रोदनद्वारा लिखित ‘अभिवन्द्य’को तेस्रो संस्करण सार्वजनिक

काठमाडौं । निबन्धकार श्रीओम श्रेष्ठ’रोदन’द्धारा लिखित व्यक्ति निबन्धसंग्रह “अभिवन्द्य”को तेस्रो संस्करण हालै सार्वजनिक गरिएको छ ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा भएको एक कार्यक्रमका बीच प्रा.डा. लक्ष्मणप्रसाद गौतम, समालोचक प्रमोद प्रधान, निबन्धकार ‘रोदन’ लगायतले उक्त निबन्धसंग्रहको लोकार्पण गरे ।
राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा उक्त कृतिमाथि समालोचनात्मक मन्तव्य राख्दै वरिष्ठ समालोचक प्रा.डा. गौतमले पुस्तक पढ्नु भन्दा मान्छेलाई पढ्न कठीन हुने उल्लेख गर्दै निबन्धकार रोदनले यो दुस्साहस गरेका बताए । अभिवन्द्य मान्छे पढेर निस्केको निबन्ध कृति भएको ठहर गर्दै रोदनले नयाँ शैलीको आविस्कार गरेका भन्न सकिने उनको जिकिर थियो ।
शुभकामना मन्तब्य दिंदै समालोचक प्रधानले सरल भाषाशैलीमा मीठो ढंगले आएका निबन्धहरुले सबै पाठकको माया पाउने विश्वास व्यक्त गर्दै आफ्नो बारेमा लेखिएको निबन्ध समेत समावेश कृति सार्वजनिक गर्न पाउनु सुखद भएको बताए ।
कृतिको रचनागर्भको बारेमा जानकारी दिँदै विमोचित कृतिका स्रष्टा रोदनले भोली के हुन्छ भनेर भन्न नसकिने बताउँदै आफूलाई शालिक र स्मृतिग्रन्थप्रति उतिसारो विश्वास नभएकोले जिउँदै सम्मान गर्ने र सम्मानग्रन्थ निकाल्ने मार्ग समातेको प्रष्ट पारे ।
समीक्षक प्रदीप सापकोटाले विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सामिप्यता, उठबस, भोगाइ, सरसंगत, सहकार्य, यात्रा र उनीहरुका योगदानलाई निजात्मक अनुभूतिको चास्नीमा मज्जैले घोलेर लेखिएका व्यक्ति निबन्धहरु पठनीय भएको बताए। काव्यात्मक जस्ता मीठासपूर्ण निबन्धहरू समाविष्ट कृतिले सत्कर्म गर्नेहरुप्रति वन्दना गरेको उनको ठम्याइ थियो ।
प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले संस्थाको बारेमा जानकारी दिंदै केही गरौं भन्ने भावनाले नै प्रतिष्ठानको स्थापना गरिएको बताए भने सदस्य पूर्णबहादुर श्रेष्ठ ‘ह्रदयङकृत’ले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिष्ठानका कोषाध्यक्ष तारा केसीले स्वागत गरेको उक्त कार्यक्रम कवि तथा सञ्चारकर्मी ठाकुर बेलवासेले सञ्चालन गरेका थिए ।