साहित्यकार विमला निरौलाको यात्रामा देशको चर्चा

२०८१ जेठ ९ गते बुधवार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको आयोजनामा गत जेठ ६ गते आइतबार साहित्यकार विमला निरौलाको यात्रामा देश नामक बालकविता संग्रहमाथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा अनेसासका सल्लाहकार तथा नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले विमला निरौलाको बालसाहित्यमा रहेको योगदानको चर्चा गर्दै प्रस्तुत कृति यात्रामा देश बाल कवितासंग्रहमात्र नभएर नियात्रात्मक बाल कवितासंग्रह भएको कुरा उल्लेख गर्दै प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा लेख्न र उच्चारण गर्न सिकाउन रोमन लिपिमा समेत लेखिएको कुरा विमलाको गज्जपको परिकल्पना भएको बताउनुभयो ।

त्यसै गरी समालोचक लीला लुइटेलले प्रवासमा बसेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पठन तथा लेखनका लागि यो पुस्तक अत्यन्त उपयोगी भएको र नेपालका धार्मिक, पर्यटकस्थलहरुको विषयमा अध्ययन अनुसन्धान गरी त्याहाँको वस्तुस्थितिका विषयमा कवितात्मक शैलीमा लेखिएकोले यस कृतिको महत्व अधिक मात्रामा रहेको बताउनुभयो । त्यसैगरी उहाँले पुस्तकमा नेपाली खाना जस्तैः भक्तपुरको जुजुद्यौ, सेलरोटी अचार, सिन्धुलीको जुनारजस्ता कुराको वर्णन गरेर ती खाने कुरा खाएर बिर्सेका खानाका पारखीहरुको मुखै रसाउने गरी कवितामा उल्लेख गर्दै नेपाली खानाका विषयमा पनि बालबालिकालगायत हामीजस्ता वयस्क वृद्धहरुलाई पनि यथेस्ट जानकारी दिने पुस्तक रहेको बताउनुभयो । उहाँले पुस्तकमा वर्णित धेरै स्थानहरु विश्व सम्पदासूचीमा रहेको हुँदा त्यस कुरालाई पनि कवितात्मक रुपमा उल्लेख गरिदिएको भए अझ ती स्थानहरुको महत्व र कृतिको महत्वमा वृद्धि हुने कुरा बताउनुभयो ।

त्यस्तै कृतिका भूमिकाकार वरिष्ठ साहित्यकार खेमनाथ दाहालले कृतिमाथि चर्चा गर्दै अंग्रेजी जानेका तर नेपाली बोल्न लेख्न नजानेका बालबालिकाहरु विशेष गरी विदेशमा जन्मी हुर्केका तेस्रो पुस्ताका बालबालिकाहरुलाई कृति अत्यन्त उपयोगी रहेको बताउनुभयो । उहाँले कविताको शुरुवात सृष्टिकालदेखिनै खोला नाला झरना रुखविरुवाको चलायमान अवस्थाबाट निस्केको ध्वनिबाटै भएको कुरा बताउँदै विमला निरौला नेपाली साहित्याकाशमा एउटा नक्षत्रको रुपमा रहेकी र उनले आफू आबद्ध संघ संस्थामा गरेका कार्यहरु हेर्दा नेतृत्व दिनसक्ने हैसियत बोकेकी सफल संगठनकर्ता रहेको कुरा पनि बताउनुभयो ।

अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, अनेसासका सल्लाहकार तीर्थ अधिकारीले विशेष गरी नेपाली बालसाहित्यमा योगदान गरेकी विमला निरौलाको यात्रामा देश बाल कवितासंग्रह प्रवासमा रहेका हरेक नेपाली भाषाका पाठशालामा उपलब्ध गराई पाठ्यक्रममा राखिनुपर्ने कुरा बताउनुभएको थियो ।

कार्यक्रममा अधिकांश वक्ताहरुले यात्रामा देश बालकविता संग्रहलाई कोठामा नथन्क्याएर यसलाई अनेसास वा अनेसासजस्तै नेपाली भाषा साहित्यका लागि काम गर्ने संघसंस्थाले बिक्री वितरण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै गरी अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले विमला निरौला नेपाली वाङ्मयमा परिचित नाम रहेको र उनको सांगठनिक क्षमता पनि अनेसाससँग आबद्ध भई उनले गरेका कार्यहरुबाट आम विश्व नेपाली साहित्यमाझ प्रष्ट भइसकेको कुरा बताउनुभएको थियो ।

