बोस्टनमा कोइरालालाई सम्मान

नेपाली लोक संगीतकी लोकप्रिय तथा वरिष्ठ गायिका हरिदेवी कोइराला ‘वरिष्ठ श्रष्ठा सम्मान पुरस्कार’बाट सम्मानित भएकी छिन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), बोस्टनले गत अक्टोबर ८ तारिख आइतवारका दिन अमेरिकाको बोस्टन सहर स्थित पशुपतिनाथ बुद्ध मन्दिरमा एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेर कोइरालालाई सम्मान गरेको हो। अनेसास, बोस्टनले नेपाली भाषा तथा साहित्यमा योगदान पुर्याउने वरिष्ठ श्रष्टाहरुलाई सम्मान गर्ने उद्देश्यले दुइ सय अमेरिकी डलर पुरस्कार राशीको पुरस्कार स्थापना गरेको थियो। उक्त पहिलो पुरस्कार नेपाली लोक साहित्यमा अमूल्य योगदान पुर्याएको भन्दै कोइरालालाई प्रदान गरिएको हो। संस्थाका अध्यक्ष महेश्वर पन्तले उक्त पुरस्कार राशी तथा सम्मानपत्र, पुरस्कृत व्यक्तित्व कोइरालालाई प्रदान गरेका थिए। यसै अवसरमा, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाललाई पनि, नेपाली भाषा, साहित्य तथा संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कदर स्वरुप प्रशंसापत्र प्रदान गरिएको थियो।

संस्थाले जनाए अनुसार, ‘वरिष्ठ स्रष्ठा सम्मान पुरस्कार’ वर्षको एक पटक बिस वर्ष भन्दा बढि नेपाली भाषा, सहित्य, लोक साहित्य, गीत, लोक गीत, संगीत, संस्कृति, लोक संस्कृति आदिमा योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने छ। त्यस्तो व्यक्तित्व नेपाली, गैर आवासीय नेपाली तथा विदेशीसमेत हुन सक्ने छन्।

बोस्टन लोक सुसेली समूह तथा जिबिएनसिको संयुक्त संयोजनमा सम्पन्न कार्यक्रमको प्रमुख संयोजनकारीको भूमिका, अनेसास, बोस्टनका पूर्व अध्यक्ष यम पौडेल र सचिव प्रकाश खड्काले गरेका थिए। कलाकार सुशिल गौतमले सन्चालन गरेको कार्यक्रममा, ग्रेटर बोस्टन नेपाली समुदाय(जिबिएनसि-GBNC)की अध्यक्ष अन्जु थापा, सुसेलीका अध्यक्ष धनकुमार गुरुङ, अनेसास न्यूहेम्सायरका अध्यक्ष हरिमाया अधिकारी, सामाजिक व्यक्तित्व सागर खतिवडालगायतको उपस्थिति रहेको थियो। सोही मौकामा सम्मानित व्यक्तित्व तथा वरिष्ठ लोक गायिका हरिदेवी कोइरालाले गीत तथा भजनहरु प्रस्तुत गरेकी थिइन् भने, सहभागीहरुले उनलाई साथ दिएका थिए।

प्रतिकृया दिनुहोस्