डर

सुक्नै आँटेको हरियो घाँस रंगको कपडा थियो। त्यसलाई पोशाक भन्दा रहेछन्। सरकारी तथा प्राइभेट कम्पनीका मान्छेहरुले लगाउने कपडा हुने रहेछ । अनि एउटा लट्ठी । छड्के तारा भएको टोपी । कालो छालाको जुत्ता । के साह्रो मुटुमा ढ्याङग्रो ठोकेको ? घरभित्र गएर ढोकाको चरबाट हेर्ने हिम्मत पनि भएन । अध्याँरो भएपछि मात्र बाहिर निस्कने आँट आयो । बेलुका आमाले सोध्नुभयो–
‘सञ्चो छैन कि क्या हो तँलाई ?’
‘नाइँ ।’
आमाभन्दा अर्को कसले राम्ररी चिन्न सक्छ र आफ्नो सन्तानलाई ?
‘किन अध्याँरो देख्छु त अनुहार ?’
वहाँले भनेको त ठीक हो, मैले सत्य नस्वीकारेको मात्र ।

अर्को कुनै घटना नहुँदासम्म या नयाँ गतिविधिमा ध्यान नजाँदासम्म बाटोमा प्रहरी मामा भेटिन्छन् कि भन्ने सुर्ताले सताउँथ्यो । गल्ती नगर्दै पनि डराउने उमेरको बेला थियो । त्यो डरले यसरी घर गरेछ, केही नगर्दा पनि प्रहरीले रोकेर केही सोध्न थाल्यो भने डर लागिहाल्छ अचेल पनि । देश होस् या परदेश, प्रहरी भन्ने बित्तिकै केही गल्ती भएछ कि क्या हो भन्ने लागिहाल्छ । अलि सतर्क भइहाल्छु । हेलचेक्राइँ गर्न इच्छा हुँदैन ।

थोरै मात्र उमेर बढ्दै थियो । साथीभाइहरु बसेर चौतारीमा, खेतमा, खोलाको छेउमा अलिक रातिसम्म कुरा गर्ने बानी विकास भयो । यो सन्तानको माया त अर्कै हुँदो रहेछ । घरमै परिवारसँग बसेर गफ गरे पनि हुने भनेर अभिभावकले सोच्दो रहेछ । सन्तानले त परकै मान्छे अलौकिक देख्छ । रातदिन बाबु आमाले गरेको सेवा सामान्य लाग्दै गर्दा बरु साथीभाइले गफै गर्दा मात्र पनि संसार अब यिनीहरुले बदल्छन् भन्ने विश्वास पलाएर आउने ! उनीहरुसँग बसेर गफ गर्दासम्म त रमाइलै हो, घर फर्किंदा डर देखाउने अर्को चिज देखा पर्यो- श्रीनाथ बाजेको कुकुर । जति नै पाइला सुस्त चाले पनि, जति सासलाई रोके पनि कुन गन्धले थाहा पाउँथ्यो, प्राण छोडेर भुक्न थाल्थ्यो । पहिलो भुकाईँमै खङ्ग्रङ्ग हुने गरी सातो लिन्थ्यो ।

हे राम, बाँधेको होस् है ? नआइज है ? आयो भने ठिङ्ग उभिनु कि जोडले दौडनु ? फेरि धेरै दौडन सक्ने पनि त होइन । रक्ताम्मे हुने गरी चिथोर्‍यो भने ? यो डरले पनि सताउनु सतायो । भन्न त सजिलो छ, नडराउनु ? नडराउन कम्ती गाह्रो छ ? बरु वन-जंगलका बाघ-भालुले पनि भनेको मान्छन् होला, मनलाई मनाउन कम्ता गाह्रो छैन । मान्दै मान्दैन, पटक्कै !

पुलिस र कुकुर त दुई साक्षात् देखिने जिउँदाजाग्दा प्राणी थिए । एक समय अर्को एउटा अमूर्त चिजले अलि-अलि त रमाइलो पनि गरायो, तर बढ्ता डर देखायो। आमाले पनि केही भन्नुभएको हो, तर यहाँ बाको कथाबाट सुरु गरौँ है !

