र सु प्रिय आत्मीयता व्यक्त गर्न चाहन्छु ।

सर्वप्रथम यो महत्त्वपूर्ण र आधारभूत प्रश्नले लामै उत्तरको अपेक्षा गरेको अनुभव हुन्छ ।

शिशु र बाल्यावस्थामा नै पितामाताहरू र हजुरबासित सँगै सुत्दा र हिंड्दा वहाँहरूबाट सुनेका हाम्रा पुराना काव्य, स्तुति पद्य र ज्ञानगरिमाका विविध श्लोकहरू अति मनोहारी भएको अझै पनि सम्झना हुन्छ । हजुरबाले मातापिताको सहयोगमा मलाई चाहिं शिशु अवस्थादेखिनै आफैसित सुत्न प्रोत्साहन गरेर कखरा, अङ्क, गुना आदि र ठूलो वर्णमाला, गुणरत्नमाला र अन्य पुराना नेपाली श्लोकहरू दोहोर्याई दोहोर्याई घोकाउनुहुन्थ्यो ।

अहिले पनि १०३ वर्षमा लेखिरहन सक्ने बालकक्षादेखि पछिनैसम्मका हाम्रा पारिवरिक र मेरा परम् गुरु श्री धरणीधर न्यौपाने र घरमा नै माया र पठनपाठनको अनुशासनमा राख्ने पिताजीको अनवरत भूमिका रहेको छ । वहाँ आफूले स्थापना गरेको स्कुलकालागि शिक्षक खोज्न र यसै डुलफिर र ज्ञानार्जन अनि आफन्त लगायत समाजका र राजनीतिका ठुलाबडासित भेटघाट गर्न काठमाडौं, दार्जिलिङ्ग, कलकत्ता, देहरादुन आदि ठाउँमा गएर आउँदा एक दुई ढाकर चाहिं किताव र अन्य शैक्षिक सामाग्री लिएर आउनु हुन्थ्यो । म ४/५ कक्षातिर हुँदा ती ठाउँहरूमा तत्तत् समयमा छापिएका नेपाली र विश्वज्ञानका धेरै पुस्तक र पत्रपत्रिकाहरू ल्याएर घरमा पढाउनु हुन्थ्यो र केहीचाहिं मलाई पढ्न पनि लाउनुहुन्थ्यो र सुन्नुहुन्थ्यो ।

पाँच कक्षादेखि हामीलाई दार्जिलिङ्गका कुलप्रसाद राई भन्ने शिक्षक नयाँ प्रअको रूपमा प्राप्त भए पछि वहाँको विशेष चाखमा ६ कक्षाबाट हामीले दार्जिलिङ्गका नेपाली पाठ्यपुस्तकहरू र भारती, शारदा आदि पत्रपत्रिका पनि अतिरिक्त पाठकारूपमा स्कुलमा सुनेर केही भन्नुपर्थ्यो । पछि पछिचाहिं केहीकेही पढ्नुपर्थ्यो र दिइएका पाठहरूको साधारण गृहकार्य पनि गर्नुपर्थ्यो । औपचारिक पाठ्यपुस्तकको गहन अध्ययन र कडा गृहकार्य चाहिं त बेग्लै हुने र्नै गर्थ्यो । निबन्ध लेख्न , साहित्यिक टिप्पणी गर्न लगाइन्थ्यो । त्यसैबेलादेखि नै हामीले छन्द सिक्न र अभ्यास गर्न थालेका थियौं जुन अभ्यास अद्यापि जारी छ । तर हामीले तिनै शास्त्रीय छन्दका गणका सूत्रहरू केही अर्कै किसिमले अथवा दार्जिलिङ्गका सुधपाका पाठ्यक्रममा भएअनुसार पढेका थियौं । ती यस्ता थिएः

     आदि मध्यान्तमा जान्नु गुरु हुन्छ है

     लघु नै जान्नु हुन् ह्रश्व दीर्घ नै

त्यसरी छ कक्षामा सिकेर गृहकार्यको रूपमा लेखिएको विद्युन्माला छन्दको मैले सम्झेसम्मको एक श्लोके पहिलो कविता यस्तो थियो ।

