मौनता # विमला निराैला
मौनता
मौनता अर्थात् चुप बस्नु भनेको बोल्न नसक्नु पक्कै होइन,
चुप बस्नु कमजोरी र बाध्यता पनि होइन,
चुप हुनु न कुनै हार नै हो !
प्रिय महोदय \ महोदया,
नसम्झनुस् कदापी चुप हुनु अघोषित स्वीकृत पनि |
गल्ली चोक छेउ र कुना कुनामा निस्सार जन्तुहररू
सुँघ्दै पछि पछि लागे पनि
नैतिकता नबुझ्नेले खुट्टाकै लाम्टो ताने पनि
एक विवेकशील मनु न त उ सँगसँगै भुक्न खोज्छ
न त उस्को चौटामा ध्यान |
चुप हुनु र मौनता आफैंमा विजयको प्रतीक हो अनि सम्मान !
कसैको सुगा रटाइबाट पोखिएका क्षेपहरु
अनि छुँदैन धारे हातको छुद्रताको प्रहारहरूले
यस्ता अमर्यादित व्यवहार र वैरत्वले
बरु स्वयंको सिङ्गो अन्तरहृदयमा उच्छेद गरिरहेको हुनेछ |
अरूतिर रछान फाल्न खोज्दा आफ्नै हात दुर्गन्धित भैरहन्छ
फर्किएर आफ्नै सुन्दर मुहार ढाकेर
आफू नै आफ्नै नाक र नजरभन्दा टाढा बस्नुपर्ने विवशता
अनि आफ्नै दृष्टिसँग झुकेर नजर ,
भतभति पोलेको हृदय र दनदनी जलेको मन
कर्मको वहीखातामा केवल विलाप मात्र रहने छ |
लम्किएको हात्ती झैं जीवनका लक्ष्यहरू
झिना मसिना तगाराहरूलाई पछार्दै
सत्कर्मले खियाउँदै कर्तव्यका नाउहरू
यो भीमकाय उद्देश्य बढ्नेछन् निरन्तर आकाश ढाकेर
चन्द्रमाको फेरोलाई परिक्रमा गर्दै विजयको शङ्खनादसँगै
भेट्ने छ सुनौलो बिहानी र रमाउने छ विजयोत्सवहरू बीच |
चुप बस्नु सहनु कदापी होइन बरु रोपिनेछन् प्रेमका बीजहरु
उम्रिँदै भातृत्वहरु, झाँगिनेछन् सद्भावका लतिका
फक्रिनेछन् विश्वासक गुलाफहरू !
तर,
जब मौनताले सीमारेखा उलङ्घन हुन्छ
उर्लिन्छ अन्यौलताको खहरे, घुमाउने छ चोटहरूका भुमरीले
त्यो क्षत्-विक्षत् परिस्थितिले गर्ने छ कटाक्ष
भूकम्पले पछारेको धर्तीजस्तो
दुर्गाको पञ्जाका चण्ड-मुण्डजस्तो
समय बन्ने छ कालरात्रि र हुने छ असत्यको मैझारो ।