(कविता) विचारको नक्शा  –कमला तामाङ

विचारको नक्शा

–कमला तामाङ

बन्द आँखामा
फगत देखावटी नक्शा
अनुहारमा टाँसी
सिरानीमा अडेस लागेर
एउटा जाबो टाउकोभित्रको
अस्थिर मस्तिष्कले दौडाइरहन्छ
विचारका दिशाहीन निरंकुश घोडाहरू
मानौं
अश्वमेध यज्ञको
विचारहरूको एक हूल छोडिएका अश्व
साम्राज्य विस्तारमा निसक्केका हुन् ¤
यी अश्वहरूले
डाक्दैछ एउटा ठूलो परिवर्तन ¤
जब समयका हातले समात्लान्
यिनका लगाम
तब होला भीषण युद्ध
र आउलान् परिवर्तनको परिवेश ।

चेतनाको डिल भत्काएर निस्केका
बेलगाम घोडाको टापले ब्यूँझिएपछि
हेर्दैछु आशाको घाम अस्ताएको
मधुरो आकाश ।
र कोर्न प्रयास गर्दैछु विचारहरूको
नक्शा ।
घाम छैन,
त्यसैले इन्द्रेणी पनि छैन
इन्द्रेणी छैन
त्यसैले रङ्कहरू पनि छैनन्
ठीक यतिबेला म
बन्द आँखाको रातो क्यान्भासमा
विचारहरूको
निरंकुश कालो रङ्क घस्दैछु ।

 

# मिरिक, दार्जीलिङ
७ सेप्टेम्बर २०२२

प्रतिकृया दिनुहोस्