बस्नेतको ‘कथाजस्तै कथाहरु’ डेनमार्कमा विमोचित

 

कोपनहेगन । डेनमार्क निवासी लेखक पूर्ण बस्नेतद्वारा लिखित ‘कथाजस्तै कथाहरू’ कथासंग्रह डेनमार्कका लागि नेपाली राजदूत प्रा. डा. रामस्वार्थ रायले कोपन्हेगनमा एक साहित्यिक कार्यक्रमका बिच विमोचन गर्नुभयो।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डेनमार्क च्याप्टरले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै राजदूत डा. रायले पछिल्ला दिनमा डेनमार्कमा साहित्यिक गतिविधि बढिरहेकोले यसले नेपाली भाषा र संस्कृतिको विस्तारमा उल्लेख्य योगदान दिने बताउनुभयो । साहित्यले आफ्नो देश पनि चिनाउने भएकोले यस्ता खालका कार्यक्रमको लागि अनेसास, डेनमार्क धन्यवादको पात्र भएको उहाँले बताउनु भयो।

 

सामाजिक अभियन्ता उदयराज गौतमले अचेल मानिसहरू पुस्तक कम तर मोबाइल धेरै पढ्ने गरेको सन्दर्भ उठाउँदै पुस्तक पढ्नुको बेग्लै मजा र फाइदा हुने चर्चा गर्नुभयो। कार्यक्रमका अर्का वक्ता नेपाली जनसम्पर्क समिति, डेनमार्कका अध्यक्ष यादव बस्नेतले आफू कुनै बेला नेपाली भित्ते पत्रिका प्रकाशनमा आवद्ध भएको स्मरण गर्दै कथाकार बस्नेत लेख्ने कुराका साथै अन्य सामाजिक कार्यक्रमहरुमा पनि सहयोगी भएको उदाहरण पस्किनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका डेनमार्क अध्यक्ष तथा अनेसास डेनमार्क च्याप्टरका संस्थापक अध्यक्ष लेखक शशीकुमार ढकालले साहित्यमा अलिक स्पष्टताको जरुरी रहेको औँल्याउँदै नेपालबाट आउने एउटै नेपाली मौलिक परिकारलाई पनि फरक लेखकले फरक र विपरित तरिकाबाट आफ्ना लेखनमा समेटेको उदाहरणले आफू अलमलमा परेको बताउनुभयो । गैर आवासीय नेपाली संघ, डेनमार्कका उपाध्यक्ष तथा लेखक नील थापाले आफूले पनि लेखनमा हात हालेको चर्चा गर्दै बस्नेतको कथासंग्रहले अब पुस्तक प्रकाशनमा आफूलाई पनि थप उर्जा दिएको बताउनुभयो । थापाले सिनेमा लेखनमा बस्नेतसँग सहकार्य भइरहेकाले भविष्यमा नेपाली सिनेमामा आफूहरुको तर्फबाट कुनै खबर सुनिए त्यो आश्चर्यजनक नहुने बताउनुभयो ।

क्रियटिभ नेपालिज वुमन इन डेनमार्ककी अध्यक्ष सरु पाण्डेले बस्नेतको बहुआयामिक क्षमताको बारेमा बोल्दै साहित्यमा उर्जाशील बस्नेतको कलाकारिताबारे पनि जान्न पाएकोमा आफूलाई खुशी लागेको उल्लेख गर्नुभयो । गायिका कुसुम दाहालले बस्नेतद्वारा लिखित गीत आफूले पनि गाएको बताउँदै आफ्नो रुचिअनुसारका यस्ता लेखन र पठन कार्यमा सक्रिय हुनु निःसन्देह असल गुण भएको बताउनुभयो । अर्की वक्ता उमा दाहालले पूर्ण बस्नेतको लेखन यात्रा अझै सशक्तरुपमा अघि बढोस् भन्ने कामना गर्दै युवा जमातले यस्तो सिर्जनात्मक कर्ममा लाग्नु समुदाय र देशकै हित हुने उल्लेख गर्नुभयो ।

पुस्तकको समीक्षा गर्दै अनेसास डेनमार्क च्याप्टरका पूर्वअध्यक्ष साहित्यकार प्रकाश सापकोटाले संग्रहका कथाहरूमा विविधता पाइने र कथाकार बस्नेतको शब्द छनौट सरल तर सटिक भएको बताउनुभयो । प्रस्तुत कथा संग्रह बस्नेतको पहिलो प्रकाशित कृति भइकन पनि अनुभवी परिपक्व लेखाइ पाएको उल्लेख गर्दै कथाहरू यथार्थपरक र चाखलाग्दा छन्, भन्नुभयो।

कथाकार बस्नेतले आफैँले देखेका, भोगेका र आफ्नै वरिपरि अझै पनि विद्यमान परिस्थिति र पात्रहरू समेटेर कथाहरू लेखेको बताउँदै अब ती कथाहरू सार्वजनिक गरिसकेपछि तिनीहरूलाई कसरी बुझ्ने भन्ने पाठकका हातको कुरा भएको बताउनुभयो।

अनेसास, डेनमार्ककी महासचिव विमला शर्मा आचार्य (विद्या) ले कार्यक्रममा उपस्थित पाहुनाको स्वागत गर्दै आफ्नो रचना पनि सुनाउनुभएको थियो भने सदस्य दीपककुमार तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाशक जमुना दाहालले सम्पूर्ण अतिथिलाई उपस्थित भएर हौसला बढाइदिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अनेसास डेनमार्क च्याप्टरका अध्यक्ष समेत रहनुभएका कथाकार बस्नेतको ‘कथाजस्तै कथाहरू’ संग्रहमा बिभिन्न कालखण्डमा लेखिएका १३ कथाहरू समावेश छन् । आवरण सज्जा टाइम्स क्रियसनले तयार पारेको १ सय ४८ पृष्ठको पुस्तक मञ्जरी पब्लिकेशनले बजार व्यवस्थापनको जिम्मा लिएको छ।

प्रतिकृया दिनुहोस्