( कविता)     आगो ओकल्नेहरू  – भीम कार्की

( कविता) 

  आगो ओकल्नेहरू

भीम कार्की

 

आगो ओकल्नेहरू
ओकलिरहेकै छन
सदाकालदेखि
आगो ओकल्नु
काम हो उनीहरूको

उनका खोपिका कोही
उनलाई भैरव देख्छन्
कोही महादेव
वरिपरि जगत
जलि रहन्छ
र पनि सबैथोक सामान्य
चलिरहन्छ

खोपिहरूमा आँखा चम्किन्छन्
छाँया सलबलाउछन्
समय भने
आगो ओकल्नेहरूको
पूजामा व्यस्त हुन्छ

फूल बगैचा मासिइन्छन्
धुप नैवेध चढाइन्छन्
जसरी, वलि दिइने
बोकाको कहिल्यै कुनै कथा बन्दैन
जसरी, जोसँग खुडा छ
मात्र उसको जयजयकार हुन्छ
त्यसरी नै, आगो ओकल्नेहरू
ओकलि रहन्छन्

वरिपरि समय सल्किरहन्छ
सबैथोक यसरी नै चलिरहन्छ

# टेक्सास, अमेरिका

प्रतिकृया दिनुहोस्