मेरो गाउँ

 

सुनसान छ मेरो गाउँ
कति सुन्दर थियो यो ठाउँ
आज वृद्ध बा र आमा,
बाँझो पाखो मात्र छ
माया थियो, प्रेम थियो
आत्मीयता थियो
आज स्वार्थ मात्र भेटिन्छ

चाडबाडमा सिङ्गो गाउँ हुन्थ्यो
दशैँ तिहारमा परदेशी घर आउँथे
लिङ्गेपिङ र लङ्गुरबुर्जाहरु हुन्थे
बिहेबटुलमा पन्चेबाजाहरु बज्थे
बिहेभतेर र जन्ते बाख्रो हुन्थ्यो
जन्ते बाख्राको पिरो झोलले
ताजा बनाउँथ्यो रातभरीको अनिदोलाई
तर आज
शहर खोज्दै झरे गाउँलेहरू
पार्टी प्यालेसतिर सरे बिहेभोजहरू
बिरानो भयो पाखो
झाल र बुट्यानले घेरे
फुङ्ग उडेर बसेको छ मेरो गाउँ

मकै र भटमास हुन्थ्यो खाजामा
आज चाउचाउ र चाउमिन भएको छ
फल्दैनन् करेसाबारीमा सागसब्जीहरू
गाडीमा आउँछन्
बिषादीयुक्त गोलभेडा र काउलीहरू
गाउँ बिस्तारै बिरानो बन्दै गइरहेछ
झट्ट पर्दा मलामी छैनन् गाउँमा
झन भोलि कस्तो पो होला मेरो गाउँ ?

(विभिन्न नेपाली साहित्यिक पत्रपत्रिकाहरू सम्पादन गरिसक्नुभएका अनुभवी साहित्यिक पत्रकार, कवि रामसुन्दर देउजाका भाँचिएको मन शिर्षकको कविता सङ्ग्रह, मन शिर्षकको मुक्तक सङ्ग्रह, चाकाचुली शिर्षकको बाल कविता सङ्ग्रह र काभ्रेली स्रष्टा परिचय कोश लगायतका पुस्तकहरू प्रकाशित छन्।)

 

 

प्रतिकृया दिनुहोस्