टुकुचाको घाम
***********
एका बिहानै भुरर् उडे
एक हुल तन्नेरी चराहरू
अभावका यामहरू छल्न
जो स्वयंमा प्रभाती किरण थिए
टुकुचाको आकाशमा,बिथोलिँदै गएको वर्तमान
सम्भावित उज्यालो भविष्यका ।
यता
आँसु खसाइ रह्यो
बुढो पोथी
बुङ्गमतीकै लयमा
विष्णुमतीको ढाटबाट
आमाको मन न हो…
निकै बेर नियाली रही
दुर्गन्धित भुइँ
हिमानी आकाश छिचोल्दै
बैँसालु पखेटा फिँजाएर
उज्यालो टिप्न हिँडेका बचेराहरू ।
खोइ?
कहिले सङ्लिएला
कर्णालीको भोक
कोशीको डुबान
टुकुचाको मुहान
धेरै भयो नालापानीको वीरता रटेको पनि
झन् झन् बल्झिँदो छ कालापानीको घाउ
बुद्ध-शान्ति
कोत पर्व र सशस्त्र क्रान्तिको प्रयोगशालामा
रगतको त्रिशूली छादेर ।
सर्पले
रजश्वला भन्दैन,मान्छे जस्तो
छोइदिन्छ छाउ-गोठमा सुतेकी छाउपडी
र त,
निदाइ रहन्छ ऊ ।
कहिले न उठने गरी
दाह्रा किट्छ जड संस्कार…
समाज रूपान्तरणको पेरिफेरिबाट ।
बडा मिहेनतले
सुन्दर संरचना बनाउँछ डकर्मी ।
मूर्ति कुँद्छ शिल्पकार
अनि अछूत बन्छ ऊ
जब मन्दिर बन्छ,सुन्दर संरचना
भगवान बन्छ मूर्ति
भेदी रहन्छ मानवताको मुटु,
विभेद विहीन समाजको परिकल्पना ।
दुई केजी चामल किन्न
सिमापारी धाउँछ अचेल
हिजो-अस्ति धान बेच्ने किसान
आत्मनिर्भरतामा नयाँ आयाम थप्न ।
शान्ति,समृद्धि र विकासको
सामुहिक गीत गाइरहेको छ
बागमती किनारमा छरिएका
खालीशीशी,पुराना कागज
केलाइरहेका कवाडी संकलक दाइको
सद्दे रेडियो ।
यसपछि पालो
व्यापारिक विश्रामको
अनि सुरु हुनेछ कार्यक्रम
“बदलिँदो युग”
प्रदेशिएका तन्नेरी चरा घर फर्किएपछि

मुस्कुराउने छ,हिमाली हिउँ झैँ
प्रभाको पहिलो किरण
टुकुचासँग चिडिएको घाम
अब उप्रान्त
कहिल्यै नअस्ताउने गरी
उदाउने छ……
टुकुचाको घाम ।
टुकुचाको घाम ।।
✍️एमपी पाण्डे
बान्नीगढी,जयगढ गाउँपालिका,वार्ड नं ३ अछाम।

प्रतिकृया दिनुहोस्