गोविन्दराज भट्टराई

स्रष्टा श्री लालगोपाल सुवेदीले  अनेसास दर्पणको लागि डा. गोविन्दराज भट्टराईसँग लागि लिएको लिखित अन्तर्वार्ता-

यहाँको आफ्नो साहित्य यात्राको हामीलाई जानकारी गराइदिनु हुन्छ कि !

यस्तो प्रश्नको उत्तर लेख्न बस्ता आफ्नो जाँगर अलिक घटेर आउँछ । मेरो साहित्यिक यात्राबारे केही पढेर, केही बुझेर त्यसका आधारमा प्रश्न गरिदिए आफूलाई सम्मानित ठान्थेँजस्तो लाग्दोरहेछ । यो लेखकको मनमा ढुकी बस्ने एक प्रकारको अभिमान हो । तर फेरि मनलाई शान्त पार्न सोचेँ—उहाँ अर्थात् लालगोपाल भाइ कति टाढा हुनुहुन्छ !  समय कम्ती छ त्यसैले यसो गरेर कुरो समेट्न खोजेको होला भनी मन बुझाएँ ।

यस प्रश्नले त गोविन्दराज भट्टराईको समग्रता नै खोज्दछ । सिंगै पुस्तक लेखे पनि पुग्दैन भन्ने पिरमा थिएँ । एकदिन लाल गोपाल भाइसँग फोन सम्पर्क गरेँ र कुरा भयो— “यस विषयमा सरले साहित्यिक जीवनमा गर्नुभएका अनुभवको क्रमिक परिवर्तनसाथ आफ्नो उन्नतिरेखा देखाइदिनु होला ।” भनेको सुनेर मलाई खुसी लाग्यो । यस्ताखाले स्रष्टाको हार्दिक पक्ष छुने कुरा अन्तर्वार्तामा हत्तपत्त आउँदैनन् । प्रश्नहरु सदैव सिधा, भौतिक, संरचनात्मक परिणाम खोज्ने खालकै हुन्छन् । यसको आशय भिन्न रहेछ ।

यस सन्दर्भको उत्तर दिनलाई म पाठकलाई अलिकति आफ्नै भौतिक यात्रा–क्रम बुझाउन थाल्छु ।

म वि.सं. २०१० को मानिस । एक्काईस वर्षको उमेरमा त्रिविबाट बी.एड गर्दागर्दै मुगलान नामक उपन्यास लेखी छपाएँ । यसमा भूटानमा बाटो खन्न लगिएका नेपालका कुल्ली र अघिदेखि त्यहीँ बसोबास गर्ने अशिक्षित नेपालीको कथा छ । तिनीहरुमाथिको चरम शोषण र अत्याचार छ ।

त्यहाँदेखि लेख्न प्रकाशन गर्न आरम्भ गरेको आज ४८ वर्ष व्यतीत भएछन् । भर्खरै मेरो ६१औँ कृति निर्वाचित निबन्धहरु प्रेसमा पुगेको छ ।

मलाई पुस्तक संख्याले आफ्नो उमेरको वर्षलाई जितेको हेर्न मन छ । संख्यामा गौरव भएर होइन तर सिर्जनाको तिर्खा शान्त नभएकाले त्यसो गर्दा पो हुन्थ्यो कि भन्ने भएर ।

गर्दै लाँदा अध्ययन र सृष्टिभन्दा ठूलो प्राप्ति केही छैन भन्ने भ्रान्तिले यो मनलाई ढाक्ने दिन आउँदोरहेछ बिस्तारै । त्यस्तो भएपछि अरु सारा उपलब्धि तुच्छ र नगन्य लाग्न थाल्छन् । भोक तिर्खा मेटिएर एउटा मनोग्रस्तिको राँको मात्र बलिरहन्छ रातोदिन । विश्वसाहित्यमा धेरैलाई यस्तो रोगले छोपेको घटना पढ्दै हेर्दै आएको छु । म त्यस्तै अनुभव गर्दछु । अरु सारा नाशवान्, क्षणिक र व्यर्थ कर्म हुन्, कला–साहित्य सिर्जनाबाहेक कुनैमा फल लाग्दैन भन्नेमा विश्वस्त छु ।

