(कविता) मेरो एउटा साथी छ # रमेशराज पौडेल
मेरो एउटा साथी छ
# रमेशराज पौडेल
मेरो एउटा साथी छ,
ऊ म भन्दामाथि छ ।
ऊ धनको दुनियाँमा रमाएको छ
म मनको दुनियाँमा हराएको छु।
ऊ र म मा धेरै फरक छ
ऊ भू-स्वर्गमा जन्मिएको छ।
ऐश ऐश्वर्यले रमेको छ।
उसले साथी भनेर चिन्दैन
नाता भनेर गन्दैन ।
सँगै धुलो हिलोमा खेलेको बिर्स्यो,
फिता छिनेको चप्पल बिर्स्यो,
सँगै हिडेका उकाली ओराली बिर्स्यो,
पाती चढाउने देउराली बिर्स्यो।
उसलाई टकटकाउने सहर छ,
म बाँचेर देख्ने रहर छ।
उसको जीवन फुलोस फलोस्,
मेरो पनि यस्तै चलोस्।
कहिले कसो देखिने तस्वीर बिझाउछन,
तँ त मरिस भनेर गिज्याउछन।
उसलाई एक सेकेन्ड फुर्सद छैन रे,
सन्चो बिसन्चो सोध्न पनि भ्याउन्न रे,
साथी तिम्रो र मेरो दुनियाँ यस्तै रहेछ !
तिम्रो र मेरो आत्मियता कहाँ सकिएछ ।
सम्झने होइन साथी दु:ख बढ्छ,
बिर्सेकै राम्रो छ टन्टै हट्छ ।
बिर्स्यौ बिर्स साथी तिम्रै दुनियाँमा,
म त सम्झी सपनीमै हराउने मा ।