अनेसासले नेपाली भाषासाहित्य कला संस्कृतिलाई विश्व रङ्गमन्च उभ्याउन सकोस् -गीता खत्री

अनेसास दर्पणका लागि अनेसास बिओटीका सभापति गीता खत्रीसँग गरिएको कुराकानी –

यहाँको आफ्नो साहित्य यात्राबारे हामीलाई जानकारी गराइदिनुहोस् न ।

परिवारभित्र साहित्यमा लागेको कोही नभएकाले स्कूल जान थालेपछि स्कूलले आयोजना गर्ने कार्यक्रमहरुमा भाग लिने क्रममा मेरो लेखन यात्रा सुरु भएको थियो । राष्ट्रकवि माधव घिमिरेको मालती मङ्गले गीतिनाटक हेरेर आएपछि त्यस्तै किसिमको गीति नाटक लेख्ने रहर आयो । निकै मिहिनेत गरेर तयार पनि गरेँ तर प्रकाशकको हातमा नपुग्दै मेरो हातबाट गुम्यो । धेरै कालपछि त्यसलाई पुर्नलेखन गर्ने बिचार आएको थियो तर सकिनँ ।

न्युयोर्क आइसकेपछि कविता, गीत, गजलतिर लागेंं । मेरो पहिलो प्रकाशित कविता अस्तित्व हो । त्यसपछि सिर्जनायात्रामा गीता नामक कृति कविता, गीत र गजलसङ्ग्रह सन् २००४ मा प्रकाशित भयो । क्रमशः सम्झनाको तरेली गीतसङ्ग्रह २०१०, सपनाको धरहरा कवितासंग्रह २०१२, आमा हुन् आमा खण्डकाव्य २०१४, झोखाङदेखि मजाटलानसम्म नियात्रासंग्रह २०१५, अन्त्यहीन इच्छा कथा सग्रह २०१९, सिमलेस डिजायर अंग्रेजीमा अनुवाद कथासंग्रह २०२०, उडेको आकाशः डुलेको धर्ती नियात्रासंग्रह २०२१, गीति अल्बमहरुमा स्वीकृति, नजर, यात्री  दीपहरु प्रकाशित भई बजारमा आएका छन् । सम्पादित कृतिहरुमा अन्तराष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन, अनेसास गजलगङ्गा, अनेसास कथासंग्रह प्रकाशित भइसकेका छन् । समयले भ्याएसम्म यसलाई निरन्तरता दिइरहेकी छु ।  

यहाँको विचारमा साहित्य के हो र यहाँले कलम चलाउनुभएका साहित्यका विधाहरूलाई कसरी परिभाषा गर्न मन पराउनुहुन्छ ?

साहित्य यही हो भनेर ठ्क्याकै भन्न म सक्दिनँ । तैपनि विशाल अर्थमा भन्ने हो भने प्रत्येक लिखित कार्य नै साहित्य होजस्तो मलाई लाग्छ । किनकी त्यसमा सर्जकले आफुले जानेको ज्ञान, विवेक तथा बुद्धिको प्रयोगगर्दै समाजमा देखेको, भोगेको काल तथा परिस्थितिलाई आफ्नो लिखित कार्यमा उतार्ने प्रयास गरेको हुन्छ । उक्त कार्य अरुको हातमा परेपछि बल्ल त्यसको स्तर निर्धारण गरिने हो । उत्कृष्ट ठहरियो भने त्यो राम्रो साहित्यिक कृति बन्यो होइन भने सामान्य कृति भएर इतिहासमा बस्ने भयो । एउटै सर्जकले बनाएका सबै कृतिहरु उत्तिकै उत्कृष्ट बन्न सक्दैनन् । यसको अर्थ सर्जक कमजोर भएको पक्कै होइन । न उसले आफ्नो कृति घटिया बनाउने प्रयास गरेको हो । तर पाठकको नजरमा उसको पछिल्लो कृतिले मन छुन सकेन ।

माथि भनेजस्तै मैले पनि विविध विधामा कलम चलाएँ । मैले आफूले जानेको ज्ञान, बुद्धि तथा विवेकको प्रयोग गर्दै मैले देखेको वर्तमान समाजको चित्रण विभिन्न विधामार्फत गरेँ । कविताबाट गरेँ, गजलबाट गरेँ, गीतबाट गरेँ, खण्डकाव्य मार्फत गरेँ, कथाबाट गरेँ, संसारका विभिन्न भागमा गएर देखेका, भोगेका कुराहरु नियात्रा मार्फत गरेँ, गीत गाएर गरेँ तथा छोटा सिनेमा मार्फत पनि समाजलाई देखाएँ । यिनै लिखित कार्यबाट मैले समाजलाई आफूले जानेको ज्ञान बाँडेकी हुँ । मेरो यो नश्वर शरीर नरहेको अवस्थापनि यी कृतिहरु मार्फत मैले जानेको ज्ञान समाजले पाइरहने छ । र, उपन्यास मार्फत मेरा भावना बाहिर ल्याउने तयारीमा छु । 

हिजो र आजको सिंगो नेपाली साहित्यलाई कसरी मूल्यांकन गर्नुभएको छ  ?

