(नयाँ पुस्तक)  मननीय मुक्तकको सगाँलो

मननीय मुक्तकको सगाँलो

 

# चारवर्ष अघि टोकियो विमानस्थल जाने बसमा स्व. प्रकाश घिमिरे र मलाई चढाएपछि विदाइको हात हल्लाउने एउटा प्रेमिल अनुहारले धेरैबेर पछ्याइ रह्यो । दुई घन्टा एअरपोर्टमा हामी दुई भाइले सम्झनुपर्ने नामहरू सम्झिरह्यौँ । अनेसास च्याप्टर सम्मेलनभरि खटिएर साहित्यकारलाई सम्मान गर्ने र सम्वन्धको डोरी बाट्न चाहनेहरू एकपछि अर्को गर्दै आइरहे ।
हो , त्यहीबाट सुरू भएको एउटा सम्वन्धको यात्रा ।
मुक्तककार के बि पारखीसँगको ।
चारवर्षदेखि हाम्रो साहित्यिक सम्वन्ध एकनाशको छ । हामी दुवै अनेसासको ठूलो परिवारमा आवद्ध छौँ ।
# सम्वन्धको यो वहावमा हामीले एक अर्काको सिर्जना- सुवास लिइरह्यौँ । उनको मुक्तक प्रतिको मेरो आकर्षण बढ्दै गयो ।
र यतिखेर उनको मनको मन्दिर मुक्तक सङ्ग्रह आगमनको खुशीले मेरो मन गद्गगद भएको छ ।

###
मुक्तक, नेपाली साहित्यको कविता विधाको चोटिलो र रसिलो सर्वप्रिय विधा हो । कवि सम्मेलनमा दर्शक- श्रोतालाई आकर्षण गर्ने विधाका रुपमा मुक्तक वाचन गर्ने परम्परा छ ।
लामो इतिहास बोकेको मुक्तकले यतिखेर विभिन्न संरचनात्मक स्वरूपको काँचुली फेर्दै चतुष्पदीय संरचनात्मक आकृति अँगाल्ने मानक स्वीकृति बोकेको छ ।
# मलाई लाग्छ , मुक्तकको पछिल्लो र मानक स्वरूपलाई अघि बढाउन लागि परेका सर्जकको माझमा केबी पारखीको समुपस्थितिलाई अत्यान्तै आशालाग्दो र जिम्मेवार उपस्थितिका रूपमा हेर्न सकिन्छ ।
# जीवनका आरोह- अवरोह, सामाजिक विकृति- विसंगति, प्रेम- कुण्ठा र कुठाराघात, प्रवास गमनको कारण र देशप्रतिको माया, राजनीतिक विकृतिको पराकाष्ठालगायतका विविध विषयमा सिर्जित पारखीका मुक्तक पठनीय मात्र छैनन् मननीय पनि छन् ।
### ###
मलाई मन पर्यो ।
मजस्तै पाठकलाई मन पर्छ भन्ने विश्वासमा छु ।
आशा छ, मुक्तक अध्येता र पारखीलाई मात्र हैन ,मुक्तकलाई समलोचकीय नजरबाट हेर्नेहरूका लागि पनि पारखीको ‘मनको मन्दिर’को ढोकाले स्वागत गर्ने छ ।
सिर्जनशील जीवनको लागि मेरो हृदयभरिको शुभकामना !!!

 

– गोवर्द्धन पूजा

प्रतिकृया दिनुहोस्