(गीत)     डा. मुकुन्द पथिक

(गीत)

 

डा. मुकुन्द पथिक

कसले गर्यो आकाशमा, कपासको खेती ?
हेर्दाहेर्दै नाच्नथाले, राम्राराम्रा केटी ।

रूप धेरै फेर्न थाल्छन्, बादलुको जात
जवानीमा लाग्दो रै’छ, नौलानौला मात
कैले सेतो कैले खैरो, कैले रातो कालो
बादलसँगै रमाउने, आयो हाम्रो पालो ।

वर्षा लागे मडारिन्छ, बादलका ताँती
माया दिँदा बढ्दो रै’छ, छोराछोरी नाति
जता हेर्यो स्वार्थै स्वार्थ, फोहोरको खेल
बिना पानी उर्लिदिन्छ, मनभरि भेल ।

दुःख पर्दा टाढा हुन्छन्, सुख पर्दा जाती
आफूलाई पर्दाखेरी, पिट्नथाल्छन् छाती
रात गए दिन आउँछ, दिन गए रात
दुई दिने जिन्दगी यो, हाँसौं एकै साथ ।

कसले गर्यो आकाशमा, कपासको खेती ?
हेर्दाहेर्दै नाच्नथाले, राम्राराम्रा केटी ।

०००

प्रतिकृया दिनुहोस्