माघीको दिन रहेछ । बाले चौधरी मितबाको घरमा ढिग्री र जाँड खानु भएछ । अनि झमक्कै रात भएपछि घरतिरको बाटो सोझ्याउनु भएछ । आउँदा आउँदै बाँसघारी पार गरेपछि अमराको रुख आयो । अमरा कागतीजस्तो अमिलो त होइन, तर खट्टेजस्तो हुन्छ । आजभोलि त त्यसको फल, रुख देख्न छोडेको पनि वर्षौं भयो । अनि त्यहाँ चौधरी भुत्वा (भूत) ले ‘कहाँ जैठ्या रे ?’ (काँ जाँदैछस् ?) भनेर सोधेछ ।
अफ कोर्ष, बाले ‘घर’ भन्नुभएछ ।
तर भूतले ‘बिना घोडा कसरी जान्छस् त भनेर सोध्दा बाले उत्तर दिन सक्नुभएनछ ।
‘आपन घोर छोरकर न्याङठ्या रे ?’ (आफ्नो घोडा छोडेर हिड्छस् ?) भुत्वाले बाको पनि सातो खाएछ !

हुन पनि उसको कुरा जायज थियो । मातेको सुरमा आफ्नो सवारी छोडेर कसरी हिड्न सकेको होला ? बासँग उत्तर नपाएपछि अमराको रुख छेउको पोखरीमा बाको कपाल समातेर टाउको डुबाई दिएछ । बा उम्केर भाग्नुभयो । तर फेरि कताबाट घुमेर आएर कहिले टाउको, कहिले कठालो, कहिले पाखुरा समातेर त्यो हिलोसहितको पानीमा डुबाएछ । बाको नजिक गएर उहाँलाई समात्दा मुखबाट गाँजाको गन्ध पनि आएछ ।

‘गाँजा फे खा रख्ल्या रै ?’ (गाँजा पनि खा छस् ? ) यो त एउटा गल्तीमा सजाय पाउँदै गरेको विद्यार्थीको अर्को ठूलो गल्ती पत्ता लागेजस्तै भयो ।

एउटा गल्तीको सजाय त पूरा भइसकेको थिएन, त्यसमा अर्को पनि थपियो ।

फेरि अर्को पनि गल्ती पत्ता लगाएको थारु भूत अब प्रहरी निरीक्षक जस्तो भइसकेको थियो । बाको दुर्भाग्य दुईवटैको उत्तर छैन । झन् रिसायो भूत । अलिअलि पानी भएको त्यो हिलो पोखरीमा अझ चोबल्न थाल्यो । ‘जा, डैजरा, आपन घोर आन ।’ (जा … आफ्नो घोडा लिएर आ ) सजायसहितको अनुमति बालाई बल्लतल्ल मिल्यो।

उसको अनुमति पाएपछि र उसले हिलोमा डुबाउन छोडेपछि बेपत्ता दौडेर तिल्के खोलामा पुग्नुभयो । आफूलाई अलि पखाल्नुभयो । घोडा, त्यही रहेछ ! अब त जान पाइएला नि भनेर आशा गरेको, अर्को बित्यास आइपर्‍यो !
घोडा त दुईवटा पो छन् !
यहाँनिर एकछिन रोक्नुपर्ने भयो । बाको त्यो आफ्नो भोगाई भन्ने तरिका चाहिँ बेग्लै थियो । बीच बीचमा मुस्कुराउँदै, हाँस्दै भन्नु हुन्थ्यो । यो कथा नै बाको मुखबाट आमाले २५ औं पटक सुनिसक्नु भएको थियो । यो सँगका केही रहस्य आमालाई पनि थाहा थियो, जो आमाले अन्त्यमा भन्नुहुन्थ्यो । जसरी नेपाललाई भारत र चीनले घेरेका छन्, त्यसैगरी हामी सबै छोराछोरी बालाई घेरेर बस्थ्यौँ र उहाँका भोगाई सुन्थ्यौं । पाहुना आएका बेला त झन् यो कथा अझ रोचक गरी सुन्न पाइन्थ्यो ।

यो घटनाको भूत, घोडा, त्यो उमेरका बा मात्र हामीले देखेका थिएनौं, घरदेखि अलि तल दक्षिणतिर थारु गाउँ कटेपछि आउने बाँसघारी पनि अझ जड र ठूलो भएको थियो। अमराको सुक्दै गरेको रुख पनि थियो । तर पोखरी भने पुरिंदै गएको थियो । यसर्थ हामी घटनालाई जीवन्त ठान्थ्यौँ।

अँ… बाको अगाडि दुईवटा विकल्प देखा परेका थिए । आफ्नो त एउटा घोडा पो हो त, दुई वटा कसरी भए ? एउटा घोडा त आफ्नो हो, त्यसमा चढियो भने घोडालाई पनि घर थाहा छ । आफू अर्धचेत हुनै आँटे पनि घर पुर्‍याउँछ, तर अर्को घोडामा चढियो भने त फेरि त्यही अमराको रुखनेर लैजान्छ र थारु भूतले फेरि पाता फर्काउँछ । ‘कसको घोडा ल्याइस् ? भनेर !