आजसम्मका कर्म हेर्छु— दुई भाषा (अंग्रेजी, नेपाली)को मोहमा पर्नाले आफ्ना कर्महरु पनि भँगालिएछन् भन्ने लाग्छ । तर जे गरियो गरियो, गतम् न सोचामि कृतम् मध्ये । जीवन एकोहोरो दौड हो, लामो दूरीको धावकले त्यो मार्गमा दोहोर्याएर दौडिन नपाएजस्तै ।

मैले यस कालावधिमा कवितासंग्रह दुई, उपन्यास चार, निवन्ध–यात्रासंग्रह सात, सिद्धान्त समालोचना आठ गरी, सम्पादित नौ  गरी तीस कृति नेपालीमा मौलिक प्रकाशित गराएछु । अनुदित दस पुग्नै लागे । प्रकाशोन्मुख, असंङ्ककलित र अरु प्रतीक्षामा सत्र थान छन् । ज्यादाजसो यात्रा र संस्मरणमा, साहित्य चिन्तन, अन्तर्वार्ता र अनेक गोष्ठीपत्रको रुपमा । ‘तिमीहरुको पनि दिन आउनेछ’ भनी फकाएर राखेको छु तर मेरो वर्तमान कृति संख्यामा तिनको नाम दर्ता भएको छैन, नजन्मी नाम राख्ने कुरा भएन । अरु पुस्तक अंग्रेजीमा छन्— मौलिक छन्, अनुवादित छन्, सम्पादित छन् । ती साराको नाम लिनु यहाँ सम्भव छैन ।

‘आफ्ना जीवनकालको साहित्यिक’ उन्नति भन्ने कुरा गर्नु भो । तर त्यो तौलन निकै मुस्किल रहेछ । विद्यालय कालमा छात्रावासमा बसेँ, नेपाली साहित्यका अनेक कृति पढ्न पाएँ । पिताजीले पनि प्रेरित गर्नु भो, ठुल्दाजु पनि अघि लाग्नुभो । यसरी साहित्यतिर थाहा नपाई पसेको रहेछु । त्यो कलिलो युवाकालमै मुगलान लेखेँ ।

त्यस बेला मनमा कुनै सिद्धान्त थिएन, शैली थिएन, कथाको विषयवस्तु मात्रै लिएर भूटानबाट फर्की नेपाल आएको थिएँ । त्यो एउटा सिकाइको कर्म । तर आज फेरि पाठकहरु मलाई मुगलानले नै चिनिएजस्तो गर्छन् । अरु कति कति दामी कृति लेखेँ ठान्छु तर मुगलानकै प्रशंसा गर्छन् र मलाई अलिक रिस पनि उठ्छ । मुनामदनका देवकोटालाई, गौरीका माधव घिमिरेलाई, बसाईका लीलबहादुरलाई, मुलुकबाहिरका लैनसिंहलाई,    आज रमिता छका इन्द्रबहादुर राईलाई यस्तै भएको थियो होला ।

त्यस्तो गहिरो कृति फेरि किन लेखिएन भनी हप्काउँछन्, आलोचना गर्छन् । आलोचना आएपनि खप्तैछु तर त्यो विनाज्ञानको अवोध कालतिर फर्किन नसकिने रहेछ । सबै प्रकारका सिर्जना कलाका ज्ञानले; चेतना, विवेक र साधनाले केहीले पनि त्यो स्थितिमा छुन सक्तैन रहेछ जुनबेला एक अज्ञात संवेगले, आँटले, अलिकति मूर्खताले उचालेर लेख्ने मुटुलाई उद्धेलित गराएको हुन्छ । मलाई ती कुराले उद्वेलित गराए । पछि सुकरातका पाइला र सुकरातको डायरी (दुई उपन्यास) लेखेँ । त्यसबेला मभित्र मुगलानको अपरिपक्व स्रष्टालाई देखेर शर्माउने व्यक्ति निर्भीक लेखक बनिसकेको थियो । यस्तै रहेछ साहित्य यात्रा । कवि टमस ग्रेले भनेका थिए— इग्नोरन्स इज ब्लिस; अर्थात् निर्दोषिता नै वरदान हो ।तर सिर्जना–कला यस्तै रहेछ । कुनै मनोवेगले, कुनै संवेगले राम्रो कुरा सृष्टि गराउँछ । वर्षौं लगाएर सिकेका कति काम व्यर्थमा जान्छन् वा सामान्यमा पनि पर्छन् ।