समय हिजोकोबाट आज धेरै परिवर्तन भइसकेको छ । हिजोको कुरा गर्दा नेपाली जनताले धेरै लामो समयसम्म पढ्ने र लेख्ने अवसरबाट वन्चित हुनुपर्यो । जसले गर्दा आम जनताले आफ्नो मनको कुरा लिखित रुपमा व्यक्त गर्न सकेनन् । मोतिराम नजन्मिएका भए भानुभक्तले अनुवाद गरेका रामायण पनि नेपालीजनले पढ्न पाउँथे कि पाउँथेनन् ।

२००७ सालको प्रजातन्त्रपछि नेपालीजनले पढ्न लेख्न पाउने अधिकार त पायो तर साँच्चिकै पढ्ने अवसर पायो त ? म २०२० सालमा नेपालको राजधानी काठमाडौंमा जन्मेको मान्छेले पढ्नको लागि संघर्ष गर्न परेको इतिहास मेरै साथ छ भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हिमाल, पहाड, तराइका मानिसलाई शिक्षाको सहज अवसर थियो होला त ?

थोरैले शिक्षाको अवसर पाए । जसले पाए तीनले आफूले सकेको योगदान नेपाली भाषा-साहित्यको भण्डार मजबुत बनाउने कार्यमा लगाए । जे गरे त्यसैमा सन्तोष लिनु पर्यो । त्यसबेलामा प्रवासी समाजले नेपाली भाषा-साहित्यमा ठूलो योगदान पुर्याएको कुरा आजका पुस्ताले बिर्सन सकिएलाजस्तो मलाई लाग्दैन । त्यतिबेलाको नेपाली साहित्यपनि कमजोर थियोजस्तो लाग्दैन । सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, इन्द्रबहादुर राई, केदारमान व्यथित, बैरागी काइँला, पारिजातहरुको योगदानले नेपाली भाषासाहित्य परिपूर्ण भएको थियो ।

आजको नेपाली भाषासाहित्य त्यसबेलाको भन्दा अझ बढी फष्टाएको छ, मौलाएको छ र झाङ्गिएको छ । कसैले भन्न सक्छ आजको नेपाली साहित्य तल्लोस्तरको छ । अहिलेको बेला भनेको खोलामा बाढी आएको अवस्था हो । ऊ बेलामा पढ्ने लेख्नेहरुको सङ्ख्या सीमित थियो भने अहिले असीमित छ । अहिलेको यो बाढीमा ढुङ्गा—माटो, काठ—दाउरा, रुख—बिरुवा जीव—जन्तु सबै बाढीकै रफ्तारमा बग्नुपर्छ । कुनै समथर मैदानमा पुगेपछि सबै पाखा लाग्छन् र शान्त हुन्छन् । त्यसपछि मानिसले कुन शालिग्राम हो र कुन साधारण ढुङ्गा हो छुट्याउनु पर्छ । अहिले नेपाली जनताले मौका पाएका छन् । लेख्ने चाहना राख्छन् । सक्षम पनि छन् । यस्तो अवस्थामा सबैलाई हौसला र ऊर्जा दिनु सबैको कर्तव्य होजस्तो मलाई लाग्छ । समयले कमजोर, फितलो र कम स्तरीय साहित्यिक कृतिहरुलाई पछाडि छोड्दै जान्छ र उत्कृष्ट कृतिहरुले समाजमा आफ्नो स्थान आफैँले बनाउने छन् । अहिले हामी यही अवस्थामा भएजस्तो लाग्छ ।

घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ?

