साहित्य आफ्ना मनका विचारहरु पस्कने एक सशक्त माध्यम हो # पदम विश्वकर्मा

साहित्य आफ्ना मनका विचारहरु पस्कने एक सशक्त माध्यम हो

-पदम विश्वकर्मा

अन्तर्वार्ताकार: लालगोपाल सुवेदी

यहाँको आफ्नो साहित्य यात्राबारे हामीलाई जानकारी गराइदिनुहोस् न ।

हाइस्कुलमा आयोजना हुने कविता, निबन्ध प्रतियोगिताहरुमा प्रथम, द्वितीय भई हातभरि पुरस्कारहरु च्यापेको दिनको याद अझै ताजा छ । राष्ट्रियस्तरमा आयोजित निबन्ध प्रतियोगितामा तेस्रो पुरस्कार प्राप्त गर्दाको रमाइलो क्षण पनि अझै सम्झना आउँछ । कलेजकालीन कविताहरु काठमाडौंमा पटक पटक डेरा सर्दा थुप्रै हराएकोमा दु:ख लागिरहेको छ । काठमाडौंबाट प्रकाशित हुने साहित्यिक तथा अन्य फुटकर पत्रपत्रिकाहरुका कविताहरु थुप्रै प्रकाशन भएका थिए । विदेश आइपुगेपछि भने यहाँको व्यस्त जीवन, पारिवारिक व्यवस्थापनमा केही समय लागेकोले कविताहरु लेखिए तापनि प्रकाशन गर्न सकिएको थिएन । प्रकाशनका हिसाबले शब्द सुमन कविता संग्रहको रुपमा २०१४ सालमा प्रकाशन भएको हो । त्यसपछि भने तमसुक कथासंग्रह र क्वारेन्टाइन उपन्यास प्रकाशनमा आएको धेरैलाई विदितै छ । 

यहाँको विचारमा साहित्य के हो ? यहाँले कलम चलाउनुभएका साहित्यका विधाहरूलाई कसरी परिभाषा गर्न मन पराउनुहुन्छ ?

साहित्य आफ्ना मनका विचारहरु पस्कने एक सशक्त माध्यम हो, जसले सशक्त रुपमा सन्देश प्रवाह गर्न सकोस् त्यही नै साहित्य हो । 

म खासगरी कविता विधाबाट नेपाली साहित्यमा प्रवेश गरेको हुँ । हालसम्म कविता, कथा र उपन्यासमा कलम चलाउँदै आएको छु । लेख्न त नियात्रा र निबन्धहरु पनि लेखिएका छन् । कविता, छोटकरीमा सूक्ष्म रूपबाट अभिव्यक्त गर्न सकिने माध्यम हो भने कथा कुनै विषय वस्तुलाई व्याख्यात्मक हिसाबले लेखिएको आख्यानात्मक रचना हो जसमा जीवनको कुनै एक कालखण्डलाई अभिव्यक्त गर्न सकिने विधा हो । उपन्यास एउटा लामो व्याख्यात्मक शिल्पीमा लेखिने आख्यान हो । जसले जीवनको लामो कालखण्ड समेटेको हुन्छ । व्याख्यान विस्तार गरेर कथावस्तुलाई लम्ब्याएर लेखिने विधाको रुपमा उपन्यासलाई लिन सकिन्छ । 

हिजो र आजको सिंगो नेपाली साहित्यलाई कसरी मूल्यांकन गर्नुभएको छ ?

वर्तमानमा नेपाली साहित्यको अवस्था र यसको भविष्य सुन्दर देखेको छु । नेपाली साहित्य पढ्ने, लेख्नेहरुको संख्या दिनदिनै विस्तार भइरहेको छ । पाठकमात्र बृद्धि नभएर लेखकहरुको संख्या पनि उत्तिक्कै उल्लेख्य रुपमा बृद्धि हुँदै गएको पाउन सकिन्छ । वर्षेनी सयौं कृतिहरु प्रकाशन भएका छन्, ती मध्ये केही उत्कृष्ट कृतिहरु पनि अवश्य छन् । पूर्णकालिन लेखकका रुपमा थोरै मात्रै लेखकहरु नभएपनि उनीहरु सन्तुष्ट रहेको अनुभूति हुन्छ । विदेशमा पनि राम्रा साहित्यिक कृतिहरुको निकै माग छ । यसको बजार व्यवस्थापनमा ब्यापक बनाउन सके, उत्कृष्ट कृतिहरुको अनुवाद हुन सके अझ उत्तम हुन सक्ने महसुस गरिएको छ ।

 घरदेश र परदेशको नेपाली साहित्यको गति र गुणस्तरीयतालाई कसरी हेर्नुभएको छ ?