यतिखेर मैले मनमा विश्वसाहित्य विषयको आंशिक ज्ञान भरेँ, शैलीका चमत्कार देखेँ, अभूतपूर्व प्रयोगहरु पढेँ, सिर्जनाका अनन्त विविधताबारे सुकरातको डायरीमा लेखेँ । नेपली साहित्यमा यो प्रथम पुस्तक रचेँ भन्ने पनि लाग्दैछ तर ज्ञान र बौद्धिकताको तह एउटा छ, त्यहाँ चढ्ने पाठक थोरै हुन्छन् । सिर्जनाको प्रत्यक्षता भावना सँगै जोडिएको हुन्छ भन्ने लाग्छ । त्यसो त भावना मात्रले के हुन्छ र त्यो कला र कल्पनाको सहज स्वीकार्य सम्मिलन पो रहेछ ।

नव वर्ष लाग्नु अघि मन २०१४ का नोवल विजयी प्याट्रिक मोदियानोको नोवल अन्तर्वार्ता अनुवाद गरेँ, मधुपर्कमा प्रकाशित भयो, गतवर्षका नोवल विजयी अब्दुल रजक गुर्नाहको आफ्टर लाइफ पढेर लेखेँ; त्यो प्रकाशोन्मुख छ, बेलायती विद्वान प्रा. सूर्य सुवेदीकृत ह्युमन टाइम्स् इन् इस्टर्न सिभिलाइजेशन पढ्दै छु, यसबारेको समीक्षा आउँनेछ । तर मलाई लाग्छ यी उच्च कुरा हुन्, थोरैले बुझ्छन् । भुइँमा फलेको ऐँसेलु एउटा बालकले पनि टिपी खान सक्छ; धेरै माथि आकाशको लप्सीदाना टिप्न साहसीले भर्याङ लाउनुपर्छ— नत्र पाकेपछि आफैँ झर्नुपर्छ ।

यहाँको विचारमा साहित्य के हो ? यहाँले कलम चलाउनुभएका साहित्यका विद्यार्थीहरुलाई कसरी परिभाषा गरिदिन मन पराउनुहुन्छ ?

मानवलाई मात्र प्रकृतिले प्रदान गरेको अचम्मको शक्ति भाषा छ, त्यसको माथ्लो तह भावना (सम्वेग-विचार) अनि अझै माथि छ कल्पना । तिनको संयोगले रचिने जगतको प्रतिरुप नै साहित्य हो । तिनमा केही क्षणका भोगाइदेखि लिएर लामो जीवनका धेरै धारणा जे पनि हुन सक्छन् ।

साहित्य–सिर्जना एक प्रतिच्छाया हो, एक प्रतिध्वनि । यसमा हाम्रा कर्महरु प्रतिविम्वित हुन्छन् । तिनै प्रतिविम्वमा सबै थोक छ । हाम्रा कर्महरु र सत्यको खोजी ।

प्रश्नको दोस्रो भागको उत्तर गर्न थोरै स्थान र समयले नपुग्ने हुनाले यहाँ त्यसले स्थान पाएन ।

हिजो र आजको सिंगो नेपाली साहित्यलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