बाटोमा बुढाथोकीसँग बसेर गाँजा तानेको बाले बिर्सनुभएछ । ढिग्री र जाँड बढी भएकोले होला । बुढाथोकीसँग कति अबेरसम्म बस्नुभयो, कति गाँजा खानुभयो, होस रहेनछ ।

छविलाल बाका मित्र हुन् । पहिले कतै सिन्धुपाल्चोकतिर हुलाकमा हुलाकी काम गरेर पेन्सन पकाएर बसेका ! एकदिन भैसी चराउन ग्वाला गएको बेला, म सानै छु भनेर बुढाले होस नगरी शेर्पिनीसँगको आफ्नो प्रेमकथा सुनाए । उनलाई त याद छैन होला, मलाई चाहिँ याद छ । किनकी त्यो बेलाको सबैभन्दा आधुनिक कथा मेरो लागि त्यही थियो । प्रणय रसले भरिएको, कामुकता त्यस्तै छल्कने, रसानन्द आउने वृतान्त थियो त्यो ।

चिठ्ठी पुर्‍याउन सदरमुकाम र वरपर गाउँघर उकालो ओरालो गर्दा सँगसँगै वनजंगलमा थकाइ मार्न बस्ने, सँगै फूलमार नामको जंगलै मगमग बास्ना आउने चुरोट पिउँथे रे । शेर्पिनीको लोग्ने वर्षौं पहिले कमाउन भनेर मुग्लान हिंडेका, फर्केका रहेनछन् । साँझ सुत्न पनि सँगै सुत्ने । शेर्पिनीका सेता तिघ्रा देखेर बुढाथोकी निकै लोभिएका रहेछन्। तर उनी बडो अफशोचका साथ भन्ने गर्थे, उकालो ओरालो गरेका बलिया तिघ्रा राति सुत्दा खप्ट्याएर सुतेपछि आफ्नो अभिष्ट पूरा गर्न कहिल्यै सकिएन ! अहो, म कता प्रेमकथातिर लागेको, यो त डरको कथा पो हो त ! अनि मेरा बाको कथा !
खै, कसो गर्दा दिमाग फिरेछ ! घोडाको नाकमा हात राख्दा एउटा घोडाले स्वाँस फेर्‍यो, अर्कोले फेरेन । अनि फेर्नेवाला नै आफ्नो घोडा हो भन्ने खुट्याएर चढेर घर फिर्नुभएछ । त्यो दिनदेखि हो, बाले जाँड रक्सी खान छोड्नुभएको !

कहिले मामा, कहिले फूफाजुले बालाई यो कति सालको कुरा हो भनेर प्रश्न गर्थे। त्यो भन्नुको अर्थ, हामीले कथा ध्यान दिएर सुनेका छौं भनेर जनाऊ दिनु हुन्थ्यो । बाले ०२८ सालतिरको कुरा हो भन्नुहुन्थ्यो । अनि अब टिप्पणीकर्ताको रुपमा आमा बोल्नुहुन्थ्यो । ०२७ सालमा घोडा बेचेपछि, फेरि ०२८ सालमा घोडा कसरी आयो ? अन्तिममा लामो स्वास फेरी हामी कथाले सन्तुष्ट भएर हाँस्थ्यौं । कति सालमा बाले घोडा बेच्नुभयो, त्यस्तो समालोचनात्मक ढंगले सुन्ने र टिप्पणी गर्ने दिमाग हामीमा विकसित भैसकेको थिएन । हामी त त्यही कथा बारम्बार सुनेर रमाइरहथ्यौं ।

रमाइलो त भयो, तर त्यही बेलादेखि भूत नामको अमूर्त चिजले मनमा डर जमायो । कसरी भूत बन्छन् भन्ने चलनचल्तीको प्रक्रिया पनि थाहा भयो । केही इच्छा पूरा नभई मृत्यु राम्रो भएन वा राम्रोसँग उसको अन्तिम संस्कार भएन भने त्यो भूत बन्दो रहेछ । मृत्यु त कसरी पो राम्रो हुन्छ र ? तर अब भूतसँगै मरेका मान्छेहरुबाट पनि डर लाग्ने भयो । के थाहा उसको कुनै इच्छा पो पूरा भएको छैन कि ? उसको अन्तिम संस्कारमा केही कमी भयो कि ? अब आज तर्साउने हो कि ? खोलामा हिंड्दा, मसानघाट हुँदै यात्रा गर्दा, चिहान नजिकै जाँदा, अध्याँरोमा हुँदा यी चिजहरु डरका विषय बन्न पुगे ।