घरदेश त आफ्नो मूल ठाउँ नै भयो जहाँ धेरै वर्ष पहिलादेखि नै सरकारी र निजी क्षेत्रबाट नेपाली भाषा र साहित्यको उन्नयनमा धेरै काम भइरहेको छ । परदेशको नेपाली साहित्य भने विस्तारै अग्रसर देखिन्छ । परदेशको नेपाली जनजीवन केही वर्षअघि मात्रै आरम्भ भएकोले पनि यसको लामो इतिहास छैन । तर परदेशमा पनि नेपालबाट परदेश आइपुगेका साहित्यकारहरु, यतै लेखनकार्य आरम्भ गरेका लेखकहरु र लेख्न छुटेका लेखकहरुको संख्या दिनानुदिन बृद्धि हुँदै गइरहेको पाइन्छ ।

हालका दिनहरुमा परदेशबाट पनि स्तरीय कृतिहरु लेखन र प्रकाशन हुन थालेका छन् । परदेशमा नेपाली साहित्य लेखनको व्याख्या परिमार्जन हुन आवश्यक छ । नाम कमाएपछि साहित्य लेख्ने र धन कमाएपछि साहित्यमा लाग्नेको रुपमा विदेशका लेखकहरुलाई गरिने व्याख्याले पक्कै विदेशमा बसेर कलम चलाइरहेका लेखकहरुको मन काटिन्छ भन्ने लाग्छ ।

घरदेशको साहित्यले परदेशको साहित्यलाई गर्ने व्यवहार, सम्बोधन र परिभाषामा परिवर्तन आउन जरुरी देखिएको छ । यसको अतिरिक्त परदेशमा नेपाली साहित्यलाई माया गर्नेहरुको संख्या व्यापक भएसँगै साहित्यिक संस्थाहरुको स्थापना, गतिविधिहरुले नेपाली साहित्यलाई घरदेशमा जस्तै परदेशमा पनि उत्तिक्कै सकरात्मकरुपमा लिन थालिएको छ ।

अबको अनेसास कस्तो होस् र यसले कस्ता कस्ता काम गरोस् भन्ने चाहना राख्नुभएको छ ?

अनेसासले वयस्क उमेर पार गरिसकेको छ । यसका अपेक्षा बढ्दो रुपमा विकसित भइरहेका छन् । च्याप्टरहरुको विस्तार, ट्रष्टी र आजीवन सदस्यहरुको व्यापकता र बढ्दो लोकप्रियताले संस्थाको भूमिकालाई अझ व्यापक पारेको छ । संस्थाको आफ्नै भवन आजको अपरिहार्य रहेको छ भने सबल अनेसास, पारदर्शी अनेसास र सशक्त अनेसास अबको अपरिहार्यता रहेको छ । यसका अतिरिक्त बढ्दो मात्रमा माग रहेको नेपाली साहित्यको अनुवाद, नेपाली साहित्यको विश्वव्यापीकरण, बालबच्चाहरुका लागि नेपाली पाठशालाहरुको सञ्चालन, विदेशी विश्वविद्यालयहरुमा नेपाली साहित्यको अध्ययन र अध्यापन आजको समयको माग हो भन्ने लाग्छ ।

 ‘अनेसास दर्पण ‘पत्रिकाका बारेमा यहाँका सल्लाह र सुझावहरु छन् कि ?

अनेसास दर्पणले अनेसासका गतिविधिहरु, साहित्यिक रचनाहरु प्रकाशन गर्दै आएको छ । खासगरी अनेसासको मुखपत्र अन्तर्दृष्टि सबैका सामु पुग्न असहज अवस्थामा अनलाइन मार्फत यसका गतिविधिहरुको जानकारी सर्वसाधरणमा पुर्याउने उद्देश्यका साथ अनेसास दर्पण आरम्भ गरिएको थियो । विगत ६ अंकसम्म अनेसास केन्द्रको वेबपेजमार्फत दर्पणलाई पिडिएफ भर्सनमा पाठकहरूले पढ्ने अवसर पाए भने ७ अंक राष्ट्र्कवि विशेषाङ्कको रूपमा मुद्रण गरिएको थियो । त्यस कार्यलाई महत्त्वपूर्ण कार्यको रूपमा लिएको छु । यसका लागि अनेसास दर्पणका निवर्तमान  प्रधान सम्पादक तपाईं लालगोपाल सुवेदीलाई  हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अहिले अनेसासका अध्यक्ष गोवर्द्धन पूजा प्रधान सम्पादक तथा रमेश दाहाल कार्यकारी सम्पादक एवं विमला निराैलालगायत अनेसासका अनुभवी साथीहरू सम्पादन मन्डलमा रही अनेसास दर्पणलाई साहित्यक अनलाइन पत्रिकाको रूपमा परिष्कृत गरिएको कार्यले अत्यन्त हर्षित भएको छु । अब अनेसास दर्पण सम्पूर्ण अनेसास परिवार तथा आम साहित्यक स्रष्टा एवं पाठकहरूको हरपलको साथी भएको छ । आगामी दिनमा यसको गुणस्तरियता र निरन्तरताको कामना गर्दछु । यसका लागि अनेसासका वर्तमान नेतृत्व गोवर्द्धन पूजालगायत अनेसास कार्यसमिति एवं निरन्तर अनेसासको प्रकाशनमा सहयोग गर्दै आएका यसका कार्यकारी सम्पादक रमेश दाहाललाई  बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

यहाँलाई भन्न मन लागेका र भन्न बाँकी कुराहरू छन् कि ?

अनेसासको वर्तमान कार्यसमितिले निकै सराहनीय कार्य गरेको छ । आउँदो मार्च १०-१२ मा अनेसास च्याप्टर सम्मेलनको घोषणासमेत भइसकेको छ । वर्तमान कार्यसमितिलाई सफल कार्यकालको लागि हार्दिक शुभकामनासहित च्याप्टर सम्मेलन भव्य रूपमा सम्पन्न गरी सम्मेलनबाट अनेसासलाई सबैको अनेसास बनाउने निति तथा कार्ययोजनासहित अगाडि बढोस् भन्ने कामना गर्दछु ।

जय नेपाली भाषासाहित्य ! जय अनेसास !!

प्रतिकृया दिनुहोस्