यो प्रश्न पनि त्यति वस्तुपरक लाग्दैन । कम्तीमा १५ वर्षको नेपाली साहित्यको सिंगो रुप लेख्न कति हजार पृष्ठ र कति वर्ष लाग्लान् ? प्रश्नहरु अलिक खिपेर, सटीक र एउटा सीमित पक्षलाई मात्र छुने भैदिए उत्तर गर्ने पनि जाँगर चल्छ । यसमा अर्थोक बोल्दिन । यति भन्छु, सारा गतिमान् छ । नयाँ स्रस्टा थपिँदा छन्, नयाँ कृति र तिनका पाठक पनि त्यसै अनुपातमा बढ्दा छन् । तर हिजो सबै कुरा सीमित भएकाले प्रत्येक वस्तु वा कर्म मूल्यवान् हुन्थे; आज भनेँ प्रत्येक वस्तु सहज प्राप्य छन्— शिक्षा सर्वसुलभ भयो, शिक्षितहरु बढे, त्यही अनुपातमा पाठकहरु बढे । सँगै समाजमा लेखक–प्रकाशक बढे । डेस्कटप प्रकाशनले घरघरै लेखन–प्रकाशन सम्भव भयो । त्यसमाथि इन्टरर्नेटको अकल्पनीय शक्तिले गर्दा क्षणभरमै एउटा लेख विश्व भ्रमण गर्ने भयो ।

साहित्य मात्र होइन, मानवमनलाई मनोरञ्जन र ज्ञान प्रदान गर्ने हजारौँ वैकल्पिक माध्यम र रुप  थपिँदा छन् । त्यसको नाम हो साइवर जगत् । तर यो साइवर शक्तिले लेखक–पाठकको मात्र जीवन परिवर्तन गरिदिएको होइन । कर्णालीको बाढी सँगै झार–पात, लेदो, ढुंगा–मुढा, सबैथोक बगेर आउँछ । छान्न छुट्याउन असंभव हुँदैछ । त्यसैगरी साहित्य कहाँ छ छुट्याउन कठिन हुँदैछ । आजको पुस्ता साइवरमा बिलाएको हेर्दा निरास हुने ठाउँहरु पनि थपिँदैछन् । साहित्य कहाँ छ, यो के हो उसले चिन्दैन । अर्को ‘सेकेन्ड वर्ल्ड’ मा प्रवेश गरिसक्यो ।

 त्यसमाथि प्रशिक्षक, प्रकाशक, प्रचारक अति बढेर प्रत्येक व्यक्तिलाई घरघरमै साहित्यको भाग आइपुग्छ । दिनभरि उड्ने साइटहरु, अट्याचमेन्टहरु कहिले त खोल्न पनि नभ्याई सुत्ने बेला हुन्छ । एउटा दामी लेख विस्तारो गरी पढ्ने, बोध गर्ने, सम्झिने, दराजमा सुरक्षित गर्ने दिन गए । तीव्र गतिको रेलगाडीमा बसेर बाहिरका मनोरम दृश्यमा एकसर्को आँखा डुलाएजस्तो मात्रै छ अहिलेको साहित्यिक जीवन ।

अहिले माध्यम नै भिन्न भयो— लेख्नु, छाप्नु, पढ्नु, भण्डारण गर्नु सारा मिशिनसँग छ, हाम्रो भावना र गतिको काम कति बाँकी छ भन्न नसकिने जस्तो । तै पनि निरास नभै गर्दै गरौँ ।

घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ यहाँले ?

यो स्वाभाविक छ— नेपाली माध्यमको जरो–किलो सबै भएको मुलुक नेपालमा यसको उत्पत्ति, विकाश र वर्तमान सँगसँगै छ । नेपाली वाङ्मयले आकार लिन थालेका चारपाँच सय वर्ष व्यतीत भए । कसरी लेखौँ भन्ने चिन्ता लिने व्याकरण, शब्दकोष निर्माता यही छन्, पाठ्यपुस्तक निर्माता अन्य कृति स्रष्टा, प्रकाशक वितरक सारा यहीँ छन् नेपालमै ।

यहीँको भाषा बिउ बोकेर नेपाली जाति टाढाका मुलकतिर छरिन थालेका चार दशक मात्र भए । अहिलेको विश्वव्यापीकरणले उनीहरुलाई छर्दा फाइनान्स स्केप्स (आर्थिक वृत्त) वरिपरि मात्र ती पुग्छन् । विश्वग्रामीकरणका बेत्ता अर्जुन अप्पादुराईले भनेका अरु चार वृत्त (जातीय, प्राविधिक, वैचारिक, मिडिया) को कारण हाम्रा मूल जाति छरिएका–जोडिएका छैनन् ।

