छोरालाई चिठ्ठी   —जेबी खत्री

छोरालाई चिठ्ठी

                             —जेबी खत्री

 

बोकेर एउटा मिठो सपना

परदेसिएको पनि धेरै भयो ।

अभावमा तन्नेरी मनहरू

अ“ध्यारो भएको छ गाउ“–घर

अब उघारेर छितिज

छरेर उज्यालो

झलमल पार्नु छ बस्ती

कान्छा यसपाली त घर आइज है ।

 

पाठशाला भत्किएर

अक्षरहरू पुरिएका गाउँ–बस्तीहरूमा

एक अञ्जुली उज्यालो मागिरहेछन् अझै

अभावमा हज्जारौँ मनहरू

पन्छाउँदै बाधा–अड्चन

गरेर एउटा दृढ सङ्कल्प

नपरी कुनै उल्झनमा अब

कोर्नु छ सुनौला अक्षरले

समृद्ध नेपालको नक्शा ।

कान्छा यसपाली त घर आइज है ।

 

बाँझै छन् गैरी खेतका गराहरू

गरेर खन–जोत र मल–जल

सि“चेर पसिनाले

अब सुन जस्तै धानका बाला फलाउ“नु पर्छ

कान्छा यसपाली त घर आइज है ।

 

पसेर भल–बाढी बारी पनि

धा“जा–धाँजा भएर चिरिएको छ ।

फुटाइ कान्ला टिपेर ढुङ्गा

सम्याइ गराहरू

यही माटोमा

अब सुन जस्तै मकैका घोगा फलाउनु पर्छ

कान्छा यसपाली त घर आइज है ।

 

उदास मन लिएर सुत्छ रात

आँखाभरि आँसु लिएर व्यूँझन्छ बिहान

धसेर घुँडा आफ्नै माटोमा

स्याउ,सुन्तला,नास्पाती र अम्बाहरू फलाउनु पर्छ ।

फाँडेर भस्मे

खनी–खोस्री रोपेर खुसी

भावी सन्ततिहरूका अनुहारमा

अब यही माटोमा

हिरा–मोती फलाउनु पर्छ ।

कान्छा यसपाली त घर आइज है ।

प्रतिकृया दिनुहोस्