अनेसासको दोस्रो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

 

२०८१।१७ बिहिवार  ।

अनेसास बालसमितिको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन गत २५ मे २०२४ मा ७ बुँदे  घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

जूममार्फत संचालन भएको यस सम्मेलनमा अस्ट्रेलिया, जापान, कोरिया, अमेरिका, क्यानडा, पोर्चुगल, नेपाल लगायतका मुलुकका ३० जना भन्दा बढी बालबालिकाहरुले आ-आफ्नो रचानावाचन र अन्य विविध संस्कृत मन्त्र, वेद पाठ, सांस्कृतिक एवं गायन प्रतिभाहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्पूर्ण अतिथि एवं सहभागीहरूलाई बाल तारा समिति सदस्य तारा उप्रेतीले स्वागत गरेलगतै अस्ट्रेलियाबाट प्राची सापकोटाको स्वस्ति वाचन र आचार्य राजन शर्माको बाल संस्कार प्रवचनपछि बालप्रतिभा एवं रचना वाचन सुरू भएको थियो । 

सम्मेलनमा अनेसास बालतारा साहित्यिक कार्यक्रममा गएको दुई वर्षमा साहित्यिक एवं सांस्कृतिक प्रतिभा प्रस्तुत गर्ने विभिन्न देशका १० बालबालिकाहरुलाई अमेरिकी १०५ डलर नगद सहित बालतारा सम्मानबाट पुरस्कृत गरिएको थियो। साथै विगतमा भएका बालतारा कार्यक्रमबाट संकलित सबै देशका बालबालिकाहरुका सिर्जनाहरुलाई समेटेर प्रकाशन गरिएको प्रवासी बालसिर्जना किताबको सार्वजनिकरण समेत गरिएको थियो । सो कार्यक्रममा अमेरिकाको नेपाली बालसाहित्यको कार्यपत्र क्यानाडाबाट सुरेन उप्रेती र अस्ट्रेलियाको बालसाहित्य साथै बाल समितिको गतिविधिहरू बारे डा प्रकाश पौडेलले मन्तव्य राखेका थिए ।

अनेसासका अग्रज प्रतिनिधिहरू साथै कार्यक्रमका अतिथिहरूले बालबालिकाका लागि नेपाली भाषाा पाठशालाको थप व्यवस्था तथा उनीहरूलाई नेपाली साहित्यको मूलधारमा समाहित गर्न अब उपयुक्त बेला भएको र अनेसासले यसमा अग्रणी भूमिका खेल्नु पर्ने साझा विचार राखेका थिए ।  कार्यक्रममा आफ्नो मन्तव्य राख्नेमा अनेसास बिओ‌टी सल्लाहकार रोहिणी शर्मा, बिओटी अध्यक्ष पदम विश्वकर्मा, बिओटीका पूर्व सचिव शिव लामिछाने, केन्द्रीय अध्यक्ष गोवर्धन पूजा, जरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला थिए ।

त्यसैगरी प्रमुख अतिथि प्रमोद प्रधान र विशेष अतिथि बालसाहित्यकार शिव लामिछाने र सौरभकिरण श्रेष्ठले पनि आफ्नो मन्तव्य राखेका थिए  । बालसमितिका सदस्य तथा अनेसास ट्रस्टी रीतादेवी प्रधानले धन्यवाद ज्ञापन र अर्की सदस्य यशोदा अधिकारीले ७ बुँदे घोषणापत्र पढेर सुनाएका थिए ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान प्रमुख अतिथि रहेको उक्त सम्मेलन बालतारा साहित्य समितिका संयोजक डा प्रकाश पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो। सम्मेलनको सञ्चालन जापानबाट बालसमिति सदस्य अर्जुन सडौला तथा बालबालिकाहरू रेभा शाह अस्ट्रेलिया तथा सचिन चापागाई र आभास अर्याल अमेरिकाले संयुक्त रूपमा नेपाली भाषामा नै सञ्चालन गरेका थिए ।