    यी बाबा, यी माता, दाइ  

   मायाँ गर्छन् हामीलाई

   सारा छन् ज्ञानी उज्याला

   राम्रो अर्ती राम्रो पारा ।

यो कविता सुनाएपछि कक्षामा मैले पनि प्रोत्साहन पाएको थिएँ । यो क्रम बढेर गयो र बिस्तारै अरू छन्दमा पनि कविताहरू लेखिन्थे र स्कुलका शुक्रबारे पूर्ण भेलाहरूमा पाठ गरिन्थे ।  मलाईचाहिं संस्कृत पढ्न र छन्दमा पनि निकै रस बस्दै गएको थियो ।

यसका सँगसँगै पिताजीको प्रयाशमा धरणीधर गुरुले यमाताराजभानसलगम् भन्ने सूत्र लगायत संस्कृत व्याकरण, अमरकोश र साहित्य पनि निकै पछिसम्म नै  सिकाउनु भयो ।

विद्वान्, विज्ञ र सहृदयी पाठकहरूका समक्ष माथि भनिएको छन्दको सूत्र र यो  सूत्रका बारेमा व्याख्या र तुलना गरिरहनु पर्दैन नै । छन्दका गणलाई चिन्ने सबालमा चाहिं छोटकरिमा यी दुवै सूत्रका उद्येश्य परिणाममा उही रहेछन् भन्ने लाग्छ ।

त्यसै समयमा स्कुलमा छुट्टै निकै राम्रो पुस्तकालयको व्यवस्था भयो । प्रशस्त भारतीय र नेपाली साहित्य पढ्न पाइयो । केही वर्षपछि स्कुलमा सिएम् कन्दङवा सरले ‘प्रयाश’ भन्ने हाते पत्रिका छाप्ने अभियानका सिलसिलामा मेरो पनि अर्कै एक श्लोक कविता छापिएको थियो । त्यसको उल्लेख मैले अन्यत्रै गरिसकेको छु ।

 त्यस पछि केही गद्यकविता पनि लेखिए ,तर परिमार्जित र सुरक्षित हुन सकेनछन् कि क्यार अहिले कतै रहेका होलान् कि ! कलेज पढ्र्दा अंग्रेजी र नेपाली साहित्य पढ्न थालियो । कलकत्तामा विभिन्न विषयमा डिग्री लिएर अत्युच्च र व्यापक अध्ययन गरिसक्नु भएका प्रिन्सिपल राजनारायण प्रधान वहुआयामिक विद्वान् र आफै पनि वरिष्ठ साहित्यकार र पाठ्यपुस्तक लेखक पनि हुनाले हामीलाई अंग्रेजी, नेपााली साहित्य, इतिहास पठनपाठन र समालोचना अनि निबन्ध लेखनमा ठूलो प्रगति गराएको कुरा एक उल्लेखनीय विषय भएको छ । वहाँ नै बारम्बार हाम्रो मूल्याङ्कन गरेर निकै प्रोत्साहनकासाथ भन्नु  हुन्थ्यो ।

त्यसपछि काठमाडौंमा विए र एम् ए का लामा समयमा क्रमशः त्रिचन्द्र कलेज र त्रिविमा अध्यययनक्रममा विद्वान् प्राध्यापक गुरुहरू जो सुविख्यात लेखक पनि थिए, वहाँहरू लगायत विशिष्ष्ट उत्साहित, अध्ययनशील र प्रतिभाशाली साथीसमूहका योगमा अनि सरस्वती सदनको त्रिचन्द पुस्तकालय, वीर पुस्तकालय, भारतीय सांस्कृतिक केन्द्र, बृटिस काउन्सिल पुस्तकालय, अमेरिकी पुस्तकालय, त्रिवि पुस्तकालय, रेग्मी पुस्तकालय र रत्न पुस्तक भण्डारबाट निकै धेरै धेरै नै पश्चिमी, रुसी, अफ्रिकी, ल्याटिन अमेरिकी पुस्तकहरू पढ्ने वातावरण भयो । पढियो र तुलनात्मक साहित्यसम्बन्धी नेपाली , अंग्रेजीमा निकै लेखियो र प्रकाशित पनि भए ।

