‘प्रेमको आदिम गीत’ माथि परिचर्चा र विशेष कविता वाचन सम्पन्न

काठमाडौँ । “शान्ति र समावेशिताका लागि कविता एक सेतु” भन्ने नारा सहित विश्व कविता दिवसको अवसरमा  वर्तमान कविता समूहले  ‘प्रेमको आदिम गीत’ नामक कविता सङ्ग्रहको परिचर्चा तथा विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित सुगम एकेडेमीमा भएको कार्यक्रममा डा. बालराम अधिकारी, रजनीमिला र केशव सिग्देल लगायतले आफ्ना विचारहरू राख्नुभयो ।

सञ्जय सुमनले सञ्चालन गर्नुभएको कार्यक्रममा डा. बालराम अधिकारीले पछिल्ला वर्षहरूमा नेपाली साहित्यमा कविता सर्वाधिक अनुवादित विधा भएता पनि यो सबैभन्दा कठिन र चुनौतीपूर्ण भएको बताउनुभयो ।

वाल्ट ह्विटम्यान र जोन मिल्टन जस्ता विश्वविख्यात कविहरूको उदाहरण दिँदै रजनीमिलाले ‘आदिम प्रेमको गीत’ सङ्ग्रहमा समावेश नेपाली कविताहरूको संरचनागत र विषयगत उत्कृष्टताको चर्चा गर्नुभयो । केशव सिग्देलले अनुवादका विभिन्न पक्षहरूको विस्तृत विश्लेषण सहित सङ्ग्रहित कविताहरूमा व्यक्त प्रेमको प्रकृति र शैलीबारे गहन छलफल गर्नुभयो ।

कविता वाचन कार्यक्रमको अर्को रोचक र विशेष आकर्षण रहेको थियो । प्रमोद स्नेही, भीष्म उप्रेती, बिमल भौकाजी, टङ्क उप्रेती, सुमन थापा ‘संगम’, सुमी लोहनी, शोभा शरभ, सुवास सिंह पराजुली, रूपसिंह भण्डारी, दिल कुमारी डंगोल, सबिता गौतम दाहाल, हिरादेवी वाइबा, विनायक पन्त, नरेन्द्र बहादुर श्रेष्ठ, देवेन्द्र अर्याल ‘आँसु’, ईश्वर थोकर लगायतका कविहरूले आफ्ना रचना वाचनमार्फत पस्किनुभएको कलात्मक प्रस्तुतिले उपस्थित श्रोताहरूलाई मन्त्रमुग्ध बनायो ।

वर्तमान कविता समूहका सदस्य धीर कुमार श्रेष्ठले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

‘प्रेमको आदिम गीत’ एघार जना कविहरूका सशक्त कविताहरूको संग्रह हो । संग्रहित प्रेमकविताहरूको अङ्ग्रेजी अनुवाद समेत समाविष्ट उक्त संग्रह प्रेम दिवसको अवसरमा सार्वजनिक गरिएको थियो ।  प्रेमका विभिन्न आयामहरू गहन भावमा प्रकट गरिएका संग्रहमा कविहरू विधान आचार्य, भीष्म उप्रेती, टंक उप्रेती, रमी प्रिया, सुमन थापा संगम, दिलकुमारी डङ्गोल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, सन्जय सुमन, विश्व सिग्देल र ईश्वर थोकरका कविताहरू छन् ।

प्रतिकृया दिनुहोस्