मुशायरा-जश्न-ए-गालिबमा स्रष्टाहरूद्वारा गजल वाचन

२०८० पुस ११, काठमाडौं ।

भारतीय दूतावास, नेपाल प्रज्ञा-प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रूपमा आयोजना गरेको मुशायरा – जश्न – ए – गालिबमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गरे ।

भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव हारुनी, अलताफ, अन्जर शवा, सगीना खान, तबस्सुम, फुरकान फैजी, करिम अन्जुम, बाबु त्रिपाठी, डा. सनत कुमार वस्ती लगायतले गजल वाचन गरेका थिए ।

सोही कार्यक्रममा उर्दू अकादमीका अध्यक्ष गजलकार इम्तियाज वफाको उर्दू गजलसंग्रह ‘रम्ज–ए–वफा’ पनि सार्वजनिक भयो ।

सो कृतिको समीक्षा कवि मोविन खानले गरेका थिएभने कवि गालिबको परिचय प्रा. डा. सनतकुमार वस्तीले गरेका थिए। कार्यक्रमको उद्घाटन तथा कृतिको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गरेका थिएभने कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायत अतिथिका रुपमा रहेका थिए ।

भारतीय राजदुतावासले मासिक रूपमा आयोजना गर्दै आएको ‘नेपाल–भारत साहित्य समारोह’मा यसपटक गालिबको जन्मजयन्तीको आयोजना गरिएको हो ।

गालिब विश्वप्रसिद्ध उर्दू शायर हुन् । कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले गालिबको नामसँग जोडिएको कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रतिष्ठानले भाषा साहित्यका क्षेत्रमा गर्दै आएको कामको उल्लेख  गरेका थिए ।

सो अवसरमा डा. मोविन खानले सन् १८५७ देखि सायरी परम्परा सुरु भएको बताउँदै मिर्जा गालिबको सायरी (गजल)को चर्चा गरेका थिए । सो अवसरमा प्रा.डा. सनतकुमार वस्तीले मिर्जा गालिबको गजलका शेरहरूमा दार्शनिक अभिव्यक्तिको प्रचूर गहिराई भेटिने बताएका थिए । कार्यक्रममा सिराज खान, सभापति गीता लगायतले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियाले रोचक ढंगले गरेका थिए ।

प्रतिकृया दिनुहोस्