“गुञ्जन” २६ औँ वार्षिकोत्सवमा स्रष्टाहरू पुरस्कृत र सम्मानित

२०८१ असोज ४, काठमाडौँ ।

नारी साहित्य संस्था “गुञ्जन”ले हिजो असोज ३ गते नेपाल प्रज्ञा-प्रतिष्ठानमा स्थापनाको २६ औँ वार्षिकोत्सव मनाएको छ । 

गुञ्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतिमा सम्पन्न सो कार्यक्रममा “गुञ्जन त्रिवेणी आख्यान पुरस्कार सम्मान”बाट वरिष्ठ आख्यानकार राजेन्द्र विमल सम्मानित भएका छन् । 

यसैगरी “गुञ्जन नारी साहित्य प्रतिभा पुरस्कर सम्मान” बाट साहित्यकार उमा सुवेदी सम्मानित भएकी छन् ।  “गुञ्जन साहित्य पुरस्कार सम्मान”बाट साहित्यकार राधेश्याम लेकाली सम्मानित भएका छन् भने “गुञ्जन मातृभाषा पुरस्कार सम्मान”बाट अपर्णा प्रधान सम्मानित भएकी छन् ।

यसैगरी “गुञ्जन लक्ष्मीराज भण्डारी बाल पुरस्कारबाट श्रीयङ्का बस्नेत र “गुञ्जन जेष्ठ नागरिक पुरस्कार सम्मान”बाट साहित्यकार हिरण्यकुमारी पाठक सम्मानित भएका छन् । “गुञ्जन उन्नति गीतकार पुरस्कार सम्मान’बाट गीतकार शीला पन्त र साहित्यक सहकार्यमा कार्यक्रम गरेका दुई संस्थाका प्रमुख मचान कन्ट्री भिल्ला चितवनका प्रकाश श्रेष्ठ र किरण श्रैष्ठलाई र भिम विराग संगीतका अध्यक्ष केशवलाल श्रेष्ठलाई गुञ्जन सम्मान प्रदान गरिएको थियो । 

सो पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भुपाल राई र अध्यक्ष जलेश्वरी श्रेष्ठले प्रदान गरेका थिए । कार्यक्रममा बालकलाकार श्रीयङ्काको  आर्कर्षक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा संस्थाकी सचिव साहित्यकार सन्ध्या पहाडीले पुरस्कृत र सम्मानित स्रष्टाहरुको परिचय राखेकी थिइन् भने साहित्यकार सिर्जना शर्माले स्वागत र इल्या भट्टराईबाट धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रमको सहजीकरण महासचिव सुष्मिता नेपालले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्