त्यो दशैँ पो दशैँ- निश्मा
त्यो दशैँ पो दशैँ
त्यो दशैँ पो दशैँ
जुन बेला
भदौरे वर्षासँगै को पारिलो घामले
दशैँलाई निम्तो दिएझैँ लाग्थ्यो ;
अनि तीजताका
रातो पहिरनमा महिलाहरूको लर्को देख्दा
दशैँको जन्ती गएझैँ महसुस हुन्थ्यो ।
त्यो दशैँ पो दशैँ
जुनबेला
विश्वकर्मा पूजासँगै किनमेलको चटारो हुन्थ्यो ;
गाउँ जाने रौनकसँगै उत्साहको पेटारो हुन्थ्यो ।
त्यो दशैँ पो दशैँ
जुन बेला
स्कूलमा दशैँको एक महिने छुट्टी हुन्थ्यो ;
बिदामा दिइएका होमवर्क थाती राखी
दशैँको लुगा किन्न भौँतारिइन्थ्यो।
चङ्गा र लट्टाईको बजार हुन्थ्यो ;
अरूको चङ्गा चैट गर्दा
आकाश नै जितेझैँ लाग्थ्यो ।
त्यो दशैँ पो दशैँ
जुन बखत
फूलपातीको सखारै
उठेर गाउँ जान तयार होइन्थ्यो ;
आमाले बान्ता नहुने ओखती,
कागती अनि प्लास्टिक राख्नुहुन्थ्यो ।
सायद पाँच-छ वर्षको हुँदो हुँ ,
त्यो ओखती अमृतझैँ लाग्थ्यो ;
पेट हुँडल्दै आन्द्रा बटारिने गरी
हुने बान्ता रोकिँदा
बल्ल यात्रा रमणीय लाग्थ्यो ।
त्यो दशैँ पो दशैँ
जुनबेला
गाउँ जाँदै गर्दा
बाटोका बुट्यान अनि भीर-पाखाले
मन पुलकित बनाउँथ्यो ;
दोलालघाट अनि खाडीचौरमा रोकेर
हरिया सुन्तला किनिन्थ्यो ,
अनि झ्यालको सीटमा बसेर
खोलानाला हेर्दै यात्रा गरिन्थ्यो ;
खोलाको वेगसँगै
मन एक तमास हुन्थ्यो ।
त्यो दशैँ पो दशैँ
जुन बखत
गाउँ पसेसँगै हावाले नि अँगालेझैँ लाग्थ्यो
माटोको सुगन्धले स्वर्गको अनुभूत हुन्थ्यो
लिङ्गे पिङ,रातो टीका, जमरा
शरदका सयपत्री अनि भमरा
आहा !!
त्यो दशैँ पो दशैँ !!!
कवि निश्माको वास्तविक नाम नीरा श्रेष्ठ हो । उहाँ पेशाले स्वास्थ्यसेवामा विगत डेढ दशक देखि कार्यरत हुनुहुन्छ । उहाँ साहित्यक विधामध्ये कविता विधामा कलम चलाउने गर्नुहुन्छ । स्पष्ट , मिठासपूर्ण अनि शुद्ध लेखन उहाँको लेखनको राम्रो पक्ष हो । ललितपुर स्थायी निवासी उहाँका रचनामा देशप्रेम अनि सकारात्मक भावनालाई बढी जोड दिइएको पाइन्छ ।