घरदेश भाषाको खानी हो, साहित्यको भण्डार हो । जति खोज्यो उति बढ्छ । जन्मदेखि चितामा बस्नु अगाडिसम्म नेपाली भाषामै उठिन्छ, बसिन्छ, सुतिन्छ । भाषासाहित्य खुकुरीको धारजस्तै हो जति घोट्यो उति चम्किन्छ र उति  धारिलो बन्छ । जति थन्काएर राख्यो उति भुत्ते बन्छ । मेरो बिचारमा नेपाली भाषाले सन् १९९० पछि निकै ठूलो फड्को मारेको हो कि जस्तो लागेको छ । पढ्ने लेख्ने अवसरपनि बढेको र कृति प्रकाशन कार्य पनि पहिलेको भन्दा सहज भएर हो की । घरदेशका सर्जकहरुलाई आफ्नो सिर्जनालाई उत्कृष्ट बनाउन सबै किसिमका खोज तथा अनुसन्धान कार्यमा सहज हुने भएकोले बढी स्तरीय हुनसक्ने अबस्था आउँछ भने परदेशका सर्जर्क आफ्नो सीमित क्षमता र स्रोतमा भरपर्नु पर्ने भएकोले सोही अनुपातमा उनिहरुको कृति अब्बल नबन्नपनि सक्छ । गतिको हिसाबमा भन्ने हो हालका केही वर्षहरुमा परदेशबाट निकै बढी सिर्जना भएको अनुमान मैले गरेकी छु ।

अबको अनेसास कस्तो होस् र यसले कस्ता कस्ता काम गरोस् भन्ने चाहना राख्नुभएको छ ?

अमेरिकाको वाशिङ्टन डी.सी.मा तीन दशकअगाडि स्थापना भएको यस संस्थाले नेपाली भाषा, साहित्य कला तथा संस्कृतिको सिर्जना, प्रकाशन, वितरण अनुवाद तथा अध्ययन गर्दै नेपाली सांस्कृतिक धरोहरको संरक्षण र सम्बर्धन गर्न चाहने सबै नेपाली सर्जकहरुका लागि अन्तर्राष्ट्रिय मन्च भएको छ । यी कुराहरु संस्थाको उद्देश्यमै लेखिएको छ । नेपाली भाषासाहित्य कला संस्कृतिको विषय भएकोले परदेशमा रहनु हुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको साझा थलो बन्न सकोस् र नेपाली भाषासाहित्य कला संस्कृतिलाई विश्व रङ्गमन्च उभ्याउन सकोस् भन्ने चाहन्छु ।

अनेसास दर्पण पत्रिकाका बारेमा यहाँका सल्लाह र सुझावहरु छन् कि  ?

खासगरी दर्पणको जन्म यस संस्थासँग आवद्ध सम्पूर्ण सदस्यहरु एवं विश्वभर रहेका नेपाली साहित्यकारमाझ साहित्यिक लेख रचना एवं अनेसासका गतिविधि, समाचार, सूचना आदिलगायत सम्पूर्ण साहित्य-सामग्रीको भन्डारको रूपमा दर्पण होस् र त्यहाँबाट आफ्नो रुचिअनुसारको सामग्रीको रसास्वादन्  हरेक पाठकले गर्न सकून् र नेपाली भाषा-साहित्यको संरक्षण संवर्द्धनका लागि  दर्पण एउटा सारथि बनोस् भन्ने वृहत् लक्ष लिएर यसको जन्म भएको हो । यसको छैटाैँ अंकसम्म पाठकका लेखरचनाहरूलाई संकलन गरी अनेसासको अफिसियल वेबसाइटमा राखिएको थियो भने सातौँ अंक राष्ट्रकवि विशेषाङ्कको रुपमा मुद्रण भएको थियो ।

यद्यपि अहिले अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको प्रधानसम्पादकत्व तथा दशकाैँदेखि अनेसासको प्रकाशनमा सहयोग पुर्याउँदै आएका रमेश दाहाल कार्यकारी सम्पादक रहेको समूहले अनेसास दर्पणलाई अनलाइन साहित्यिक पत्रिकाको रूपमा विस्तार गरी हरपल हरक्षण पाठककामाझ पुर्याउने कार्य गरेको हुँदा यो कार्य अनेसासको उत्कृष्ट कार्य र अनेसासको वर्तमान कार्यसमितिले गरेको महत्त्वपूर्ण कार्य रहेको ठानेकी छु ।  यो दर्पण साहित्यिक अनलाइन पत्रिकाको गुणस्तर र निरन्तरताको कामना गर्दै दर्पणसमूहलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । लाखाैँ पाठकहरूको ढुकढुकीमा दर्पण बनेर यो पत्रिका छाउने छ भन्ने मैले विश्वास लिएकी छु । 

प्रस्तुति: लालगोपाल सुवेदी

प्रतिकृया दिनुहोस्