कथाकारको कथा

पूर्णिमाको जीवन पनि जीवन नै हो । नाम पनि पूर्णिमा अनि जीवनशैली पनि पूर्णिमाझैँ । पेसाले शिक्षिका थिइन् उनी तर साहित्यप्रतिको रूचि र लेखनको निरन्तरताको लागि जागिर त्यागिन् अनि लेखिरहिन् । आफ्नो वरिपरिका व्यक्तिहरूका व्यवहारहरू नियाल्नु अनि आफ्नो कथाहरूमा ती चरित्रका केही रङ र रूपलाई रूपान्तरित गर्दै बडो कलात्मक ढंगले ढालिहाल्नु नै उनको विशेषता थियो । उनको यही विशेषताभित्रका केही कथाहरूमा म आफूलाई पनि बेलाबेला पाउँथें तर पूर्णिमालाई भने कथाभित्र मात्र होइन, बाहिर पनि चिन्न अलि गाह्रै हुन्थ्यो मलाई । थाहा छैन मलाई।। लेख्ने मान्छेहरूले आफूलाई अनि आफ्नो व्यक्तित्वलाई सायद यस्तै रंगमा पेस गर्दा हुन् । म गलत पनि हुनसक्छु तर पूर्णिमाको संगतले भने मलाई यही सोच्न कर लगाउँथ्यो ।

हुनत म पूर्णिमाकी सबैभन्दा मिल्ने साथी । थुप्रै कथाहरू लेख्थिन् तर प्रकाशन नभई थन्किरहन्थे ती कथा । म चाहन्थें उनका कथा जीवन्त बनेर आऊन् अनि थुप्रै पाठकमाझ पुगून् । हुन पनि कथा राम्रो मात्र लेखेर पनि नहुने रहेछ । थुप्रै लेखकमाझ तँछाडमछाड गर्दै आफ्नो कथामा सम्पादकको आँखा पुर्‍याउनु अनि मन गाल्नु पनि चानचुने कुरो रहेनछ । सायद यही कारण थियो मलाई राम्रा लाग्ने उनका कथाहरू प्रकाशन गृहमा पुगे पनि छापेर आउँदैनथे । अरूका छापेका कथा पढ्दा कुनै कोणबाट पूर्णिमाले लेख्ने कथाहरू कम गुणस्तरका लाग्दैनथे । अचम्मको कुरा त कतिपय कथा हुनझैँ नलाग्ने कथाहरू कथाकारको नाममै पनि पत्रिकाहरूमा बिक्थे । तर किन उनका कथाहरू छापिन्नथे, यो प्रश्न चाहिँ ममा कौतुहलता नै बनेर रहिरह्यो । हुन पनि यो नाम भन्ने चिज पनि गजबकै रैछ । यस्तै गुमनाम कथाकार थिइन् पूर्णिमा अनि म उनको विशुद्ध प्रशंसक ।

सानोमा लक्ष्मण काकाको पत्रिका प्रकाशन गृहमा मैले नै त लिएर गएकी थिएँ उनलाई । पूर्णिमाका कापीका पानाहरूभित्र छटपटाएका कथाहरूको निकाश खोज्न म पनि उनीसँगै लागेकी थिएँ । अनि उनले लेखेका कथाहरूको सिंगै कापी बोकेर लक्ष्मण काकाकहाँ पुगेकी थिएँ । सायद काकाले साथ दिनुहोला भन्ने आशा थियो ममा तर त्यो पनि व्यर्थै भयो । लक्ष्मण काकाले सबै कथाहरू छोडेर जाने सल्लाह दिनुभयो र त्यहीबमोजिम हामी उनका कथा छाडेर घर फर्किएका थियौँ । विश्वास पनि कसरी नगर्ने रु एक त नाताले उनी मेरो काका पर्ने अनि साप्ताहिक पत्रिकाको सम्पादक । नाताको मर्म र पेसाको धर्म काकाबाट आशा गर्नु मेरै गल्ती थियो । पूर्णिमाका कथाहरू धेरै हप्तासम्म छापिइरहे तर ती सबै काकाकै नाममा । पूर्णिमालाई ति दिनहरूमा मैले रगतको आँसु रोएको देखेकी छु । अनि, हृदय फुटाएर कोठाको चारभित्ताभित्र मरेको पनि देखेकी छु । मभित्र भने पश्चात्तापका ज्वालाहरू उम्लन्थे तर म विवश थिएँ । यही विवशताभित्र काकासँग गएर झगडा पनि गरेँ तर सब व्यर्थ । काकाको उमेर, उनको छापाखाना, उनको नाम अनि कलमको अगाडि मेरो विलाप अनि पूर्णिमाको कलमको कुनै असर थिएन ।