 

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रय बालसमितिद्वारा आयोजित बालसाहित्य सम्मेलनबाट पारित सात बुँदे घोषणापत्र —२०२४

१ नेपाली भाषा, साहित्यको विकास र विस्तार गरी विश्व समुदायसम्म पुर्याउन संसारभर छरिएर रहेका नेपाली भाषी स्रष्टाहरूको विशेष योगदान रहिआएको छ । बाध्यता, विविशता वा आवश्यकताले विश्वका जुनसुकै ठाउँमा पुगेका नेपाली अभिभावका बालबालिकामा नेपाली भाषा, कला,साहित्य, सस्कृति, रहनसहन, धर्म परमपरा तथा नेपालीपन जगाई निरन्तरता दिन यो सम्मेलन सम्पूर्ण विश्व नेपाली भाषीहरूलाई आग्रह गर्दछ ।

२.साहित्यका विभिन्न विधामा अन्तर्राष्ट्रियस्तरका थुप्रै कार्यक्रमहरू हुने गरेको देखिन्छ तर नेपाली बालबालिकालाई लक्षित गरी  अन्तर्राष्ट्रिय कार्यक्रमहरू हुन नसकिरहेको अवस्थामा अनेसासले केन्द्रीय बालसमिति गठन गरी वृहत् कार्यक्रम गर्न सुरु गरेको अवस्थामा यस्ता कार्यक्रमहरु राष्ट्रिय, अन्तराष्ट्रिय तथा महादेशीय रूपमा अझ वृहत् रूपले आयोजना गर्दै लैजान यो सम्मेलनले   जोड  दिएको छ ।

३.  देश छोडेर परदेशीयका अभिभावकका बालबालिका विदेशी रहनसहन, संस्कार संस्कृति र सिर्जनामा हराउने अवस्था आइरहेको अवस्थामा अनेसास बालसमितिले आयोजना गर्दै आएको यस प्रकारको सम्मेलन त्यस्ता बालबालिकाका सिर्जनालाई समेटेर प्रवासी बाल सिर्जना पुस्तक प्रकाशनलाई  अघि बढाउँदै लैजान प्रस्ताव गर्दछ ।

४.विभन्न मुलुकमा रहेका बालबालिकालाई नेपाली भाषा बोल्न र लेख्न सक्ने बनाउन विभिन्न देशका अनेसास बालसमितिहरूले भाषा पाठशाला संचालन गर्ने गरी कार्यक्रम बनाउन र कार्यान्वयन गर्न पनि यो सम्मेलन आह्वान गर्दछ ।

 ५.विभिन्न मुलुकमा रहेका नेपाली भाषा विद्यालयहरूमा बालसाहित्य लेखक कार्यशाला संचलन गरी बालसाहित्य लेखनमा बालबालिकालाई प्रोत्साहन गर्न पनि यो सम्मेलन आह्वान गर्दछ ।

६.नेपाली भाषामा सिर्जना गर्न सक्ने बालप्रतिभाहरूको पहिचान गरी उनीहरुलाई कृति प्रकाशनमा प्रोत्साहन गर्न सम्बन्धित मुलुकका अनेसास च्याप्टारसमक्ष यो बालसम्मेलन आग्रह गर्दछ ।

७.नेपाली साहित्यलाई अन्तर्राष्ट्रमा पुर्याउन नेपाली साहित्यमा प्रकाशन भएका कृतिहरूको अंग्रेजी र अंग्रेजी भाषाका बालसाहित्यका कृतिलाई नेपालीमा अनुवाद गर्न पनि यो सम्मेलन आह्वान गर्दछ ।

प्रस्तुत समाचार अनेसास केन्द्रीय बालसमितिका सदस्य यशोदा अधिकारीले  तयार पारेका हुन् ।

 

 

 

प्रतिकृया दिनुहोस्