भुटानी नेपाली साहित्य र पहिचानको प्रश्न

पछिल्लो समय भुटानी साहित्य र नेपाली साहित्यको वस्तुगत भिन्नताका सन्दर्भमा खास गरी पुनार्वासित भुटानी समुदायमा केही प्रश्न उठ्ने गरेका छन्। अधिकांश पुनार्वासित भुटानीहरू नेपाली भाषी हुन्। उनीहरू लामो समयसम्म शरणार्थीको रूपमा नेपालमै बसे। आज धेरै भुटानी नेपालीहरूको राष्ट्रिय पहिचान परिवर्तित भएको छ। राष्ट्रिय पहिचान परिवर्तनशील भए पनि मान्छेको भाषिक, सांस्कृतिक र जातीय पहिचान त्यति सजिलै परिवर्तन हुँदैन। यस परिप्रेक्ष्यमा भुटानी लेखकहरूले लेख्ने साहित्यको पहिचानलाई लिएर छलफल हुनु अस्वाभाविक होइन।

भुटानी र नेपाली साहित्य भनेर इङ्गित गरेबाट यो प्रश्न भाषाको नभई राष्ट्रियताको सन्दर्भमा गरेको बुझिन्छ किनकि ‘नेपाली’ भाषा भए पनि ‘भुटानी’ नाम गरेको कुनै भाषा छैन। भुटानी र नेपाली साहित्यबिच धेरै अन्तर छन्। भाषा, धार्मिक-सांस्कृतिक विषयवस्तु र प्रचलित प्रथा-परम्परा, ऐतिहासिक सन्दर्भ, भौगोलिक प्रभाव, साहित्यिक परम्परा (लेख्य-मौखिक), सामाजिक-राजनीतिक सन्दर्भ, वैश्वीकरणका प्रभाव आदिका आधारमा भुटानी र नेपाली साहित्यका बिच अन्तर खोज्न सकिएला।

पार-हिमालयन भाषा तथा मानव आनुवंशिकी विशेषज्ञ जोर्ज भान ड्रियमले सन् १९९२ मा गरेको अनुसन्धानलाई आधार मान्ने हो भने भुटानी साहित्य २७ प्रतिशत जोङ्खा (Dzongkha), २६ प्रतिशत नेपाली र २३ प्रतिशत साङ्ग्ला (Tsangla) मा लेखिनु पर्ने हो। यी प्रमुख तीन भाषा बाहेक भुटानमा अरू १६ वटा भाषाहरू अस्तित्वमा छन्। तथापि यी भाषाहरू सानो जनसङ्ख्याले मात्र प्रयोग गर्दछ l माथिको तथ्याङ्कमा भूतपूर्व भुटानी शरणार्थीहरू पर्दैनन्। यदि पर्थे भने यो आँकडा अर्कै देखिन्थ्यो।

सन् २०१४ मा भुटानको अनुमानित जनसङ्ख्या सात लाख ५० हजार थियो, जसमा नेपाल भाषीहरूको सङ्ख्या एक लाख ८७ हजार थियो। दुर्भाग्यवश, भुटानी राज्यसत्ताले ८० को दशकबाट अवलम्बन गरेको ‘एक राष्ट्र एक जनता’ नीतिका कारण भुटानमा नेपाली भाषा अहिलेसम्म अघोषित रूपमा निषेधित छ। यो बेग्लै सन्दर्भ भयो।

नेपाली भाषामा हामीले लेख्ने साहित्य ‘नेपाली साहित्य’ हो भन्ने कुरा ‘निर्विवाद तथ्य’ हो । तथापि यो केवल नेपाली साहित्य मात्र नभई त्योभन्दा अलिक बढी हो। धेरै अवस्थामा साहित्यलाई एकल पहिचानको परिभाषामा मात्र बाँधिरहन सकिन्न। जसरी हामी पहिचान निर्माण र विकाशको चौबाटोमा अनेकन् अनुत्तरित प्रश्नहरू सहित खडा छौँ, हाम्रो साहित्य-लेखनको पनि त्यही अवस्था छ।

साहित्यिक कृति लेखिएको भाषा यसको पहिचानको एक महत्त्वपूर्ण पक्ष हो तर कुनै पनि साहित्यको पहिचान ‘यो कुन भाषामा लेखिएको छ’ ले मात्र पनि निर्धारण गर्न सक्दैन। लेखकको पहिचान, उनीहरूको राष्ट्रियता, सांस्कृतिक पृष्ठभूमि र व्यक्तिगत अनुभव-अनुभूतिहरूले उनीहरूको साहित्य-सिर्जनाको पहिचानलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छन्। सांस्कृतिक, सामाजिक, र ऐतिहासिक सन्दर्भहरूले लेखनको विषयवस्तु, पात्र र कथानक आदिलाई धेरै प्रभाव पार्दछन् । साहित्यिक कृतिको भौगोलिक र लौकिक परिवेशले यसको पहिचानमा योगदान पुर्‍याउँछ। साहित्यिक कृतिको विषयवस्तु जस्तै समाज-चिन्तन, प्रेम, दमन, उच्छेदन, युद्ध, पहिचान, डायस्पोरा आदिले पनि यसको पहिचान परिभाषित गर्दछ।

