अनेसास महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मान

२०८० असोज २७ काठमाडौं
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ ।
काठमाडौंको राष्ट्रय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो ।

पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्मनुभएकी विमला निरौलाले नेपाली भाषाको विकास र स‌ंवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आउनुभएको छ ।

विशेषतः नेपाली बालसाहित्यमा प्रवासबाट कलम चलाउने निरौलाले नेपाल र नेपाली साहित्यको आकाशमा छुट्टै स्थान बनाउनुभएको छ । विगतमा लामोसमयदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध भई भाषा साहित्यका क्षेत्रमा निकै सक्रिय रहनुभएको उहाँ हाल अनेसासको केन्द्रीय महासचिव हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय स्वास्थय तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत तथा प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीद्वारा हस्ताक्षरित सम्मानपत्र प्रमुख अतिथि माननीय मन्त्री मोहनबहादुर बस्नेतले अर्पण गर्नुभएको थियो ।

करिव दुई दर्जनभन्दा बढी नेपाली भाषा साहित्य तथा नेपाली गीतसंगीत एवं सामाजिक विकासमा योगदान गरिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लघुनाटक चेतनाको प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्