अक्वैरियम जिन्दगी

 

 

अथाह सागरको अनन्त गहिराइबाट

कठै ! अलग्याइएको

तिम्रो निगाहले पठाइएका

कृत्रिम अक्सिजन फुल्का लिएर

फुत्तफुत्त खसालिने खुराकमा बाँचिरहेको

एक अक्वैरियम जिन्दगी

 

मेरा रङ्गिन वदनबाट परावर्तित किरणहरूले

तिमी आफूलाई उजिल्याइरहेछौ

विनष्ट पारिरहेछौ आफ्ना थकानहरू

च्याम्बरभित्रको मेरो पीडाको पौडीमा

मुसार्दैछौ

महंगो  काँचको एउटा सानो आयतन

मेरो संसार

एक अक्वैरियम जिन्दगी

 

कसरी देख्नु तिमीले !

सोकेसभित्र पानीमा मिसिएका नयन धाराहरू

कसरी सुन्नु मौन मेरो आवाज !

जब वाक् इच्छाहरू हरदम मारिरहेछु

एउटा भयानक डरले

बोल बोल माछा मुखभरि पानी

कहावत एक यथार्थ

आखिर तिम्रो लागि रङ्गिन

एक अक्वैरियम जिन्दगी

 

तिम्रो आनन्दको नाममा बन्दी

अकिञ्चन जलचर

फनफनी घुमिरहेछु एउटा लघु संसारमा

काँचका भित्ताहरूमा

बारम्बार ठोक्किँदै

तिम्रै बैठकको एउटा कुनाबाट

भेट्न खोजिरहेछु काँच बाहिरको

सीमाहीन पानीको साम्राज्य

उन्मुक्तिकोमिथ अफ सिसिफस

यात्रामा तल्लीन

एक निर्दोष कैदी   

एक अक्वैरियम जिन्दगी

(सम्पर्क: [email protected])

(कवि अधिकारी वरिष्ठ मानसिक रोग बिशेषज्ञ तथा मानसिक अस्पताल पाटनका निर्देशक हुनुहुन्छ)

प्रतिकृया दिनुहोस्