कोरा भावनात्मक गन्थन मात्र साहित्य होइन

 

मानव सभ्यताको प्रमुख चालक शक्ति वा इन्जिन भनेको नै मानव जाति विचार वा चिन्तन शक्ति हो । तर्कसंगत सोच विचार , चिन्तन प्रणालीले नै युग हाँकेको छ । युगान्तकारी परिवर्तनको संवाहक रहेको छ । नविन विचारहरुको उत्पत्तिदेखि प्रवाहसम्म भाषाको लेख्य माध्यम पनि महत्वपूर्ण रहेको छ ।

परिष्कृत लेखन नै साहित्य हो । नेपाल लगायत पूर्वीय मान्यतामा कथा, कविता, निबन्ध इत्यादि कलात्मक सम्प्रेषणलाई मात्र साहित्य मान्ने प्रचलन छ । तर पश्चिमी परम्परामा जुनसुकै पाठ्य सामग्रीलाई पनि ‘लिटरेचर’ भन्ने गरिन्छ । चाहे त्यो गणित वा फिजिक्स नै किन नहोस् । कला विना कुनै पनि कृति सुवोधगम्य बन्दैन । केवल कोरा भावनात्मक गन्थन मात्र साहित्य होइन । ठोस ज्ञान तथा विचारको विनिमयलाई सरल, सहज र रसिलो बनाउनु पनि साहित्य हो ।

भाषा लेखन लिपिको प्रारम्भिक आविस्कार पनि कथा कविताको लागि नभएर आर्थिक कारोबारको अभिलेख राख्ने प्रयोजनको लागि भएको थियो । हाल सम्मको पुरातात्विक प्रमाण अनुसार प्राचीन सभ्यता केन्द्र मेसोपोटामियाको सुमेरमा व्यापार तथा कर असुली इत्यादिको अभिलेख राख्नको लागि पहिलो लिपिको आविस्कार भएको थियो । त्यसपछि साहित्य पनि लेखियो ।

सुमेरमै नाप तौलका इकाईहरु , बाँध तथा नहरहरु निर्माण, जमिनको नाप-जाँचको क्रममा ज्यामिति तथा अंकगणितको प्रादुर्भाव भएको थियो । त्यहाँ माटा ट्याब्लेटहरुमा अंकित गरेर अभिलेख राख्ने गरिन्थ्यो । पछि उत्खननको क्रममा त्यस्ता ट्याब्लेटहरु ३० हजार भन्दा बढी स्थानमा फेला परेका थिए । तिनमा तत्कालिक उरुकका राजा गिल्गाभिसको पैंतीस सय हरफको कविता समेत फेला परेको थियो ।

त्यसरी नै प्राचीन सिडन र टायरका बासिन्दा फनिसहरुले भाषिक वर्णहरुको शुरुवात गरेका थिए । त्यसलाई पछि ग्रिक र रोमनहरुले पनि अुनसरण गरेका थिए । फनिसहरु विश्वकै प्रथम विशेषज्ञ नाविक तथा व्यापारी मानिन्छन् । उनीहरु प्रचीन महान सभ्यता केन्द्र सिन्ध घाँटी, मेसोपोटामिया र इजिप्ट बीचको व्यापारिक मध्यस्थकर्ता थिए भनिन्छ ।

इसापूर्वको ग्रिक एवं रोमनकालिन ज्ञान-विज्ञान तथा कला-साहित्यको विकास अवस्थालाई प्राचीन शास्त्रीयकाल (क्लासिकल एन्टिक्यूटी ) भनिन्छ । मध्ययुगमा ग्रिस लगायत रोमन साम्राज्यका धेरै क्षेत्रमा अरबीहरुले विजय हासिल गरेका थिए । त्यसपछि ग्रिसेली विद्धानका धेरै कृतिहरु अरबी भाषामा अनुवाद गरिएको थियो । अरबी साम्राज्यको भूभागभित्र सार्वजनिक पुस्तकालयहरु स्थापना गरिएको थियो, जसलाई ‘ज्ञान केन्द्र’ भनिन्थ्यो । जसमा हजारौं स्थान विभिन्न धर्म तथा धर्म बाहेक विषयका पुस्तकहरु संग्रहित थिए । पुस्तक तथा लिखतहरू नक्कल गरेर लैजान अनुमति र सुविधा थियो, कागज तथा कलम समेत उपलब्ध गराइन्थ्यो । स्पेनको कार्डोबा लगायतका ज्ञान केन्द्रहरूमा धेरै यूरोपियन विद्धान तथा क्रिश्चियन पादरीहरु शास्त्रीय दर्शन तथा विज्ञानको अध्ययन गर्दथे ।

