प्रमोद सारंगलाई युवावर्ष मोती पुरस्कार प्रदान
![प्रमोद सारंगलाई युवावर्ष मोती पुरस्कार प्रदान](https://inlsdarpan.com/wp-content/uploads/2023/09/376501433_285275834248487_3729653542417342_n.gif)
२९ भदौ २०८०, काठमाडौं
प्रत्येक वर्ष मोती जयन्तीका अवसरमा दिइने “युवावर्ष मोती पुरस्कार” बारा जिल्ला स्थायी घर भएका हाल कोरिया निवासी कवि प्रमोद शर्मा दाहाल (प्रमोद सारंग) लाई प्रदान गरिएको छ ।
वरिष्ठ भाषाविद् तथा साहित्यकार प्रा.डा.माधवप्रसाद पोखरेलको संयोजकत्वमा गठित मूल्याङ्कन समितिको सिफारिसअनुसार वि.सं. २०८० को युवावर्ष मोती पुरस्कार सारंगलाई प्रदान गरिएको हो । पुरकारको राशी ४०,०००/-(चालिस हजार) नगद, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सारंग कविता तथा हाइकुमा विशेष कलम चलाउने कवि हुन् । उनका अप्रिल फुल बाँचिरहेछ देश (२०६९) र अजयतृप्ति (२०७७) दुई कविता सङ्ग्रह, आवाज र आवाजहरू (२०७४) मुक्तकसङ्ग्रह, अनूदित आँखाहरू(२०७६) र असर्फी (२०७९ ) २ हाइकुसङ्ग्रह प्रकाशित छन् ।
अनुवादमासमेत उनको कलम चल्ने गरेको छ । उनले विविध कृति तथा स्मारिकासमेत सम्पादन गरेका छन् भने उनी अनेसाससँग आबद्ध भई अनेसास कोरिया च्याप्टरको अध्यक्ष हुँदै हाल अनेसास केन्द्रीय सदस्य हुन् ।
विसं २०४२ सालदेखि प्रत्येक वर्ष ४० वर्ष उमेर ननाघेका युवा प्रतिभालाई दिईने यो पुरस्कार पहिलोपल्ट दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको थियो भने गत वर्ष विसं २०७९ का लागि बिर्खे अन्जानलाई प्रदान गरिएको थियो ।
स्थापनाकालदेखि नेपालभित्रका नेपाली साहित्यकारलाई प्रदान गरिंदै आएको यो पुरस्कार नेपाल बाहिर कर्म क्षेत्र बनाउने नेपाली भाषाका साहित्यकारले प्राप्त गरेको यो दोश्रो अवसर हो ।
दक्षिण कोरियालाई कर्मभूमि बनाएका प्रमोद सारंग अघि जापानलाई कर्मभूमि बनाएका प्रकाश पौडेल माइलाले यो पुरस्कार पाएका थिए ।