(कविता) भाँडेर आफ्नै घर राजेन्द्र श्रेष्ठ ‘राज”
(कविता)
भाँडेर आफ्नै घर
राजेन्द्र श्रेष्ठ ‘राज”
( छन्द-शार्दूलविक्रीडित)
बारम्बार लुछाचुँडी र फुटले बण्डा गरे देश यो
स्वार्थैस्वार्थ बढ्यो अपार गतिले नेतृत्व निष्काम भो
रित्तो भो सबले लुटेर ढुकुटी, बाँकी रह्यो चोकर
हाँके देश सधैँ अयोग्य पथमा भाँडेर आफ्नै घर ।१।
लुट्दैछन् बलले हरेक पथमा भोका र प्यासासरि
कुर्लिन्छन् बलियाहरू असकको आवाज रोक्का गरी
लाजै छैन इमान इज्जत यहाँ सारा बनाए पर
मारामार हुँदै गयो हरघडी भांडेर आफ्नै घर ।२।
निष्ठा संकटमा इमान छलमा, बिर्सेर आफ्ना जन
धेरै नै अपराध भो मुलुकमा टाढा भए सज्जन
कुर्सीको अति चाहना हुन् गयो औचित्य कस्को छ र?
झुक्दैछन् पर देशका चरणमा, भाँडेर आफ्नै घर ।३।
जस्ले भाड्छ समाज एक धुनमा,भाड्ला सधैँ सन्तति
जसले लुट्छ सिधै छिरेर ढुकुटी, खप्ला खुदैको क्षति
बाला वृद्ध युवा अशक्त सबमा फैलाइ रोजै डर
बेच्दै छौ जननी लुटी सबकुरा भाडेर आफ्नै घर ।४।
आफ्नै देश धुजा बनाइ सबको बाली उजाद्छौ भने
केको आश तिमी सदैव जनमा जुत्ता बजार्छौ भने।
छाहारी बलियो उदार मनले सेवा गरे हुन्न र ?
कुर्सी मात्र जपी रह्यौ दिनदिनै भांडेर आफ्नै घर।५।
जाली भ्रष्ट तथा विषाक्त ननिका बोली बतासे बनी
बन्लान् सागर झैँ अपार जनता ल्याई सुनामी पनि,
भाषा भेष भुल्यौ भुल्यौ कसम नै सामीप्य नाता पर
झर्दैछौ तल साँगुरो हृदयले भांडेर आफ्नै घर।६।
#न्यूयोर्क