मानव सभ्यताको इतिहासमा आधुनिकताको सुत्रपात नविन ज्ञानको विष्फोटक विस्तारबाट भएको मान्न सकिन्छ । ज्ञानको तिब्र विस्तारमा छापाखानाको आविस्कार युगान्तकारी मोड मान्न सकिन्छ । संसारमा पहिलो छापाखाना जर्मनीका गोल्डस्मिथ जोहनस गुटनवर्गले सन्. १४४० मा आविस्कार गरेका थिए, जसमा सन्. १४४५ मा पहिलो पुस्तक छापिएको थियो । सन्. १५०० सम्म यूरोपभर २२० भन्दा बढी छापाखाना स्थापना भइसकेका थिए । तिनीहरूमा ८० लाख थान पुस्तकको छपाई भइसकेको थियो ।

एक जना मानिसले एउटा पुस्तक हातले लेख्दा एक वर्ष लाग्दथ्यो भने प्रारम्भिक स्तरको छापाखानाबाट नै त्यही समयमा एक हजार भन्दा बढी पुस्तक तयार हुन सक्दथ्यो । पुस्तक लेखन कार्यले त्यसपछि तिब्रता हासिल गर्यो । भेनिस सहरमा मात्र २० हजार भन्दा बढी विषयमा पुस्तक लेखिएको थियो। पछिल्ला समयमा छापाखाना तथा कागज निर्माण प्रविधिमा व्यापक परिवर्तन हुदै गयो, जसले ज्ञान उद्योगमा उत्साहजनक उपलब्धिहरु हासिल हुदै गए । पुस्तकसँगै न्यूजपेपर म्यागेजिनहरूको युग आयो । सन्. १९०० सम्म लण्डन सहरमा न्यूजपेपरको दैनिक वितरण संख्या दश लाख प्रति पुगेको थियो ।

यूरोपको विकास स्तरलाई भेटाउने पहिलो एशियाली मुलुक जापान हो । जापानको समृद्धिको रहस्य पनि पुस्तक पठन सस्कृतिमा निहित देखिन्छ । सन्. १८०८ मा टोकियो शहरका बासिन्दाहरू निकै अध्ययन प्रेमी भइसकेका थिए । त्यसबेला पनि पुस्तक निकै महंगा थिए । पुस्तकहरु भाडामा लगेर पढ्ने चलन व्यापक थियो । त्यतिबेला ६५६ भाडावाला पुस्तक पसल थिए । एक लाख परिवारले भाडाका पुस्तक पढ्ने गरेका थिए ।

रेडियो, टेलिभिजन, कम्प्यूटर, इन्टरनेट, स्मार्टफोन जस्ता विद्युतीय डिजिटल प्रविधिका संचार माध्यमको विकास पश्चात ज्ञान प्रवाहको लागि छापावाला पुस्तकको अनेकौ विकल्पहरू उपलब्ध भए पनि तिनको प्रचलनमा खासै कमि आएको देखिंदैन । विश्व समाजमै शिक्षाको अभूतपूर्व विकास भएको कारण पाठक तथा ज्ञानका पारखीहरूको संख्या पनि सो अनुरुपमा विस्तार हुनु स्वाभाविक छ ।

कुनै देश, समाज वा समुदाय के-कति सभ्य, सुसंस्कृत र विकसित छ भन्ने कुराको महत्वपूर्ण मानक पुस्तक आदि अध्ययन सामग्रीको उत्पादन र पठनलाई मानिन्छ । विशेष गरेर अध्ययन प्रतिको सामाजिक लगावले मानवीय सुसंस्कृति प्रदर्शन गर्दछ । देश विदेशमा रहने नेपाली वा नेपालीभाषी समुदायले पनि यो तथ्यलाई आत्मसात गरी भावनात्मक गन्थनबाट माथि उठेर साहित्यमा आफूलाई अब्बल बनाउने कोसिस जारी राख्नु जरूरी छ ।

(डेनमार्क निवासी लेखक पौडेल अर्थशास्त्रका ज्ञाता र विश्लेषक हुनुहुन्छ। स्वीडेनको लुण्ड युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएका पौडेलका विश्व आर्थिक क्रान्ति: सुमेरदेखि सिलिकन भ्यालीसम्म’ नामक पुस्तकका अलावा थुप्रै पत्रपत्रिका र अनलाइनमा असंख्य लेखरचना प्रकाशित छन्।आफूलाई गीतकारका रूपमा समेत चिनाइसक्नुभएका पौडेल कविता लेखनमा पनि अग्रसर हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्