त्यसैबेला कविशिरोमणि लेखनाथ, महान् नाटककार सम, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधव घिमिरे, धर्मराज थापा, विशिष्ट कलाकार साहित्यकार लैनसिं वाङ्देल, भाषाविद् गोपाल पाँडे असीम, कृष्ण प्रसाद पराजुली, भरतराज पन्त, भैरव अर्याल, रमेश विकल, जनक हुमागाईं लगायत धेरै धेर विद्वान् र प्रतिष्ठित स्रष्टा, द्रष्टा अनि प्राध्यापक तथा मित्रहरूसित बारम्बारको भेटघाट एवम् सत्सङ्गमा छलफल, शिक्षण र प्रशिक्षण भइरह्यो ।

यसका साथै योगी नरहरिनाथ, केही पछि डा. प्रपन्नाचार्यसित मृगस्थलीमा र धेरैपछि रामानन्द गिरीसित देवघाट र अमेरिकामा बाक्लै सत्सङ्गत गर्न पाएको छु । यीबाहेक रुपरेखा, भानु , अभिव्यक्ति, रचना, मधुपर्क, गरिमालगायत धेरै नेपाली मासिक र गोप, कान्तिपुर, हिमालयन टायम्स्, राइजिङ नेपाल आदि नेपाली अंग्रेजी दैनिक र साप्ताहिक पत्रपत्रिकाहरूको न्यानो र प्रभावकारी साथ सहयोग पाएको छु । यस क्रममा नेपाली र अंग्रेजीमा समालोचना, गद्य, पद्य संग्रह, निबन्ध र नियात्राहरू निकै प्रकाशित भए र केही चाहिं पुरष्कृत पनि भएका छन्  ।

मेरै आफ्नै सम्पादन र प्रकाशनमा भारद्वाज नेपाली/अंग्रेजी द्वैमासिक जर्नल पनि दशौं वर्ष नेपालमा चलाएर हाल स्थगित हुन पुगेको छ ।  

यिनै क्रममा धेरै साहित्यिक संघसंस्थाहरूले आयोजना गरेका स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका गोष्ठी, सभा सम्मेलनहरूमा पहिले पहिले सहभागी बन्ने र पछिपछि सिद्धिचरण प्रतिष्ठान, अनेसास, एनआरएन जस्ता विभिन्न संघसंस्थाका माध्यम र साथसहयोगबाट आफैं पनि आयोजना गर्ने काम गरिएको हो । हालमा स्रष्टा साँझ  भन्ने संस्था पनि  धेरै सक्रिय भएको छ । यस्ता कामले नेपालीको पहिचान र नेपाली भाषा साहित्यको परिचय विश्वमा फैलियो र फैलिरहने पनि छ ।

यसका साथै शिशु अवस्थामा नै अमेरिका वा नेपाली विश्व डायस्पोराका विभिन्न देशमा आएका वा त्यहीं जन्मिएका बालबालिकालाई नेपाली साक्षरता अभियान, केही ठुलालाई नेपाली संस्कृति, नाचगान, भूगोल , केही इतिहास र साहित्य लेखनका लागि पनि स्कुल सञ्चालन गर्ने गराउने काम गरिएको हो । 

यहाँको विचारमा साहित्य के हो र यहाँले कलम चलाउनुभएका साहित्यका विधाहरूलाई कसरी परिभाषा गर्न मन पराउनुहुन्छ ?

यस सबालमा पनि लामै सन्दर्भ जोडिन आउँछ । तर म केही छोटकरिमा मात्र भन्ने अनुमति पाठकहरूसित लिन चाहन्छु । पूर्व पश्चिमका अतीतदेखि अहिलेसम्मका विद्वान्हरूले आआफ्ना किसिमले साहित्यको परिभाषा गरेका छन् । ती सबै उत्तम छन् । तथापि यहाँ भन्नु पर्दा साहित्यका तत्वहरू भनेको जीवनका प्रतिबिम्ब, उद्घाटन, आबिष्कार, नवनवबोध ,जीवनलाई कला र सङ्गीतले भरी मिठास प्रदान गर्ने, सम्वेदना र कल्याणोन्मुख सन्देशका नवोन्मेषहरू हुन्  ।

