(कविता)  प्रभा भट्टराई आचार्य      परदेशबाट पत्र

(कविता)

प्रभा भट्टराई आचार्य

परदेशबाट पत्र

 

अघिल्ला सबै पत्र पायौ कि आमा ?
सिरानी भिजाई निदायौ कि आमा !
कि भक्कानियौ सास रोकेर लामो ?
मसी पग्लिँदा बाँध लायौ कि आमा !

जहाँ औषधी बन्दथ्यो स्निग्ध हात,
बिसन्चो हुँदा खट्दथ्यौ रात–रात !
म ता काखमा मस्त घुर्थेँ, र तिम्रो
झपक्कै नभै नेत्र हुन्थ्यो प्रभात !

तिमी स्वप्नमा मुस्कुराएर आयौ,
लिई काखमा फेरि लोरी सुनायौ !
निकै बर्षमा त्यो मिल्यो काख प्यारो,
म लठ्ठै थिएँ झट्ट आयौ बिलायौ !

सधैँ स्वप्नमा त्यै धरामा म हुन्छु,
र ब्युँझेर भक्कानिँदै नित्य रुन्छु !
तिमी छौ बिरामी अरे ! फेरि आमा,
म यस्तै नमीठा खबर् मात्र सुन्छु !

बिरामी प¥यौ ? सोध्छु, सञ्चै छु भन्छ्यौ !
मलाई खुशी पार्न पीडा सहन्छ्यौ !
तिमी जान्दिनौ राम्ररी भूmट बोल्न,
लुकाई सबै आँशु हाँस्दै रहन्छ्यौ !

तिनै हात डो¥याउँथे तातिताती,
म डुल्थेँ बसेरै तिनै काँधमाथि !
तिमी लड्खडायौ अरे ! खै सहारा ?
भनी सोध्दछन् आज साथी–सँगाती !

गिजोल्छन् यहाँ संझनाका तरेली,
सधैँ प्रश्न गर्छन् भिजेका परेली,
यसै आत्तिँदै, दौडिएँ वा धपायो,
उसै बाध्यताले धकेली–धकेली ?

यहाँ चाड हुन्नन्, कुनै पर्व हुन्नन्,
“गरेँ काम” भन्ने कुनै गर्व हुन्नन् !
बडो शुष्क, रूखो छ पात्रो यहाँको,
जहाँ चाह, उल्लास, उत्सर्ग हुन्नन् ।

 

त्यहाँ झैँ न ता धेर आफन्त हुन्छन्,
मलामी न हुन्छन्, न ता जन्त हुन्छन् !
छ संसार बेग्लै, अनौठो यहाँको,
न ता शब्दका साथमा अर्थ हुन्छन् !

म फर्कन्छु आमा ! तिमी पर्खिराख,
छ संसारमै उच्च त्यो स्निग्ध काख !
त्यही साग–सिस्नो छ प्यारो मलाई,
म गर्नेछु संघर्ष, बन्दै चलाख !

ताहाचल, काठमाण्डौँ ।

प्रतिकृया दिनुहोस्