‘हिजो कति बेला घर पुगेऊ जेठा ?’ बुढाथोकीले दोश्रो दिन बालाई सोधे ।
‘खोइ, हिजो त त्यो भूतले घुमाउनुसम्म घुमायो मलाई ।’
‘तान्न पनि निकै तान्यौ हिजो त जाँडको तालमा गाँजा । के भाथ्यो तिम्लाई जेठा ?’

घटना–कथामा तर्क थियो । बाले सत्ताइस सालमै घोडा बेचिसक्नु भएको थियो । जाँड, अनि त्यसमाथि गाँजा तानेकोले पोखरीमा लड्नु भयो होला ! हिलो लागेकोले फेरि खोलामा गएर पखाल्नुभयो होला ! कति ठाउँ लड्नुभयो, कति चोटपटक लाग्यो होला ! भूतको डर त बाजे बोइले उहाँको मष्तिष्कमा रोपिदिनुभएकै थियो । अनि भूतले पोखरीमा डुबायो, पिट्यो, लछार्‍यो भन्ने भान पर्‍यो होला उहाँलाई ! आदि इत्यादि गर्दा सत्य र भ्रमका बीचबाट त्यो घटना बाको निम्ति वहाँकै जीवनमा घटेको सत्य घटना बनिसकेको थियो ।

अर्को डर पैदा गर्ने ठूलो भूत परीक्षा थियो । परीक्षाको दिन कति पटक पिसाब लागेको हो ? गनी साध्य छैन । रिजल्ट आउने दिन कति पटक भाकेको हो भगवानलाई ? यो डरले त झन् न त निद्रा पर्न दिन्छ, न चैन ! परीक्षाको दिन आँखा काँचै हुन्छन् ।

मेरो साथीका मुटु कलेजा ह्वात्तै मुखमै आएजस्तो हुन्छ रे, हवाई जहाजले भूइँ छोड्दाखेरि ।

रक्सी र चुरोट पिउने अनि जुवा तासको लत लागेका काकाका व्यहोरा आदत मात्र नराम्रा हुन् । मान्छे गजबका रंगीन थिए । पहिले मोटा, लिच्छवी या मल्लकालका जस्ता अलि अलि उर्दु लिपी जस्ता अक्षर अंकित मुद्रा घरमा थिए । अचानक हराए । ठूलो परिवारमा केटौले काकाप्रति कसैको शंका गएन । जो अलि ठूलो छ, बदमास् छ, उसैलाई केरकार गरियो, तर पैसा पत्ता लागेन । ठूलो न ठूलो परिवार भएकोले केटाकेटीहरु सबै एउटै कोठामा सुत्ने ! एकदिन काका निद्रामा ‘छक्का’ ‘छक्का’ भनेर बर्बराएछन्, बिचरा ! गाउँका नामी दुई जना जुवाडेसँग क्रश क्वइश्चन गर्दा काकाले मुद्रा चोरेको रहस्य बाहिरियो । बिचरा काका रक्सी चुरोटले ‘म तिमीलाई मसँगै लान्छु’ भनेर साह्रै जिद्दी गरेको दिनसम्म पनि राति सुत्दा सपनीमा बर्बराउँछु कि भनेर डराइरहन्थे ।

दोश्रो साथीलाई पानीमा पौडिन भनेपछि आकाशले थिचेजस्तो हुने रहेछ । अनेकानेक फोबिया नाम राख्ने चलन रहेछ यी डरहरुको । यी डरहरुका कारण सबभन्दा बढी दुःख पाउने, पीडित हुने भनेको मन नै रहेछ ।

समाचार बनाउँदा बनाउँदै धेरै राति भएकोले पत्रिकाको शयरकक्षमै रात बिताउँदा एक पत्रकार झण्डै डरले खुस्केका ! पछि रमाइलोको लागि उसले आफ्नै मुखबाट यो कुरा भनेको थियो। ०५८ मंसिर ८ मा माओवादीद्वारा दाङ आक्रमण भइसकेको थियो । संकटकाल थियो। पत्रिका प्रकाशन गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा लगेर प्रमाणित गराउनुपथ्र्यो । प्रमुख जिल्ला अधिकारी प्रधानसम्पादक हुने गर्थे ।