मैले गद्यकविता, पद्य कविता, निबन्ध , नियात्रा, समालोचना र गीतहरू लेखें । केही कथा , केही अनुवाद , केही नाट्य लेखन र निर्देशन पनि गरें । ती सबैमा म प्रवाहित भएको छु , डुबेको र उडेको छु , सफल भएको छु ।  यो बाहेक अरू विधाको पनि म सम्मान र प्रशंसा गर्छु ।

यी सबै विधा आआफैंमा उत्कृष्ट छन् । सम्बन्धित साधक र सर्जकका मेधा र प्रतिभाको क्षमता अनुसार ती विधाहरूले तत्तत् किसिमको उचाइ, गहिराई र व्यापकता अनि सोही स्तरको सौन्दर्य र त्यसको सन्देशको महिमा प्राप्त गर्छन् ।

यो विशाल सृष्टिमा नित उन्मेषित, पुनपुन जागृत मानव चेतनाको यात्रा अनवरत यसरी नै चलिरहन्छ । मानवी चेत सदा पुनर्जागरणमय (renaissance) ले भरिपूर्ण अथवा रेनेस्सा मय छ । त्यस क्रममा नयाँ समय, नयाँ परिवेस वा नवोदित देश, काल, परिस्थितिका सम्मुख परेको त्यो नयाँ चेतनालाई पुरापुरी अभिव्यक्ति दिन पूर्ण सम्भव नहुँदा नूतन बिम्ब र विधाको उत्पत्ति हुन्छ ।  होस् त ! त्यसअनुसार त्यस्लाई सम्बोधन गर्न पुलकित र विस्मित मानव चेतनाले नवनव बिम्ब र शैलीको प्रयोग गर्न पुग्छ । पुगोस् ! असीमित समयचक्र सँगसँगै यी कुनै पनि प्रयोगहरूको प्रकार र प्रभावमा सीमा पनि हुन्न , किनभने नवागत समय र परिस्थितिमा नयाँ मुना र नमुनाहरू पल्लवित र प्रकाशित अनि प्रभावित भइरहेका हुन्छन् । यावत् व्यापकतामा ती कुराहरू र समयलाई अपनाउनेहरूबाट अलग्ग ‘या निसा…’ का चिरन्मयी चेतनाहरूबाट सोची विचारी ‘क्षणेक्षणे यन्नवता मुपैति … ’ पनि भनिएको छँदैछ । विधाविधाका अन्तर, उपान्तर अनि समय र स्थानान्तरका विषयमा साङ्केतिक किसिमले माथि केही भनियो । व्याख्या र व्याख्यान लामालामा हुनसक्छन् । अहिले चाहिं यतिमै म आफूलाई रोक्न चाहन्छु ।

सिर्जनशील अनुवादका सबालमा चाहिं हामी नेपाली लेखक, चिन्तक, प्रकाशकहरूले कार्यगत रूपमा गम्भीर हुनु पनि परेको छ ।

हिजो र आजको सिंगो नेपाली साहित्यलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

यो प्रश्नले नेपाली भाषा साहित्यको अतीत र हालको विश्व व्यापकतालाई समेट्न खोजेको सङ्केत मिल्दछ ।

अत्यन्त सूक्ष्म, विशाल, सम्मानित, सशक्त र महिमामय संस्कृत भाषाबाट स्थानान्तर र कालान्तरमा प्रादेशिक किसिमले प्रत्युत्पन्न हुँदै विकसित भएको नेपाली भाषा स्वयंमा मीठो छ, सशक्त छ । जनजीब्रोबाट अभिव्यक्त हुने सबाल र वाह्य सन्दर्भलाई पनि पाचन गर्न सक्ने क्षमता लगायत सिर्जनशील पहलुहरूमा यो ज्यादै शक्तिशाली हुँदै आएको छ । यस भाषाबाट निस्रित विविध सिर्जनाहरू प्रकृति र मौलिक एवम् संलग्न वाह्य संस्कृतिसित पनि मिलित र घुलित हुँदै त्यसरी नै सशक्त, सुन्दर र सम्पन्न हुँदै आएका छन् । सारा नेपाली भाषी र सर्जकहरूले खुशी लाग्ने ठाउँ कहाँ छ भने यो भाषाको सिर्जनशील शक्ति अब विश्वका अरूभाषाभाषिका समक्षमा पनि पुगिसकेको तथ्य प्रष्ट भएको छ ।

