सम्माननीय राष्ट्रपतिज्यूबाट अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं, ’गैरआवासीय नेपाली सङ्घ’को ’भाषा तथा साहित्य समिति’ले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार रुइवा उपन्यासका लागि लेखक चेतनाथ आचार्यलाई प्रदान गरिएको छ । राष्ट्रपतिको कार्यालय, शीतलनिवासको सभाहलमा भएको कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट उक्त पुरस्कार आचार्यलाई प्रदान गरिएको हो ।


गैरआवासीय नेपाली सङ्घको ’भाषा तथा साहित्य समिति’ले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ’अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दछ । पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ’संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो ।


पुरस्कार समारोहमा प्रमुख अतिथि तथा अतिथिहरुको स्वागत र पुरस्कारको विषयमा पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले मन्तव्य राख्नुभएको थियो ।

 
गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष बद्री केसीले भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि पुरस्कार स्थापना गरेको बताउँदै गैरआवासीय नेपाली संघ र भाषा तथा साहित्य समितिको गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो भने अध्यक्ष कुल आचार्यले विदेशमै बसेर नेपाली साहित्यमा कलम चलाई कृति प्रकाशन गर्ने लेखकलाई यो पुरस्कारबाट पुरस्कृत गरिने हुँदा नेपाली भाषा साहित्य संरक्षणका लागि पुरस्कारको ठूलो महत्व रहेको बताउनुभयो ।


त्यसैगरी पुरस्कृत व्यक्तित्व चेतनाथ आचार्यले सत्य घटनामा आधारित रुइबा उपन्यासको विषयवस्तुमाथि चर्चा गर्दै उपन्यासकी मुख्य पात्रलेझैँ अनेकौँ देशमा बन्दी हुन पुगेका त्यस्ता पात्रहरुको संरक्षणका लागि पुरस्कार रकम प्रयोग गरिने घोषणा गर्नुभयो । उहाँले उपन्यासले पाएको यस पुरस्कार र त्यसमाथि पनि सम्माननीय राष्ट्रपतिज्यूको हातबाट पाउनुले आफूलाई अहोभाग्य महसुसका साथै थप चुनौती थपिएको कुरा व्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गैर आवासीय नेपाली संघले नेपाली भाषा साहित्य कला संस्कृतिको संरक्षण सम्वद्र्धनका लागि गरेका कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यहरुको निरन्तरता तथा पुरस्कृत व्यक्तित्वलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

साहित्यकार भगवती बस्नेतले संचालन गरेको उक्त समारोहमा भाषा समितिका पू. अध्यक्ष गोविन्द गौतम, साहित्यकार तथा सञ्चारकर्मी रमेश पौडेल, गैर आवासीय नेपाली संघ अफ्रिका शाखाका अध्यक्ष दिपक कर्ण साहित्यकार÷सम्पादक रमेश दाहाललगायत दर्जनौँ व्यक्तित्वको उपस्थित रहेको थियो ।

प्रतिकृया दिनुहोस्