मन भारी हुन्छ

- सरु ज्ञवाली रेग्मी
          सरु ज्ञवाली रेग्मी


आफ्नो देश अनि गाउँघर सम्झिँदा मन यसै भारी हुन्छ

अरूको चाकडी गरिरहँदा परदेशी यो मन लाचारी हुन्छ।

भन्नेले त भन्छन्- विदेशमा बस्नेलाई देशको के चिन्ता
तर मुटु भक्कानिएर आउँछ जब देशमाथि गद्दारी हुन्छ।

छोरी-चेली स्वतन्त्र भै निर्धक्क हिँड्न पाउन् कसरी ?
जबसम्म गाउँ-समाजमा अपराधी अनि बलत्कारी हुन्छ।

प्राण धान्नकै लागि अन्न चोर्नेको निगरानी हुन्छ यहाँ
भन्दिनुस् महोदय, देश लुट्नेको कहिले खबरदारी हुन्छ ?

दश नङ्ग्रा खियाएर जस्ले अरुको पेट भराइरहेको छ
आखिर उसैको घरमा खै किन सधैँ रित्तो भकारी हुन्छ।

(कोपनहेगन, डेनमार्क)

 

प्रतिकृया दिनुहोस्