कुनै कृतिलाई यसका पाठकले कसरी लिन्छन् साथै अन्य लेखक तथा साहित्य अध्येताहरूमा कस्तो प्रभाव पार्छ भन्ने कुराले पनि यसको पहिचानलाई आकार दिन्छ। यस अर्थमा कुनै पनि साहित्यको पहिचान कुनै सरल रेखाले परिभाषित गर्न सक्दैन जस्तो मलाई लाग्छ। खास गरी हामी जुन अवस्थाको वर्तमान बाँचिरहेका छौँ, यस अवस्थाले पनि पहिचान निर्माण र विकासको लागि बहु-आयामिक चिन्तनको अपेक्षा गर्दछ।

प्रवासमा (नर्वेमा) बसेर एउटा जमेको पोखरीमाथि हिउँ चिप्लेटीमा निमग्न केटाकेटी हेर्दै म चिराङ, लामिडाँडा (जो अहिले मेन्डेगाङमा ‘रूपान्तरित’ गरिएको छ) मा भएको मेरो घर छेउको नास्पातीको रूख सम्झँदै, टोलाउँदै आफ्नै लवजको ‘नेपाली भाषा’मा कविता लेख्छु । त्यस्तै पर्यावरणमा रुझेर कथा लेख्छु। साहित्य विश्लेषणमा नेपाल-भुटानको सीमाभन्दा धेरै टाढाको यस्तै कुनै परिवेशले तानिरहन्छ मलाई। अनि सोच्छु, मेरो यस्तो साहित्य कति पूर्ण नेपाली हुन्छ? कति भुटानी हुन्छ? कति नर्वेली हुन्छ? कि हिस्सा-हिस्सामा सबै हुन्छ? कि केही हुन्न ? यस्ता लेखनमा नेपाली भाषाबाहेक अरू ‘नेपाली’ के छ ? बृहत् प्राज्ञिक वृत्तमा यस्ता लेखनले राष्ट्रिय र भाषिक सीमाहरू पार गरेको मानिन्छ र यस्ता साहित्यिक सिर्जनालाई इङ्गित गर्न “ट्रान्स्नेशनल लिटरेचर (transnational literature)” जस्ता विशेष पदावलीको प्रयोग गरिन्छ।

वर्तमान परिप्रेक्ष्यमा हाम्रो साहित्यिक पहिचान परिभाषित गर्नु जटिल कार्य हो। म “हाइफेनेटेड पहिचान (hyphenated identity)”को अवधारणा रुचाउँछु । यो अवधारणाले कुनै पनि एकल राष्ट्रिय वा भाषिक विशेषताहरूमा सीमित हुन नसकेका साहित्यिक पहिचानहरूको जटिलतालाई सम्बोधन गर्दछ ।

साहित्यमा पहिचानको बहु-आयामिक परिप्रेक्ष्यलाई अँगालेर समृद्ध समझका साथ विविधतायुक्त आजको संसारमा आफूलाई समाहित गर्नु पर्दछ । यसो गर्दा हामी आफ्नो भाषिक-जातीय-राष्ट्रिय पहिचान सहित बृहत् नेपाली साहित्य सागरको एक हिस्सा बन्नुका साथै गतिशील विश्व ग्राममा आफ्नो दर्बिलो उपस्थिति कायम गर्न सफल हुन्छौँ भन्ने कुरामा म विश्वस्त छु।

(नर्वेको स्टाभेन्गर युनिभर्सिटीमा विद्यावारिधि गर्दै गरेका लेखक रमेश गौतम एक सक्रिय कवि/लेखक हुन्। विशेषत: भुटानी नेपाली साहित्यको उत्खनन् र उत्थानमा उनको लोभलाग्दो लगनशीलता छ।’पुनर्वासपछिका भुटानी नेपाली कविता’ शीर्षकको संग्रह लगायत भुटानी नेपाली साहित्यका पत्रपत्रिकाहरू सम्पादन गरेको अनुभव संगालिसकेका गौतमको ‘चिताको आगो साँच्चै तातो हुँदोरहेछ’ नामक कविता कृति समेत प्रकाशित छ।)

प्रतिकृया दिनुहोस्