कविता :  सन्तान     प्रकाश खड्का “अभियान “

कविता :

सन्तान

 

प्रकाश खड्का “अभियान “

 

उमङ्गको सिंगो धर्ती सिँचेर

ढुङ्गामाटोमा नाङ्गो पैताला घिसार्दै

बैरीको बुट र थुक सहेर

धर्तीको ऋतु रङ्ग देखाउँछन् बाबाले

 

क्रन्दनको कालो बादल चिरेर

भोकको रापमा आत्मदाह गर्दै

असिनाको चुटाई खेपेर

खुसीको बिस्कुन देखाउँछिन् आमाले

 

आशाको मुना अङ्कुराउँछ

हृदयको गहिरा र अँध्यारो खोचमा

सङ्घर्ष र उज्ज्वल नक्षत्रको गाथा

सुन्छन् , सुनाउँछन् र आत्मवोध गराउँछन्

जीवनको दर्के झरी सहेर

इन्द्रेणी हर्ष उमार्छन्

 

जब एक निन्द्रा र एक छाकको लागि

अनिश्चित, विस्मात् लाग्ने बाटो

गधा जस्तै उदाङ्गो जीवन लिएर

तृष्णाको ज्वालामा कैद हुँदै गर्दा

निस्पट्ट अँध्यारादेखि अत्तालिएर

सन्तानले धिक्कार्छ ;

पालन, पोषण, र अनुशासनको देवतालाई

अनि ,कुशासनको हिरण्यकश्यपु देख्छ

विद्रोहमा उत्रिएका पदचापहरूले

महसुस गर्छ आइरहने बाध्यताहरू

र मरेका आकांक्षा ब्युँझन्छ शून्यतामा

 

आकृतिहरू पुनरावृति भैरहँदा

आफैले ठुँगेर घायल भएका जन्मदाताका भरोसा

सङ्ग्लो पानी जस्तै संग्लीएका त्यागका कथाहरू

छाल जस्तै छचल्किन्छन्

पश्चातापमा जलेर पसिनाले धुन्छ चरणकमल

र ब्युँताउन खोज्छ घाइते मुटुमा जीवनहरू

 

जीवनको कुरुक्षेत्र जित्न,

आशीर्वादको बिटो लिएर

संस्कारको डोरामा आफूलाई उन्दै

चक्रव्यूह तोड्ने हिम्मत र कला ;

सिक्छ, सिकाउँछ र सिक्न प्रेरित गर्छ

बरु चोइटिन्छ कैयौँ पटक,

तापनि सम्झौता गर्छ

बस् सन्तानको खुसीको लागि।

 

 

: भक्तपुर, हाल बोस्टन ,अमेरिका

प्रतिकृया दिनुहोस्