एकदिन एकजना स्थानीय पत्रिकाका पत्रकार कामविशेषले बाहिर गएछन्। कान्तिपुरको दाङस्थित रिपोर्टरलाई मुख्य समाचार बनाउन बोलाएको, साजसज्जामा अनुभवी नहुँदा निकै रात पर्न गएछ। अब यो रातिमा घर जान सकिन्न भनेर पत्रिकाको समाचारदाता र कान्तिपुरको अतिथि पत्रकार त्यही कार्यालयमै सुतेछन्। अतिथि त निदाइगयो । बाँकी रहेको २, ३ घण्टाको रात पनि त्यो पत्रकारको डरमै बितेछ ।

सेनाले पत्रिकामा के छापिन्छ भनेर जाँच्न राति नै प्रेस कार्यालय छिर्ने; अनि कहिलेकाहीँ माओवादी नै हाम्रो विरुद्धमा किन लेखिस् भनेर आक्रमण गर्न सक्ने सम्भावना थियो । विगतका अंकहरुमा के के छाप्यौं, त्यसकै ग्राउण्डमा कतै आक्रमणमा परिने त होइन ? हत्या, अपराध र बेपत्ताको ग्राफ त उसलाई मजैले याद थियो । आक्रमणले त होइन, डरले झण्डै मरिएन यार भनेर रमाइलो गर्दै थियो । कस्तो डरलाग्दो समय थियो त्यो, राति त कर्फ्यु नै हुन्थ्यो । दिनदहाडै दाङ–काडमाडौं गर्न पनि अपराधै गरेजस्तो हुन्थ्यो । सरकारले सेनालाई यसरी लामो दूरीमा यात्रा गर्ने यात्रुहरुलाई सकेसम्म दुःख दिनु अनि स्वाभिमान गिर्नेसम्मको व्यवहार गर्नु भनेर अह्राएकोजस्तै थियो ।

के के खालको डर हुन्छ हुन्छ मान्छेलाई ?

सेतो रंगको बनियान नै लगाउन सहज लाग्ने एक अर्का मित्रलाई । के संयोग परेछ । कट्टु पनि सेतै परेछ, त्यो दिन । मोजा सेतो हुनु त एकदम सामान्य भइहाल्यो । चिसोको महिना । ज्याकेट, टोपी, पंजा, जति न्यानो कपडा लगाए पनि चिसो भइहाल्ने । पञ्जा अलिकति फाटेका थिए । यतिबिघ्न चिसोमा पनि साइकलमै बतासिन्थे उनी । पञ्जाबाट चिसो पसेर औंलाहरु फाटेका थिए । दुख्थे । कामबाट फर्किने बेला एक साँझ किचेनको सेफले एउटा क्रिम दियो। अनि किचेनमा भएको डक्टरले लगाउने वाला पन्जा पनि दियो । भित्र त्यो लगाएर बाहिर पन्जा लगायो भने साइकल दौडाउँदा पनि हातमा चिसो नहुने रहेछ । खाना खाइवरी फेरि क्रिम लगाएर पन्जा पनि लगाएरै सुते । मनभित्र एक खालको डर पहिलेदेखि थियो होला, त्यही सम्झेर मध्य रातमा ब्युँझिएको डरले मित्र फेरि सुत्न सकेनन् । सेतो बनियान, सेतो कट्ट्, सुत्दाखेरि खुट्टामा चिसो नहोस् भनेर लगाएको मोजा पनि सेतै, अनि आज त फेरि पन्जा पनि सेतै लगाएर सुतेको छ । काल यही बाटो जाँदै रहेछ भने, अनि मलाई देखेर, ‘ए यो मरिसकेछ’ भनेर झुक्केर पनि उठाईहाल्यो भने त इहलीला त समाप्त भयो ! यस्तै विचार मनमा आएर ब्युँझेको, फेरि निदाउन सकेनन् । एकपटक अगुल्टोले हानेको कुकुर बिजुली चम्किंदा तर्सेझैं त्यो दिनदेखि उनी राति सुत्दाखेरि भित्री वस्त्रको कम्बिनेशन कस्तो छ, हेरेर मात्र सुत्छन् ।