 

लक्ष्मण काकाबाट धोका पाएपछि भने पूर्णिमाले आफ्नो रचनाहरूलाई मनको कारागारमा यसरी कैद गरिन् कि मानौँ तिनीहरूले जन्म कैदको सजाय पाएका हुन् । उनका रहरलाग्दा कथाहरू उनकै मनको गुम्फनमा फस्दै गए । यस्तै थिइन् पूर्णिमा।। जबजब समस्या आफूमाथि पर्‍यो उनको कलम रोकिन्थ्यो । सुनेकी थिएँ, लेखकहरू आफ्नो पीडा अनि भावनालाई अक्षरमा तरंगित गर्छन् तर सायद पूर्णिमा बेग्लै थिइन् । हुन पनि दुनियाँमा यो मानिस यस्तै हुन्छ भनेर मान्छेको मनोदशालाई कुन शास्त्र र किताबले पूर्णतः लेखेको होला र रु खै, मनोविज्ञानको विद्यार्थी म । मैले उनको मानसिकता भने कहिल्यै बुझ्न सकिनँ । पूर्णिमालाई केही पर्‍यो कि त्यो पीडा सँगसँगै तैरिन समय लाग्थ्यो तर विस्तारै उनी फेरि आफ्नो बाटो पक्डिन्थिन् । राम्रो प्रकाशन गृहको फेला परेकी भए सायद पूर्णिमा राम्रै लेखिकामा स्थापित भइसक्थिन् यतिबेलासम्म । हुन पनि भाग्य भन्ने कुरो पनि यस्तै रहेछ । जसले जे बन्न चाह्यो त्यही पोल्टामा आएर पनि खस्ने रहेनछ । समयको साथ पाउनु र नपाउनुको बीचको अन्तरले नै ठूलो भूमिका खेलिदिने कुरा पनि पूर्णिमाकै कथाले सोच्न विवश बनाएको थियो मलाई । मानिसमा प्रतिभा मात्र भएर पनि हुँदो रहेनछ । समय र परिस्थितिसँग जुध्न सक्ने क्षमता रहेन भने उभो लाग्न यो समाजमा कति गाह्रो हुँदो रहेछ भनेर मलाई पूर्णिमाकै कथाले सिकाएको थियो ।

समय सुचारू रूपले अगाडि बढिरहेको थियो । अरूबेला सधैँ तुफान कुदिरहने पूर्णिमाको कलम भने यहाँनेरै आएर रोकिएको थियो । चाहेर वा नचाहेर पनि मेरो कलम चाहिँ कता(कता हिँड्ने अनि डुल्ने रहर गरिरहन्थ्यो । साँच्ची आफ्नो कलमलाई कल्पनाको पखेटा हालेर म उडाउन चाहिँ सक्दिनथेँ । सायद यही मेरो कमजोरी थियो । मैले लेखेका लेख साहित्य बन्दैनथे । या त मलाई साहित्यझैँ लाग्दैनथ्यो । त्यसैले त सानैदेखि लुकीलुकी कापीका पानामा कोरेका हरफहरू च्यात्दै फालिदिन्थें । न त पूर्णिमालाई अनि परिवारको कुनै सदस्यलाई पनि यसको सुइँको दिन्थें । तर, पाठक भने म तगडाकै थिएँ । पाठकमा हुनुपर्ने धैर्यता भने ममा थियो । त्यसैले त पूर्णिमालाई सारा दुनियाँभरका पाठकको महसुस कहिल्यै भएन त्यो घटनापछि । मैले सुनेपछि उनका कथाहरू पूर्ण भएझैँ लाग्थ्यो उनलाई । हुन पनि कस्तो आशक्ति थियो पूर्णिमामा मप्रति ।

 