जीवन अस्थिर छ, चलायमान छ । मूल भूमिसितको सम्पर्क र असम्पर्कको चिन्ताले ज्यादा तपाईहरुको यो समय खान्छ । त्यसमाथि नेपालकै भाषा–साहित्यको ज्ञान बोकेर नवीन ठाउँमा पुगी एक्ला संघर्षमा डुब्ने पुस्ताहरु ज्यादा हुनुहुन्छ । त्यसैले यसमा हाम्रो जाति र त्यसको कर्मको छाप छ तर गुणस्तरीयता धेरै प्रशंसा गर्नु पर्ने छैन न यतिखेर त्यसको अपेक्षा हुन्छ । त्यसमाथि तपाईंहरुलाई लेख्य विषयको निर्धारण गर्न पनि मुस्किल छ । तपाईँहरु नवभूमि लेख्नुहुन्छ कि उत्पत्तिभूमि ? सधैँ द्वन्द्व छ, सधैँ अनिर्णितता ।

यी सारा प्रतिकुलतामा पनि संगठनहरु गरेर, साहित्य गति निरन्तर राख्ने यहाँहरुको प्रयत्न देख्ता र यताबाट आइरहेका प्रकाशनको स्थिति देख्ता हर्ष लाग्ने ठाउँ छ धेरै । वर्तमानको अस्थिर पुस्ता जीवन अड्याउनै संघर्षरत छ । एक पुस्तापछि अर्कै स्थिति आउला । दुई पुस्तापछि अझ अर्कै सिर्जनाको लागि भावनाको स्थिरता पहिलो शर्त हो । त्यसले बाहिरकाहरुलाई पिरोलिरहेको हुन्छ ।

अबको अनेसास कस्तो होस् र यसले कस्ता कस्ता काम गरोस् भन्ने चाहना राख्नुभएको छ ?

अनेसाससँग जोडिएका मेरा दुई दशक व्यतीत भएछन्, मैले २०६४ मा उत्कृष्ट कृति (उत्तराधुनिक ऐना) को लागि पुरस्कार प्राप्त गरेको थिएँ । यो ग्रहण गर्न र सम्मेलनमा भाग लिन अमेरिका आएको थिएँ ।  हेर्दैछु टाढैबाट । यसले गरेका कामहरु उत्तम छन् । यो हाम्रो जातिको एक वैश्विक (ग्लोबल) प्रज्ञा–प्रतिष्ठान हो । अहिले त अरुको झैँ ग्लोबल नेपाली डायास्फोरा भन्ने पद लोकप्रिय हुँदैछ ।

अनेसासले सदैव असल कर्महरु गर्दैछ । श्रम गरेर जीवन धान्ने आँट गर्दै आफ्ना पिता–पुर्खाको विरासत भूमि छोडेर त्यहाँको केवल केही स्मृति बोकी यहाँ आउने पुस्ताको संघर्ष–प्रतिज्ञा त्यत्तिकै सराहनीय छ । तिनीहरु मिली एक साझा लक्ष (कमन गोल) राखेर भाषा साहित्यको माध्यमले आफूलाई चिनाउन सकिन्छ कि भनेर स्थापना गरेको यस संस्थाले आज विश्वरुप लिएको छ । सर्वप्रथम यसका प्रथम चिन्तक श्री होमनाथ सुवेदीज्यूप्रति आभार प्रकट गर्दछु ।

टाढा बसेको म विनाअनुभव यसले यसो गरोस् भन्न चाहन्न । तपाईंहरु भोक्ताले खनेको मार्गले नै हामीलाई गन्तव्यमा पुर्याउँछ होला ।

