प्रिय तिमी कवि नै बन्नुपर्छ  

प्रिय तिमी कवि नै बन्नुपर्छ  

सीता सापकोटा


हिमाललाई पहाडसँग जोड्नुपर्छ
तराइमा पैतलाको छाप छोड्नुपर्छ  
आफ्नै भाषा, भेष, परिवेशमा रम्नुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !! प्रिय !!

सयपत्रीको मालासँगै गाँसिनुपर्छ  
सप्तरङ्गीको टीकासँगै सजिनुपर्छ  
हरेक पल साहित्यसँग जोडिनुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !! प्रिय !!

सीताको सतीत्वलाई बुज्न सक्नुपर्छ
भृकुटीको महिमालाई कोर्न सक्नुपर्छ
मेची-महाकाली एकैसूत्रमा जोड्नु पर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !! प्रिय !!

खाडीमा सेकिनेको व्यथालाई देख्नुपर्छ
नाबालक छोड्ने आमाको कथा लेख्नुपर्छ
छोराको बाटो हेर्ने  बाबुको आँखा पढ्नुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !!  प्रिय !!

लालीगुरॅास फुलसरि फक्रिनुपर्छ
बिहानी शीतको थोपासरि टल्किनुपर्छ
वीरहरूको गाथा बोकी लम्किनुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !! प्रिय !!

कोइलींको कुहु-कुहुसँगै  रम्नुपर्छ
देउडा र झ्याउरेको तालमा झुम्नुपर्छ
प्रत्येक  नेपालीको मनभित्र पुग्नुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ  !! प्रिय !!

सगरमाथाको उचाइमा पुग्नुपर्छ
सुर्य-किरणको तेजजस्तै कुद्नुपर्छ
स्वर्गसरि सुन्दर परिवेशलाई लेख्नुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !!  प्रिय !!

बुद्धको बुद्धत्वलाई सिक्नु र सिकाउनुपर्छ
देशलाई दुख्दा तिमीलाई पनि दुख्नुपर्छ
चन्द्र र सुर्य अङ्कित झन्डा देख्दा झुक्नुपर्छ
प्रिय तिमी कवि नै बन्नुपर्छ !! प्रिय !!

साविक अमरापुरी-६ नवलपरासी हाल गैंडाकोट नगरपालिका १६, पूर्वी नवलपरासी स्थायी ठेगाना र फेडरल हाइट कोलोराडो अमेरिका बसोबास गर्दै आइरहेकी  सीता सापकोटा पिता  डिलाराम सापकोटा, माता रतिकला सापकोटाकी सुपुत्री तथा  सेनुप्रसाद तिवारीकी धर्मपत्नी हुन् ।
प्रतिकृया दिनुहोस्