समय परिवर्तित छ अनि परिवर्तन नै त एउटा यस्तो सत्य हो जसलाई स्वीकार नगरी पनि रहन सकिँदैन । मनोविज्ञानको विद्यार्थी म मनोविज्ञानको शोधपत्र तयार गरेजस्तो पनि थिएन साहित्य लेख्नु । त्यसैले इच्छा र आकांक्षालाई थाती राख्दै म आफ्नै गतिमा हिँडिरहें । लेखिका बन्ने मेरो रहर केवल एक रहर नै हो भनेरै म आफ्नै मुटुका कुनाकाप्चामा यो एउटा सानो इच्छा दबाइदिन्थें । हुन पनि मेरो यस्तो मानसिकता विकास हुनुमा सायद पूर्णिमाकै हात हुँदो हो । उनका सटिक कथाहरूका अगाडि मेरा दुई चार हरफका भावनाका बहकाइमा केही अर्थ भएको जस्तो मलाई लाग्दैनथ्यो । ती च्यातेरै फाल्न लायक लाग्थे र म विना हिचहिचाहट कसैले नदेख्ने गरी लेख्दै फाल्दै बस्थें । मेरा कतिपय कुराहरू टिप्दै पूर्णिमाले कहाँ कतै कथाहरूमा हुलेकी हुन्थिन् तर मेरै हितैषी साथीलाई मेरो जीवनको यो पाटाको कहानी भने मैले कहिल्यै जानकारी दिइनँ । त्यसैले त भन्दा हुन नि कसैले कसैलाई दुनियाँमा सय प्रतिशत चिनेको नै हुँदैन । हुनत कहिलेकाहीँ लाग्थ्यो म आफू आफैलाई पनि पूर्णतः चिन्दिनँ ।

 

समय र परिस्थितिले मानिसलाई हरेक कुराबाट टाढा बनाउन सक्दोरहेछ । जीवनको यही पाटोमा आएर म पूर्णिमाबाट टाढा हुन थालेकी थिएँ । मनीषको उनीप्रतिको लगाव पनि त मेरो लागि कम पीडादायक थिएन । विवाहपछि मनीषले पनि बेलाबेला आफ्ना रचना सुनाउँथ्यो मलाई । कतिपय त उसका कथा छापिएर पनि आउँथे । निकै खुसीका साथ ऊ मलाई पढ्नलाई दिन्थ्यो । मेरो जीवन पनि यस्तै रहेछ । किशोर अवस्थामा पूर्णिमाका कथाहरू सुन्दै हुर्किएँ । अब विवाहपछि चाहिँ मनीषले लेखेका कथा पढेरै भएको फुर्सदको समय बित्दो छ । तर, चाहे छापेका कथाहरू हुन् वा छाप्नुभन्दा अगाडिका।।। साँच्ची मलाई मनीषका कथाहरूले चाहिँ पूर्णिमाका कथाहरूले मैं छुँदै छोएन । भनूँ त मनीषको मन टुट्ने डर । नभनूँ त आफू आफैँलाई ढाँटिराखेको जस्तो ग्लानी । तर पनि मनीषलाई प्रोत्साहन दिनै र उसलाई खुसी पार्न भए पनि थोरै झुठको सहारा लिइरहेकै पाउँथें । कस्तो बीचमा फलेको फर्सी जस्तो जीवन मेरो । उता पूर्णिमाका कथाहरू अनि यता मनीषका लेखहरू । बेलाबेला सोच्थें।।। आफू अनि आफ्नो अस्तित्वबारे । जसरी पूर्णिमा अनि घरपरिवारका सदस्यहरूबाट पहिले लुकाउँथें त्यसरी नै आफ्नो लेख्ने हरफहरू लेख्दै च्यातेर फालिन्थे । मनीषलाई पनि यसको सुइँको भने कहिल्यै भएन । न त उनीहरूले कहिलै जान्ने चेष्टा नै गरे न त मैले भन्ने जरूरत नै ठानेँ ।