भोलि त यहाँका हाम्रा चिन्ताहरु स्थापित (डायास्पोरिक) भइसक्छन् । उनीहरु शिक्षाले संस्कृतिले यही पूर्ण सम्मिलित भइसक्छन् । नेपालसितको सम्बन्ध र आवागमन पनि पातलो हुँदैजानेछ । किनकि त्यो पुस्ता भाषा र संस्कृतिको मूलबाट क्रमिक रुपमा विच्छिन्न हुन्छ, तपाईंहरु जस्तो होइन । मैले अनेक डायास्पोरिक समुदायको अध्ययन गरेँ, यस्तै देखिन्छ— भारतबाट निस्केका भी.एस.नैपल बेलायती बनेर जीवनको अन्त्यकालमा नोबल पुरस्कार पाएजस्तै हो । सन् २०१८ का नोबल विजयी इशिगुरो बेलायती नै भए । उनका सन्तान जापान फिर्ने छैनन्, ती आफ्ना संस्कृतिमा पुग्दा पराई ‘एलिअन’ हुनेछन् । हाम्रा धेरै नेपाली तिनै पथमा छन् ।

हाम्रो स्थिति पनि त्यस्तै हो । संसारभरि छरिएका नेपालीका सन्तान भोलि डायास्पोरिक हुन्छन, नेपाली मात्र हुने छैनन; अझ ‘पिपल अफ नेपाली ओरिजिन’ हुनेछन् । त्यस स्थितिको लागि पनि हाम्रो भाषाबीज केही मात्रामा जोगाएर राख्न सकिएला कि भन्ने चिन्तामा तपाईंहरु हुनुहुन्छ । भोलि त सारा मिश्रिततामा परिणत हुनेछ । आज तपाईंहरुले भोगेको द्वैधता, दुविधा बिस्तारै मेटिँदै जानेछ । कति लाख अफ्रिकी आज अंग्रेज भएका छन् । विश्वका २०० मूल डायास्पोरा छन्, तिनैको इतिहासले यही भन्छ । तर यस्तो गुण (उभयवृत्तिता) हजारौँ वर्षले पनि भेट्न नसक्ने इतिहासको निर्माता मानिस हो ।

अनेसास दर्पण’ पत्रिकाका बारेमा यहाँका सल्लाह र सुझावहरु छन् कि ?

अघिका तीन–चार अङ्कमा मेरा पनि रचना छापिए । यता आएर यो कहाँ छ, कसले चलाउँछ, म सारा कुरामा अनभिज्ञ छु । संस्थाले सम्झे आफू पुगिन्छ नत्र छाप्ने ठाउँ खाँचो हुँदैन कहिल्यै । संस्थाले सम्झिन भ्याएन होला भन्छु, चित्त बुझाउँछु ।

भन्न मन लागेका र भन्न बाँकी कुराहरु छन् कि ?

त्यस्तो केही छैन । तपाईंहरुको अहिलेको परिचय नै अमेरिकामा हुर्किरहेको कलमीबोट फुल्न फल्न थालेपछिको स्थिति हो । संस्कृति र भाषाबेगर अर्थोकले केही गर्दैन । त्यसैले तपाईंहरु नित्यको द्वन्द्वमा बाँच्नुहुन्छ । यहाँको धर्तीमा कसरी टेक्न सिक्नु; साथै उताको कसरी नमेटियोस् भन्ने चिन्ता लिनु । अन्तिम त सबै इरेजर अथवा अन्तर्घुलित हुनु र मेटिनु नै हो । कति जाति कहाँ पुगे, कति सभ्यता कहाँ बनिए, कहाँ मेटिए ! हामी त यो ग्लोबल परिप्रेक्षमा एक सूक्ष्म झिल्का मात्र हौँ । विवेकले जति अह्राउँछ, जति सकिन्छ त्यही गरौँ । सारा कुरा छाडेर यसैमा लाग्न पनि सकिएन । डायास्पोरिक भूमीको भाषा–संस्कृति स्वरुप नित्य अस्थिर र परिवर्तनशील हुन्छ ।

यी प्रश्नको लागि धन्यवाद छ भाइ । उत्तरहरु यस्तै भए, मिलाएर बुझिदिनुहोला ।

प्रतिकृया दिनुहोस्