नेपालमा नेपाली भाषाका सारै प्रशंसनीय सिर्जिनशील प्रतिभाहरू उदाएका रहेछन् र उदाइरहेछन् भन्ने कुरा यसरी अब स्पष्ट भएको छ । अर्को शब्दमा नेपाली भाषा बोल्नेहरूको जनसंख्या कमै भए पनि यस भाषामा प्रस्तुत भैसकेका सिर्जनशील धेरै कृतिहरूले के स्पष्ट पारेका छन् भने नेपालीहरूको काव्य किम्वा साहित्यिक चेत यो विश्व बिम्बमा अरू विकसित भनिएका साहित्यहरूको उच्चाइको समकक्षमा पुगेका छन् । नेपाली भाषा साहित्यमा पोख्त धेरै विदेशी वा अनेपाली सम्मानित विद्वान्हरूको राय यस सबालमा नयी संस्थामार्फत प्रस्तुत अभिव्यक्तिहरूले पनि प्रष्ट भएको कुरा यहाँ आकर्षित हुन्छ ।

नेपाली भाषामा छान्दसिक कविताको बढ्दो लहर पनि आजको नेपाली काव्य परिवेसको एक नयाँ युगबोधको सौन्दर्य, सन्देश र योगदान हो । छन्द जान्दिन भन्दैमा छन्दका प्रतिभाहरूलाई मैले ‘ती को हुन् म र मेरा गद्य कविताका सामुन्ने’ भन्नु मेरो मूढाग्रता लगायत बढ्दो छन्दचेतनाका व्यापक प्रवाहका पींढिका सामुन्ने अतिरञ्जना हुनेछ । यो एउटा विषय हुनेछ प्रहसनको । संस्कृत माताबाट प्राप्त यो सुन्दर अनुपम नासो यस विशाल भेगका पन्ध्र, सोह्र भाषामा लोप हुन लागेको बेलामा नेपालीले एक होनहार रूपबाट यस्को जगेर्ना मात्र होइन परम् पावन र प्रभावकारी उत्तराधिकारीका रूपमा यसलाई अत्यन्त उच्चाइ र व्यापकतामा पु र्याएको तथ्य आफैंमा र विश्व भरि नै महिमामय छ । ता कि विश्वमा नेपाली छन्दमय कविता आफैंमा एक नेपाली साहित्यिक विशिष्ट पहिचान हुन पुगेको कुरा सबैमा बोध होस् । 

नेपाली सिर्जनामा बिम्ब विधान, समाज सचेतता, सिर्जनशील कलात्मकता , कल्पना र यथार्थ, नवीन प्रयोगधर्मीता जस्ता वहुविध तत्वहरूको प्रचुरता पाइन्छ ।

यस बाहेक तुलनात्मक समालोचना, निबन्ध, नियात्रा, हाइकु, ताङ्का ,गीत, गजल, कथा, लघुकथा, मुक्तक, एक सासे काव्याभिव्यक्ति, नाटक, नाटिका, अभिनय, गायन, वाचनका नवनव कलाकारिता अनि सांङ्गठनिक क्षमताहरू आइरहेका छन् र नयाँ पुस्तामा पनि अनेसास, एनआरएन स्रष्टा साँझ, सागर, दर्पण, अन्तर्दृष्टि लगायत धेरै संघ संस्था र पत्र पत्रिका, ब्लग,  कार्यक्रम मेला , भेला आदिका माध्यमबाट नेपालीहरूमा भएको सिर्जनशीलता, कलात्मकता, प्रतिभा र तिनको प्रस्तुतिको महिमा विश्वमा फैलिइरहेको छ ।

महाकाव्यहरूको सबालमा लगभग तीनसय महाकाव्यहरू यिन दिनसम्ममा नेपाली भाषाले मात्र उत्पादन गरिकेको छ । यो चानचुने कुरा हो ?