पूर्णिमा बेलाबेला घर आउँथिन् जसरी सानोमा मेरो माइतीमा आउँथिन् । मैले पूर्णिमालाई आफूभन्दा अलग कहिल्यै सम्झिनँ । मनीष र पूर्णिमा दुवैका कथा अनि रचनाहरू सुन्ने समयको अभाव भने छोरा पाएदेखि खट्किरहन्थ्यो तर कथा सुन्नेबाहेक जीवनमा अरू थुप्रै प्राथमिकतामा पर्ने कुराहरू थिए जसलाई पूरा गर्दागर्दै म पूर्णिमा र मनीष दुवैका कथा तथा रचनाहरू सुन्न नभ्याउने भइसकेकी थिएँ । कहिलेकाहीँ त लाग्दथ्यो म पनि आफ्नो अनुसन्धानका पत्रहरूका थातीलाई शब्द शब्दमा तरंगित गरेर सुनाइदिऊँ तर मलाई जीवनमा आफ्नो अक्षरहरूसँग त्यति लगाव कहिल्यै भएन र सुनाउने हिम्मत पनि आएन । न त मेरा अनुसन्धानका पत्र उनीहरूका पात्रझैँ जीवन्त र रोचक नै हुन्थे । म समय अभावको माथापच्चिसीमा पिस्दै गइरहेकी थिएँ । यता भने मनीष र पूर्णिमा एकापसमै कथा सुनाइरहन्थे । म बेलाबेला त्यो भेलामा सरिक हुन नपाएको खेद पनि व्यक्त गरिरहन्थें अनि सरित अलि ठूलो भएपछि सबै कथा पढ्ने वाचा पनि गर्थें । मनीषले नै विस्तारै सम्झाएर आश्वासन दिंदै पूर्णिमाका कथा प्रकाशन हुनुपर्ने कुरामा जोड दिन्थ्यो । यो कुरामा म पनि सहमत थिएँ तर लक्ष्मण काकाले दिएको धोकापछि उनी मेरो नसुन्ने भएकी थिइन् । मनीषले नै त पूर्णिमालाई थाहै नहुने गरी उसलाई पढ्न दिएका केही कथा पत्रिकामा पठाएको थियो । पूर्णिमाका ती कथा प्रकाशित भएर पनि आए । सायद यसपल्ट पूर्णिमाको भाग्य थियो या त कथाहरू अझ परिष्कृत थिए, छाप्न भने छापेर आए । मैले १० औं वर्षसम्म गर्न नसकेको काम मनीषले केही महिनामै गरेर देखाइसकेको थियो । तर, समय कसरी चिप्लिएर मेरो जीवनको प्रमुख दुई पात्रहरू मनीष अनि पूर्णिमा एकअर्काका कथा सुन्ने र सुनाउने परपूरक बन्न पुगे, मैले कुनै गतिले यो रोक्न सकिरहेकी भने थिइनँ । मेरो नारी मन यही अन्तरकुन्तरमा कुँजिन्थ्यो तर म चुप बस्थें अनि केही हरफहरू यसै बीच कापीका कुनै पानामा अस्तव्यस्त यताउता छचल्किन्थे । उनीहरूबीच एक साहित्यिक वार्तालाप, छापाको कुरा अनि कथाको आदानप्रदान।।। तर कति संकीर्ण मन थियो मेरो । एकातिर बच्चा बेलादेखिको साथी अनि अर्कातिर सात फेरा लिएर विवाह गरेको श्रीमान् ।

 

मैले संकीर्णझैँ लाग्ने आफ्नो मनलाई लगाम लगाउन थालिसकेकी थिएँ केही समयपश्चात् । म गर्न पनि के नै सक्थें र यसबाहेक । मन न हो।।। घुमिफिरी यी दुईबीच मात्र घुमिरहन थालेको थियो । हुन पनि आफ्नै नजिकका सम्बन्धहरूले आँखा चिम्लिन थालेका थिए । पूर्णिमाको फोन हरेक दिनजसो आउँथ्यो अनि त्यससँगै मेरो मन पनि ढक्क फुथ्ल्यो । विस्तारै हात काँप्थे, खुट्टा लगलगाउँथे । तर, त्यो फोन आउने क्रम भने अब मनीषको मोबाइलमै मात्र सीमित हुन थालिसकेको थियो । साहित्यिक वार्तालापको नाममा हुने घण्टौंको कुराकानीलाई मैले साँच्ची भन्ने हो भने राम्ररी कहिल्यै बुझ्नै सकिनँ । म सोच्थें बेलाबेला के यी कथाकार हुन् या मेरो बरबादीको कथाको खलनायक तथा नायिका पात्रहरू । मन गल्दै गयो तर गलेको मेरो मनलाई साहित्यिक मन भएकाहरूले झाँकेर न त हेर्न नै सके न त हेर्ने प्रयास नै गरे । लाग्थ्यो आफ्नो कथा लेख्ने र सुनाउने नाममा यी कथाकार मेरै जीवनको कथा रित्याउने छन् एकदिन । यिनीहरूको जीवनशैलीले ल्याएको परिवर्तनले टुटेकी ुमु पात्र सायद यी दुईका कथामा अटाएन । मनोविज्ञानको अनुसन्धानमा समय बिताइरहेकी थिएँ म तर खै जीवनको यो मोडमा यी दुई कथाकारको मानसिकता भने बुझ्न सकिरहेकी थिइनँ । त्यसैले पनि विनाहिचकिचाहट निर्णय लिन पुगेकी थिएँ यी दुवैबाट धेरै टाढा बस्ने । यो दिनदिनकै घाउ जरैदेखि उखेलेर फाल्ने अरू उपाय मसँग थिएन । मनीषसँग जे मागेँ सजिलै पाएँ । माग्न पनि सायद जे उसले चाहेको त्यही मागेकी थिएँ।। ऊसँगको सम्बन्धविच्छेद । पूर्णिमाले मेरो स्थान प्रतिस्थापित गरिन् भन्ने लाग्थ्यो मलाई । कथा लेख्दालेख्दै पूर्णिमाले मेरै कथाको अन्त गराइन् । कथाको अन्तभन्दा पनि वैवाहिक जीवनको अन्त थियो त्यो । विश्वास र भरोसाको अन्त थियो त्यो । तातो पोलेको फलामले डामेजस्तो मन सधैँ पोलेर बस्नु अनि पटक(पटक मर्नुभन्दा एकैचोटि मर्नु जाति थियो मेरा लागि । त्यसैले पनि आफ्नो निर्णयमा कुनै पछुतो थिएन मलाई । मनीषले हुनत कहिल्यै कबुल गरेन यो कुरालाई । न त पूर्णिमाले नै गरिन् । तर, म सोच्थें म मानिसको मनोविज्ञान जान्दछु । मैले पढेका र देखेका कुरा अनि मलाई पोलेको कुरालाई म आफैले कसरी नकार्न सक्थें ।