अनेसासका सल्लाहकार पुरु सुवेदीले विमला निरौला साहित्यकार बालसाहित्यकार मात्र नभएर उहाँले आफू उपस्थित कार्यक्रममा मार्मिक र भावप्रद गीत प्रस्तुत गरी कार्यक्रमा उपस्थित सम्पूण अतिथिहरुलाई भावुक बनाउने गरेको कुरा स्मरण गर्दै यात्रामा देश कवितासंग्रहका कविताहरुलाई अंग्रेजीमा अनुवादसमेत गर्नुपर्ने कुरा बताउनुभयो ।

त्यस्तै अनेसास बिओटीका महासचिव प्रकाश नेपालले पनि यात्रामा देशका कविताहरुलाई अंग्रेजी अनुवाद गर्नुपर्ने कुरामा जोड दिँदै विमला निरौलाको व्यक्तिगत र सांगठनिक पहिचानका विषयमा बताउनुभएको थियो ।

अनेसास बोर्ड अफ ट्रस्टीका ट्रस्टी सदस्य पर्शुराम भण्डारीले साहित्यकार विमला निरौलाको व्यक्तिगत र सांगठनिक क्षमताको चर्चा गर्दै आगामी अनेसासको नेतृत्वमा विमला निरौलाको आवश्यकता रहको कुरा बताउँदै कृति यात्रामा देशमाथि आफ्नो मन्तव्य राख्नुभएको थियो ।
अनेसास केन्द्रीय कार्यसमितिका सदस्य तारा अधिकारीले सुमधुर शैलीमा सञ्चालन गरेको उक्त कार्यक्रममा यात्रामा देश कृतिबाट बालकविहरू सचिन चापागाईं र प्रशुन पौडेलले कविता वाचन गरेका थिए ।

कार्यक्रममा अनेसास पोर्चुगल च्याप्टरकी सचिव गोमा निरौलाले यात्रामा देश कृति र विमला निरौलाको कवितामार्फत प्रशंसा गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो । शुभकामना मन्तव्य दिने क्रममा अन्य अतिथिहरु— अनेसासका वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सदस्य सुदीपभद्र खनाल, अनेसास महिला समिति सदस्य गोमा न्यौपाने, बेल्जियम च्याप्टरका पूर्व अध्यक्ष डिल्ली अमगाईँ, राम न्यौपाने, ट्रस्टी मोहन निरौला, अनेसास बालसमितिका संयोजक डा. प्रकाश पौडेल, अनेसास पोर्चुगल च्याप्टरका महासचिव एनबी अन्जान, नर्दन क्यालिफोर्निया च्याप्टरका उपाध्यक्ष रीतादेवी प्रधान, डिसी च्याप्टरका आमन्त्रित सदस्य तथा साहित्यकार जगन्नाथ पौडेललगायतले साहित्यकार विमला निरौलाको प्रशंसा गर्दै यात्रामा देश बाल कवितासंग्रहमाथि चर्चा गर्नुभएको थियो ।

कार्यक्रम समापन गर्ने क्रममा कार्यक्रमका सभापति एवं अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले पदम विश्वकर्माको नेतृत्वकालमा अध्यक्षसँग आफूले गरेको कुराको स्मरण गर्दै अनेसासकी वर्तमान महासचिव विमला निरौलाको सक्रियताले अहिले आफूलाई समेत पछि पछि दौडाइरहेको छ भनेर निरौलाको कार्यकौशलताका बारेमा खुलेर प्रशंसा गर्नुभयो । उहाँले यात्रामा देश कृतिको महत्वबारेमा प्रकाश पार्दै यो कृतिलाई व्यक्तिगत तर्फबाट पनि प्रचारप्रसार र वितरणमा भूमिका निर्वाह गर्ने र अनेसासले पनि यसको वितरणमा भूमिका निर्वाह गर्नुपर्ने कुरा बताउनुभयो ।

भर्च्युअल ‘जूम’ मार्फत भएको यस कार्यक्रममा यात्रामा देश कृतिका सम्पादक तथा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाललगायत साहित्यानुरागीहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्