नेपालमा साँस्कृतिक साँझ, गीत, दोहोरी, भेला मेला अनि सांगीतिक—सास्कृतिक टोलीटोलीहरूको कार्यक्रमागत देश भ्रमणले पनि ठुलो अभियान , जाँगर र त्यस क्षेत्रमा भएका सुषुप्तिहरूलाई ब्यूँझाएको, हराउन लागेकाहरूलाईृ संरक्षण गरेको, उद्धार र अशक्तहरूलाई सहयोग गरेको इन्द्रेनी संस्था र अरूहरूका कुरा अत्यन्त प्रशंसनीय छन् । डायस्पोरा लगायत नेपाल भारत, बर्मा आदि ठाउँबाट पनि नवनव प्रकाशन, छान्दसिक रचना, पाठन , गायन, गीत ,कविता, लघुकथा आदिका गोष्ठी , प्रकाशन तथा अन्तर्कृया, अभिनय, सङ्गीत र प्रस्तुतिहरूले व्याप्त गरेका छन् । यी लगायत नेपाल र डायस्पोराका व्यापकतामा पनि पुरस्कार—संस्कृति बढेको हुनाले अहिलेको नयाँ सन्दर्भलाई विशिष्ट किसिमले प्रोत्साहनमूलक रूपमा कार्य भइरहेको छ भनी हेर्नु पनि त्यत्तिकै जरुरत भएको छ

यी सबै पुराना नयाँ लहरहरू स्वागतयोग्यका छन् । यस्ता पुरस्कारहरूमा पृष्ठभुमि र परिश्रम अनि प्रस्तुतिहरूलाई सम्वेदना र विवेकले निस्पक्ष अनि न्यायिक स्तरबाट निर्णय गरिनु पर्छ भन्ने व्यापक कुरामा मेरो पनि जोडदार सहमति छ । यसका अतिरिक्त तुलनात्मक समालोचना र अनुवादका क्षेत्रमा अझै पनि नेपाली साहित्यकारहरूले विशेष ध्यान र सक्रियता देखाउनु परेको छ ।  

घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ?

यस सबालमा माथि पनि केही सङ्केत गरिएको छ । नेपाल नेपालीहरूको पितृभूमि, मातृभूमि  हो । हाम्रा चिन्तन, सपना, जपना, कल्पना र सिर्जनाहरू त्यहींको ढुङ्गो माटो र हावापानीबाट निर्मित भएका छन् । हाम्रो चेतना र चिन्तन प्रकृयामा हाम्रो परम्परा र संस्कृतिको ठूलो भूमिका रहेको हुन्छ । यो सबै मानव जातिको सत्य हो । हाम्रो गौरव र महिमा पनि यसैको मलजल गर्नेमा नै रहन्छ । यो हाम्रो परम् कर्तव्य पनि हो ।

आधुनिक संसार विश्व यात्राको संसार हो । यो आवागमनले हाम्रो मन मस्तिष्कमा , बाहिरी विश्वको सन्सर्गले अनि वाह्य अध्ययनले हाम्रा धारणामा नयाँपन , फराकिलो पन पनि भित्य्राएको हुन्छ । यही आफ्नो मौलिकता र वाह्य प्रभावको सन्तुलनमा नै हाम्रो अस्तित्वको महत्व रहन्छ । निश्चय नै नेपाली साहित्यको स्तर नेपालमा धेरै उच्च र व्यापक छ । यो स्वभाविकै हो । तर अहिले अनेसास र अन्य संघसंस्थाहरूको व्यापक र लगनशील कृयाकलापले गर्दा विश्व नेपाली डायस्पोरामा छान्दसिक सिर्जना लगायत नेपाली साहित्यका सबै विधा र सांगठनिक क्षमताहरूको अभूतपूर्व विकाश भएको छ ।  अनुवादका क्षेत्रमा नेपाली साहित्य पछि परेको छ । यसमा पनि डायस्पोरामा केही न केही कार्य भएको त छ तर देश र पर्देश दुवै ठाउँमा यस कार्यमा बढोत्तरी ल्याउनुपर्छ र अनेसासलाई विश्व प्रज्ञाप्रतिष्ठानको हैशियतमा उठाउनुपर्छ ।

अबको अनेसास कस्तो होस् र यसले  कस्ता कस्ता काम गरोस् भन्ने चाहना राख्नुभएको छ ?