 

समय बित्दो थियो । छोरा अनि आफ्नो जागिर धान्दा(धान्दा पाँच वर्ष बितेको पनि पत्तो नै पाइनछु । यसैबीच मेरो किताब ुडिप्रेसन एन्ड डिभोर्सिजु प्रकाशनमा आएलगत्तै थुप्रै फोन कलहरू अनि इमेल पनि आए बधाईको ओइरोसँगै । चिरपरिचित इमेलबाट आएको एउटा लामो इमेल चाहिँ पूर्णिमाको थियो । जुन पढेर मेरो मन गह्रौं हुँदै गइरहेको थियो ।

 

ुबधाई छ ममता सर्वप्रथम त । तिम्रो किताबले बजार तताएको छ । तर, ममता तिमीले बुझ्नुपर्ने कुरा चाहिँ त्यो हल्ला किताबको भन्दा मलाई नंग्याएकोमा छ । अनि तिमी आफैलाई उदांगो बनाएकोमा छ । आफ्नो अनि मनीषको सम्बन्धलाई बजारमा पस्केकी छ्यौ । अरूलाई नंग्याएर नाम कमाउने लहड तिमीलाई कहिलेदेखि चल्यो रु आफ्नो जीवन त सधैँ जिद्दी अनि हठको काँडेतारभित्र राख्यौ । मलाई र मनीषलाई समेत त्यहीभित्र पोल्यौ । तिमीले पढेको र बुझेको भन्दा बेग्लै सम्बन्ध थियो मनीष र मेरो जुन एउटा कल्पनालाई कथाको रूप दिने कथाकारले त्यस्तै कथाकारलाई मात्र बुझ्न सक्छ होला सायद । तिमी भन्थ्यौ नि म आफ्नो वरिपरिका मानिसहरूको स्वभावलाई आफ्नो पात्रहरूमा ढाल्थें । हो, कथाकारहरूले कहीँकतै आफू अनि आफ्नो वरिपरिका क्रियाकलापहरू कल्पनाको जलपसँगै ठाउँठाउँमा पस्केको हुन्छ । तिमीले जस्तो लेखको मूलपात्र बनाएर मैले तिम्रो कथा कहिल्यै लेखिनँ । कहीँ कतै झल्को मात्र आए पनि त्यो पात्र कुनै छद्म नाममै हुन्थ्यो । त्यसैले कथामा पाठकरूहरूले खोजे पनि अनि कहीँ कतै भेट्टाए पनि किटान गरेर कसैलाई यही हो भनेर भन्न सक्दैनन् । तर, म अचम्ममा छु।।। किन यसरी पस्कियौ मेरो जीवनलाई बजारमा रु थाहा छैन सायद यो तिम्रो सहानुभूति पाएर सस्तो लोकप्रियता कमाउने एउटै बाटो थियो । थाहा छ ममता, म कथा शौखको लागि लेख्छु अनि पात्रहरू सिर्जना गर्छु । तर, तिमीले म र मनीषलाई आफ्नो कलमको दुरूपयोग गरेर चरित्रहत्या गर्‍यौ अनि आफ्नो खुड्किला बनायौ मनोवैज्ञानिक लेखिका बनेर बजारमा जम्न । अनि, तिमीलाई मेरो यति भनाइबाट फरक पर्छ या पर्दैन थाहा छैन तर तिनै क्रियाकलापहरूले जेलेर यस संसारबाट बिदा भइसकेको मनीषको आत्माले भने तिमीलाई सायद माफ नगर्ला ।