मान्छेलाई मर्नदेखि डर छ । मरेकाहरुदेखि पनि डर छ । कोही मर्छ कि भनेर पनि डर छ । मरिएला कि भनेर डर छ । मर्नु होला भनेर पनि डर छ । एकसे एक कुरा छन्, जहाँ डर नै प्रमुख छ, डर नै सम्मुख छ ।

एउटा कर्मचारी कामबाट निकालिन्छु कि भनेर दिनदिनै डराईरहन्छ । साह्रै सतर्क भएर दुःखका साथ काम गर्छ । तर कर्मचारी निकाल्दा ऊ नै प्रथम भएर निस्कन्छ । यो पनि एउटा रितजस्तै बनेको छ ।

अंग्रेजी बोल्ने डर । यो डर खासगरी बिदेश बस्ने नेपालीहरुका लागि विशेष छ । यसले घटाएको आत्मविश्वास त झन् दुःखदायी छ । कतिको गुनासो छ, यो केही गरी घोटेर खाने वस्तु भए खाइहाल्न हुन्थ्यो ।

एउटा व्यापारी व्यापार घाटामा जाला, फेरि यो गरी खाने भाँडो निमिट्यान्न होला भनेर डराई डराई पैसा पैसाको हिसाब गरी बस्छ । भोलि के होला, पर्सी के होला भनी दिन दिनै डराउने मान्छे यो विश्वमा करोडौं, अरबौं होलान् । गजब गजबका डराउने मान्छेहरु पनि जीवनमा ठोकिई नै रहन्छन् ।

एउटाले प्रेमिकाले प्रेम प्रस्ताव अस्वीकार गर्लिन् भनेर जीवनभर भन्नै सकेन । तर उसको प्रेम थाहा पाउने साक्षी पनि छन्, उसलाई बेला बेला जिस्काउने । एक पटक भन्दिएको भए, के हुन्थ्यो होला बढीमा । आखिर नहुने नै रहेछ भने पनि मनको सन्तुष्टी त हुन्थ्यो । एकहोरो माया पनि गर्नु अनि नभनीकनै टाढा हुन्छिन् कि भन्ने डर पनि डरलाग्दो डर हो ।

डरको ठ्याक्कै तरल या टिकियाजस्तो ठोस औषधि पनि नहुने । केही गरी सान्त्वना दिन सकियो भने भयो, नत्र त हैरानै हुन्छ । अर्को केही चिजले नथुम्थुम्याउँदासम्म भड्केको भड्क्यै गर्ने । यही डरले गर्दा जीवनको आनन्द लिन पनि पाउँदैन मान्छे । सारा ध्यान त्यही डर कसरी हटाउने भन्ने मै केन्द्रित हुन्छ । बुझ्ने भएदेखि त्यो डर केही होइन भनेर आफै मनलाई बुझाउन सकिन्छ। तर त्यही गर्न त कम्ता साह्रो छैन ! यही एउटा मन हो, जसलाई सम्झाउन, फकाउन गाह्रो हुने । बच्चा फकाउन, प्रेमिका मनाउन, विद्रोहीलाई मिलाउन सकिएला, तर यही एउटा मनमात्र यस्तो अटेरी हुन्छ, जसलाई जित्न पहाडजस्तै अप्ठेरो अनि विकट महसुस हुन्छ ।

यिनीहरु त जीवनमा आए, गए । कुनै चिजदेखि आजपर्यन्त अलि बढी या कम डर त लागिरहन्छ । तर एउटा अत्यन्तै मुटु नै सिरिङ्ग हुने चिज त भन्न र लेख्न पनि डर लाग्छ । त्यो जीवनकै सबभन्दा धेरै डराउन दिने चिज भएको छ । मलाई माफै गर्नुपर्ने हुन्छ, म त्यो कुरा यहाँ उल्लेख गर्न सक्दिन । सायद एउटा डर, एउटा अनुशासन एउटा अदृश्य शक्तिको नीति नियम, मान्यता नै जीवनलाई सत्मार्गमा राख्ने औजारहरु होलान् । यसले गर्दा नै जीवनमा संयमित हुन मद्दत गरेको छ । कुनै चिजको डर, भर हुन्थेन भने जीवन यति रोमाञ्चक पनि हुने थिएन होला ।

साँच्चै, तपाईलाई कुन चिजदेखि डर लाग्छ ?

४ फेब्रुअरी २०२३, कोपनहेगन, डेनमार्क

(निबन्धकार बस्नेत अनेसास डेनमार्क च्याप्टरका सचिव हुन्)

प्रतिकृया दिनुहोस्