बाटाहरू र बा
पुरुषोत्तम सापकोटा
                    
 
मेरो आँगनबाट 
बाहिर निस्कने धेरै बाटाहरू छन्,
तर फर्कने केवल एउटा मात्रै !
 
जस्तै,
छोरीको छुनुमुनु स्कूल जाने बाटो
श्रीमतीको रिसाएर माइत जाने बाटो
आमाको भाकल लिएर मन्दिरसम्म जाने बाटो
र, निस्केको बाटो पनि नाघेर पर-परसम्म जाने
अनि, अर्को बाटो छुने मेरो बाटो !
 
बा…
बाका धेरै बाटाहरु छन्,
भोकको धोक्रो बोकेर हाटबजार जाने बाटो
त्रास लिएर साहुको दैलोसम्म जाने बाटो,
बच्चाहरुको सानो खुशीका लागि
आफ्नै हाँसो बिर्सिजाने बाटो,
धेरै मन दुखेको बेलामा
एक्लै आँसु झार्न एकान्ततिर जाने बाटो !
 
अझ धेरै होलान् 
मैले नदेखेका बाका अरु-अरु बाटाहरू
जो बा मलाई कहिल्यै देखाउन चाहँदैनन्
उनका सन्तानले कदापि टेक्नु नपरोस् भन्ने बाटाहरू…
जुन बाटोमा पैतालाको चुम्बन 
बा, आफू मात्रै सहन सक्छन !
 
यी सप्पै र सप्पैथरी बाटाहरूमध्ये
एउटा बाटो छ, जुन बा मलाई 
सधैँ-सधैँ देखाइरहन्छन्,
बार-बार सम्झाइरहन्छन्…
– घर फर्किने बाटो !
(हालः कोलकाता, भारत)
प्रतिकृया दिनुहोस्