प्रश्नहरुः एक अलग आख्यान
किन भीडभन्दा अलग देखिन्छ त्यो मान्छे ?
जो बोकिहिँड्छ प्रश्नहरुको जीवन्त मशाल
किन सधैँ एक्लै हुन्छ यात्रामा ?
आफैँसँगको सम्वादमा
क्षणमै उच्च, क्षणमै मत्थर
किन हुन्छ उसको आवाज ?
किन कर्कश स्वरमा सरापिरहन्छ ऊ
यो युगको सभ्यतालाई ?
किन ऊसँग जीवनको धून छैन
किन बाँच्नुसँग अनुराग छैन ?
सधैँभरि सुक्खा मरुभूमीजस्ता आँखाहरुले
चिथोरिबस्छन् उसका प्राचीन घाउहरु
क्षणक्षणमा किन फेरिन्छ उसको परिचय
किन छैन उसको स्थायी तस्बिर ?
मानवताका जब्बर ठेकेदारहरुसँगको संघर्षमा
कता हरायो उसको आदीम पहिचान ?
कसरी लुटियो उसको भूगोल
कसले मेटिदियो उसको घरसम्म जाने गोरेटो ?
किन जन्मेकै भेषमा हिँड्छ ऊ
र अत्याउँछ सबै सामान्य मान्छेहरुलाई ?
आखिर किन डराउँछन् मानिसहरु नाङ्गो मानिससँग ?
फालेर अबोध वालकको जस्तो मुस्कान
घरिघरि आक्रोशको आगो
किन सल्किरहन्छ उसको मुहारमा ?
आखिर को हो उसको शत्रु ?
कसलाई हरदम खोजिहिँड्छ यो सहरको भीडमा ?
सधैं भोकले सेप्रिएको देखिन्छ उसको पेट
कसले खोस्यो उसको श्रम
र थमाइदियो झण्डा उसको हातमा ?
किन भागिरहेछ बजारदेखि, तर बनिरहेछ एउटा सामान ?
सायद बेखबर छ
व्यवस्थाको सुकुमार आवरणमा
एउटा भद्दा दाग बनिरहेछ ऊ
त्यसैले त उसले मुठ्टीमा च्यापेको प्रेमपत्रलाई
विद्रोहको घोषणापत्र देखिरहेछ सरकार
हतियार कारखानाका मालिकहरुले
शान्तिका परेवा उडाइरहँदा किन हाँस्छ ऊ ?
किन विश्वास गर्दैन
नयाँ युगमा धर्मशास्त्रका श्लोक र हरफहरु
बन्दुकका नालबाट जन्मन्छन् भनेर ?
कसरी भन्न सक्छ ?
सरकार हत्यारो छ
प्रतिपक्षको खन्जर सुषुप्त छ
न्यायमुर्तिको कालो पट्टीभित्र कालै षडयन्त्र छ
बहुराष्ट्रिय कम्पनीको चुनावी हस्तक्षेप देखेर
किन फुल्छ उसको छाती ?
व्यापारिक समाजवादलाई किन अटेर गर्छ ?
किन सबैको बर्खिलाफ बोल्छ,
आखिर किन बहुलाउँछ ऊ ?
किन बाँच्दैन ऊ
सारा इन्द्रियहरु बन्द भएको कुनै सन्त नेताजस्तै
र लेख्दैन नयाँ सैद्धान्तिक दस्ताबेज
प्रश्नहरुको जुलुस बोकेर कहिलेसम्म हिँडिरहन्छ
कि मर्दैन उसको सपना ?
किन प्रत्येक उत्तरप्रति प्रश्न गर्छ
र घरिघरि बहुलाउँछ ऊ ?
के यो देशमा बाँच्नको लागि बहुलाउन जरुरी छ ?
(नेदरल्याण्ड बसोबास गर्ने कवि तारानाथ सापकोटाका थुप्रै फुटकर रचना विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा प्रकाशित छन्। विशेषत: कविता र निबन्ध विधामा कलम चलाउने सापकोटाको निकट भविश्यमा आफ्ना कविता संग्रह र निबन्ध संग्रहका पुस्तक लिएर पाठकमाझ आउने योजना छ।)