प्रेम एक आत्मश्लाघा
छैन भनेपनि, होइन भनेपनि
तिमी यस्तरी छ्यौ मेरो जीवनमा
कि हजार निषेधबिच
निद्रामा ऐँठनले भनिदिनु पर्छ
जसरी रुखका पातहरू भनिदिन्छन्
फर्फर फर्फर
हावाको उपस्थिति
एउटा आभास काखी च्यापेर
कट्मिरो सपना
तिम्रै बगलबाट बग्दछ रातदिन
निद्रा नदीको बहावले काटेको बगर
मेरो छाती
जहाँ म सम्भावनाका झुसिल्किरा हुर्काइरहेको छु
मलाई थाहा छ
तिम्रो नजर पर्यो भने
ती पुतली बन्नेछन् रङ्गीचङ्गी
र घर्कँदै गएको श्यामश्वेत समय
केही इन्द्रेणी रङ्ग घस्नेछ मुहारमा
एउटा मान्छेले
बाँच्ने जीवन जत्तिकै लामो प्रतीक्षा भयो भने
उसले प्रतीक्षा बाँचेको ठहरिन्छ कि जीवन ?
प्रश्नहरू
मेरो खजमजिन खोजेको छाला जत्तिकै
पहेली बन्दछन्
पहेलीहरू तिम्रो मौनताको बर्को ओढेर
मेरै ओरिपरी रङमङिरहेका छन्
तिमीले आँखा चिम्लँदा
म बोल्नुको औचित्य खोजिरहेछु
तर सत्य त यो हो
कि प्रकृतिले गाडिदिएको छ
एउटा चकमक तिम्रो नाभीमा
अर्को चकमक मेरो नाभीमा
छैन भनेपनि, होइन भनेपनि
एउटा झिल्कोको आसमा बाँचिरहेको छ जीवन
तर आत्मश्लाघाको मुकुट पहिरेर
प्रेम
छोपिरहन्छ नाभीको चकमक
जीवन जत्तिकै लामो प्रतीक्षा बनाएर
आत्मश्लाघा फगत आत्मश्लाघा बाँच्दछ प्रेमको नाउँमा
र,चकमकले चम्काउन जीवन
के कुर्छ कुर्छ
सायद,
प्रेम चिताको बाती कुर्दछ अमर हुन।
(कवि सिग्देलका ‘तालीको समाजशास्त्र’ कविता संग्रह, ‘अब्सेसन’ अंग्रेजी संयुक्त कथा संग्रह लगायतका कृतिहरू र थुप्रै पत्रपत्रिका तथा अनलाइनमा फुटकर रचनाहरू प्रकाशित छन्।)