​मभित्रको ‘म’ खोज्नुछ

 

मैले वस्तु देखेँ
वस्तु देख्ने आँखा देखेँ
आँखा देख्ने मन देखेँ
त्यही मन देख्ने
मभित्रको ‘म’ खोज्नुछ।

वालुवामा मिसिएको चिनी
छुट्याउने कमिलो देखेँ
पानीमा मिसिएको दुध
छुट्याउने हाँस देखेँ
गोलमालमा मिसिएको माल
छुट्याउने ज्ञानी देखेँ
यी सबै देख्ने
मभित्रको ‘म’ खोज्नुछ ।

रङ्ग देखेँ, रुप देखेँ , आकार देखेँ
जीव देखेँ, जगत देखेँ, ईश्वर देखेँ
त्यहीँ हराईरहेको म देखेँ
यी सबै देख्ने
मभित्रको ‘म’ खोज्नुछ ।

घर बाँङ्गो भएको कर्मी देखेँ
आँङ नाङ्गो भएको सुचिकार देखेँ
लोभी अभियन्ता देखेँ
भोगी सन्त देखेँ
यी सबै देख्ने
मभित्रको ‘म’ खोज्नुछ ।

म को हूँ ? पत्तो छैन
तर चाहानाको लामो सूची छ
बाघ हो कि बाख्रा थाहै नपाई
शिकार खोज्ने हो कि चरन ?

तत्त्वबोधको अभावमा
डोरीलाई डोरी नदेख्नु
अज्ञानता होला ,
डोरीलाई सर्प देखेपछि
त्रासको विष मगजमा फैलिन्छ
र त लत्रक्लै लत्रिन्छ
भौतिक शरिर !

नाभिमा बिना बोकेर
सुवास खोज्न दौडिएको कस्तुरी झैं
भौँतारिएको छु
हराएको छ, मभित्रको ‘म’ 
त्यो भेट्न नसकेर त
यो कष्ट झेलिरहेछु !
अब त, भेट्नै पर्छ मैले
विश्वभित्र म होईन,
मभित्र विश्व छ
बुझ्नै पर्छ मैले,
ब्रह्म सत्यं जगत मिथ्या जीवोब्रमैहव नापरह
अहं ब्रम्हाश्मी ।

 

(डेनमार्क निवासी लेखक प्रभात किरण  कविताका अलावा चोटिला मुक्तक, गीत, गजल र सामाजिक सन्देशमूलक कथाहरू पनि लेख्नुहुन्छ। स्थापना कालदेखि नै अनेसास डेनमार्क च्याप्टरका साहित्यिक गतिविधिमा नजिकबाट सरसल्लाह र सहयोगमा सक्रिय रहँदै आउनुभएका उहाँको ‘सुइखुरे’ कथा संग्रह र थुप्रै फुटकर रचनाहरू प्रकाशित छन्।)

प्रतिकृया दिनुहोस्