एक लाखको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता”

-तारा अधिकारी (निकेशा)

हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता” गर्ने जनाएको छ ।

उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय आगामी २०८० भदौ १५ गतेसम्म तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नुभएको पत्रमा उल्लेख भएको छ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवीहरु हेम पाठक र सरिता पाठकले सो रकमको व्यवस्था गर्नुभएको हो । यसअघि पनि एक लाख रकमको “भ्रष्टाचार विरुद्धको कविता प्रतियोगिता” घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरु प्रदान गर्दै आएको छ । यस्तै नेपालमा स्कुल संचालन, विपन्नबर्गको लागि घर निर्माण र आयमुलक कार्यक्रमको लागि रकम अनुदान तथा अमेरिकामा गरीब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

फाउन्डेसनले जनाएअनुसार गीतको विषय सन्दर्भ  भ्रष्टाचार विरूद्ध चेतना जगाउने खालको हुनुपर्नेछ । यस प्रतियोगितामा भाग लिन गीत पठाउने नियम रहेका छन्-

१. आफ्नो गीत इमेलमार्फत पठाउनुपर्नेछ ।

२. गीत रेकर्ड गरेको हुनुपर्ने ।

३. कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको पाइएमा त्यस्ता गीतहरू स्वत: अस्वीकृत हुनेछन् ।

४. एकजना गीतकारले एउटा  मात्र गीत पठाउन सक्नेछन । एकभन्दा बढी आएमा स्वतः  बदर हुनेछन् ।

५. गीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

६. प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वत: अस्वीकृत हुनेछ ।

७. प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

८. गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म हुनेछ। ९. पुरस्कार : नगद एक लाख रकम (प्रमाणपत्रसहित) हुनेछ।

१०. यो प्रतियोगिता उत्कृष्ट शब्दको लागि मात्र हुने स्पष्ट गरिन्छ ।

उल्लिखित १० नियमलाई पालना गरी भ्रष्टाचारविरुद्धको गीत हेम सरिता फाउन्डेशनको कार्यालयको इमेल ठेगाना [email protected] मा पठाउन सकिने यस प्रतियोगीताको आयोजक हेम सरिता पाठक फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्