अक्षरहरूको हत्या

 

कलमभित्रको झ्यालखानामा
बन्दी बनाइएका मेरा अक्षरहरू
दबिएका छन्, निसास्सिएका छन्
चित्कार गर्छन् कोकोहोलो हालेर
स्वतन्त्रताका लागि

तिनका रोदन सुन्दा दया पलाउँछ
अनि, सेतो कागजका पाना भरी
छताछुल्ल पोखिदिन्छु मेरा अक्षरहरू
तर, स्वतन्त्रताको उन्मादमा
मात्तिएका मेरा अक्षरहरूले
मेरो सिर्जनालाई मात दिन्छन्
एकआपसमा जोडेर ती अक्षरहरूलाई
एकताको डिकोभित्र समाहित गरी
सुन्दर शब्दहरुको जाल बुनेर
जनतासामु पस्किँदै
भ्रमको खेती गर्न लालायित म

तर, बिद्रोही अक्षरहरू
समास होइन विग्रहमा रमाउँछन्
अनेक प्रपञ्च रच्छु
शब्दमा बदल्न अक्षरहरूलाई
प्रलोभनमा पारी
इकारको श्रीपेच पहिराइदिन्छु
अटेर अक्षरहरूका खुट्टा काटिदिन्छु
कसैलाई उकारको दाम्लोले बाँधेर
राख्न खोज्छु आफ्नो वशमा

जब, आफैंमा पूर्ण छु भन्ने अहंकारले
अन्धा मेरा अक्षरहरू
व्याकरणको सङ्कुचित दायरा तोडेर
कागजको पाना भरी छाडा बुर्कुसी मार्छन्
अनि, मेरो सिर्जनाले पूर्णता नपाउँदा
आवेगको मसीले
अटेर अक्षरहरूलाई केरमेट गरिदिन्छु,
अस्तित्व मेटाइदिन्छु
अक्षरहरूको बिद्रोहको बिचमा
जन्मिन नसकेका मेरा शब्दहरु
अक्षरहरूको हत्या सँगै
निःशब्द हुन्छन्

(समसामयिक, सामाजिक बिषयका कविता लेखनमा सक्रिय कवि बस्नेत नर्वेमा उच्चशिक्षा हासिल गरेर केहि समय अघि नेपाल फर्किनुभएको छ भने  पत्रपत्रिका र अनलाइनमा उहाँका रचना उल्लेख्य मात्रामा प्रकाशित छन्।)

प्रतिकृया दिनुहोस्