 

पूर्णिमाको इमेल पढेपछि भने म शून्य भएँ । अझ उनको अन्तिम वाक्यले मलाई नराम्ररी कोपरेको छ । मनीषसँगको सम्बन्धविच्छेदपश्चात् २ वर्षमा उसको मृत्यु भएको थियो । सडक दुर्घटनामा भएको त्यो मृत्यु एक आकस्मिक थियो । तर, पूर्णिमाले मलाई लगाएको आक्षेपले भने म क्षतविक्षत भएको छु फेरि एकपटक । उनले मलाई त्यसरी नै क्षतविक्षत बनाइन् जसरी मेरो वैवाहिक जीवनलाई चिराचिरा पारेर टुक्रयाएइकी थिइन् । मेरो तर्फको कथामा म पूर्णिमालाई नै दोषी देख्छु तर उनको कथामा म दोषी ।

 

पूर्णिमाका शब्दहरूले आज जीवन एकपल्ट फेरि असफल भएझैँ लाग्यो । सानैदेखि उनले पाल्दै आएको चिरपरिचित लेखिका बन्ने सपना म जिउन थालेकी थिएँ । हुनत सपना पाल्नेले मात्र त्यो सपना जिउने अधिकार छ भनेर सोच्नु पनि व्यर्थ हो । जिन्दगीको मोडमा जीवन कथाका पासाहरू पल्टिरहन्छन् । कति सपनाहरू भत्किन्छन् अनि कति नयाँ सपनाहरू उम्रिंदै जान्छन् । यसैबीच लेखक अनि कथाकार पनि जन्मिरहन्छन् । कसैको लेख्ने कला समयसँगै तिखारिँदै जान्छ त कसैलाई समयले तिखारेर लेखक बनाइदिन्छ । यस्तै समयले तिखारेर मभित्रको लेखिका आज पाठकसामु पुगेको छ । सायद मेरा पाठकले मलाई बुझ्नेछन् तर अरूका जीवनका अंशहरूलाई काल्पनिक कथाको पात्रै पात्रमा ढाल्ने पूर्णिमाका आँखाहरू अनि मन फेरि एकपटक यहाँ आएर बन्द भएको छ । मैले आफ्नो किताबको कुनै अंशमा पूर्णिमाको नाम प्रयोग गरेकी छैन।। न त मनीषको । हो वास्तवमा थुप्रै मजस्ता साथी र जीवन साथीबाट धोका खाएपछि डिप्रेसनमा डुबेका अनि पोस्ट ट्रमाटिक स्ट्रेस डिसअडर ९एक्त्म्० बाट गुज्रिरहेका मानिसहरूको जीवनलाई गति दिन र प्रेरित गर्नका लागि आफैलाई उदांगो भने गरेकी हुँ । मेरो जीवनगाथासँगै कोही जोडेर आउँछन् भने के मैले त्यो लेख्नै नपाउनु रु यो कहाँसम्मको न्याय थियो रु पूर्णिमाले किताब पढेर पात्रमा आफूलाई फेला पारिन् तर उनले सायद बुझिनन् उनका पात्र र चरित्र नामविनाकै थिए । पाठकहरूले मेरो जीवनमा आएको उतारचढावमा एक अर्की महिला भनेरै जान्दा हुन् न कि पूर्णिमा । म सायदै बुझ्छु होला यो कथाकारको कथा अनि उनको मनस्थिति । तर, पूर्णिमाको आक्षेपको कुनै अस्तित्व राख्दैन मेरो जीवनमा आज । त्यसैले मलाई उनलाई सफाई पेस गरेर इमेलको जवाफ लेखिरहने जरूरत पनि लागेन ।

प्रतिकृया दिनुहोस्