यसबारे माथि पनि प्रकारान्तरमा निकै अभिव्यक्तिहरू भैसकेका छन् । यो संस्थाले वहुतै राम्रो प्रगति गरेको छ।  नयाँ पिँढीले धेरै एकता र प्रवीणतामा राम्रो लक्षण देखाएरहेका छन् । यो अति नै हर्षको कुरा हो । विश्वमा भएका नेपालीका सम्बन्धित खालका र अरूहरू भाषभाषीका पनि विभिन्न संघसंस्थाहरूसित अझ घनिष्ठ र बारम्बारका सहकार्यहरू गर्दै अनेसासले ती उत्कृष्ट संघसंस्थाका स्तरमा आफूलाई हरेक किसिमले अझै उठाउनुपर्छ । हाम्रो आफ्नो सामुदायिक घर लिने भन्ने अभियान छिट्टै पुरा होस् भन्ने पनि म शुभकामना प्रकट गर्दछु ।  

-अनेसास ‘दर्पण’ पत्रिकाका बारेमा यहाँका सल्लाह र सुझाबहरु छन् कि ?

निजी वा संस्थागत कुनै पनि पत्रिका, पत्रकार र पत्रकारिता सारा समाजको सम्पत्ति त यसै हो । यसले आफ्नो चौथो राज्यको हैसियतको जिम्मेवारी पुरापुरी पुरा गर्नै पर्छ । समाजमा नवचेतना, चिन्तन, सूचना, सिर्जनशीलता र न्यायप्रदान गर्ने शक्तिशाली र सुप्रिय अङ्ग नै यही हो । साहित्यिक पत्रकारिताको भूमिका पनि आफ्नो क्षेत्र भित्र यही नै हो ।  

यसर्थ दर्पणको भूमिका कम्ती छैन, कम्ती हुनुहुँदैन । यसले छोटै समयमा राष्ट्रकवि विशेषाङ्क पनि प्रकाशित गरेर राम्रो योगदान पुर्याएको कुरा बिर्सिनुहुन्न र यसमा निरन्तरता दिनु पनि त्यत्तिकै आवश्यक छ । बहुमुखी साहित्यिक विधाहरू, सबै पिँढी, वर्ग, समुदाय, स्थान र समयलाई यथोचित किसिमले समायोजन गरी दर्पण सबैको सुप्रिय ऐना हुनेतिर उन्मुख छ । अझ परिस्कार ल्याएर यसलाई नेपाली व्यापक विश्व विम्बमा पुर्याउनु हामी सबैको दायित्व हो ।

यहाँलाई भन्न मन लागेका र भन्न बाँकी कुराहरू छन् कि ?

माथिका हरफहरूमा प्रशस्तै कुराहरू भैसकेका छन्  । तथापि हामी मानवले हाम्रा पूर्व—पश्चिमका प्राचीन मानव महिमाको मान राख्दै अनवरत यो सभ्यताको प्रकृयामा चिन्तनशील, सिर्जनशील, सन्देशमूलक तेल थपिरहनु पर्छ । मानवले मानमात्र होइन सम्पूर्ण चराचरको देखरेख गरेर एक आदर्श नयाँ साझा कल्याणकारी, शान्त र सुखी विश्वसमाजको निर्माण र पुनपुन निर्माणमा लागिरहनु पर्छ । हाम्रा महान् पुर्खाले दिएको नासोलाई क्षीण हुन नदिइकन अरू थप्ने कार्यमा लाग्नु पर्छ । 

म  को हुँ ? अनि मेरो आदर्श केहो ? नेपालीको महानता र दायित्व कहाँ छ ? विश्वमा मेरो र मेरो समुदायको अनि मेरो देशको दायित्व केहो ? म हुनुको सार्थकता केहो ?  यी  प्रश्नहरूको जवाफ कार्यक्रमागत रूपमा दिनलाई हामी सदा तयार हुनु पर्छ ।

यी सबै कुराहरू भन्ने अवसर दिनुभएकोमा दर्पणका विद्वान् चिन्तक, सर्जक  र साहित्यकार लालगोपाल सुवेदीजीलाई हार्दिक धन्यवाद र तपाईंको उत्तरोत्तर प्रगतिको पनि शुभकामना व्यक्त गर्दछु ।  धन्यवाद । अस्तु । 

हाल : अस्टिन, टेक्सास

प्रतिकृया दिनुहोस्