(कविता)  आमा   गोमा रेग्मी (छन्द: उपजाति)

(कविता)

आमा 

गोमा रेग्मी
(छन्द: उपजाति)

 

के शब्द लेखी गुणगान गाऊँ
वात्सल्य तिम्रो कसरी बताऊँ
निःस्वार्थ सेवा, अनमोल माँया
आमा तिमी शीतल छत्रछाया।।

नौ मास तिम्रो प्रिय कोखभित्र
बोकेर यो जन्म दियौ विचित्र
संसार सारा जति हुन् तमाम
कोही हुँदैनन् जननी समान।।

स्याहार सम्भार गरी बढायौ
यी हात थामी कखरा पढायौ
दियौ सुधा ज्ञान सुकर्म सारा
आमा तिमी हौ गृह पाठशाला।।

खानी तिमी हौ करुणा दयाकी
सद्भावनाकी र सहिष्णुताकी
दृष्टान्त हौ त्याग र धीरताकी
सम्पूर्णताकी र पवित्रताकी।।

न्यानो गरी ताप दियौ मलाई
नदी बनी दूध दियौ पिलाई
हावा बनी प्राण दियौ तिमीले
धर्ती बनी काख दियौ खुसीले।।

आमा तिमी जीवन सार मेरो
तिमीविना लाग्छ जगत् अँध्यारो
पाऊँ सधैँ काख र साथ तिम्रो
पूरा गरौँ लक्ष्य र चाह तिम्रो।।

देवी तिमी हौ व्रत तिर्थ आमा
मेरी तिमी मन्दिर दिव्य धाम
प्रणाम गर्दैछु सहर्ष आज
अर्पिन्छु यो आदर भक्ति साथ।।
समाप्त।।

 

# तनहुँ, नेपाल
हाल : लिस्वन, पोर्चुगल

प्रतिकृया दिनुहोस्