बोस्टनमा गजल उत्सव – ६ र बिडिएको पाँचौँ आधिवेशन

बोस्टन समाचार
प्रवासमा नेपाली साहित्य र संस्कृतिलाई जोड्न गजलयात्राको क्रमलाई निरन्तरता दिँदै ‘गजल उत्सव- छ’ को प्रस्तुति हुनेभएको छ । अमेरिकाको सुन्दर सहर बोस्टन र त्यसैको नजिकै ब्रेनट्रिमा रहेको नेपाली कम्यूनीटि सेन्टर 594 Washington St, Braintree MA मा जुलाई १९-२०, २०२५ मा हुने दुईदिने कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिका (बिडिए) को पाँचौँ अधिवेशनसमेत हुनेभएको छ ।
सन 2009 मा ‘रक्त दान नै जीवन दान हो’ भन्ने नारा समातेर गठन भएको विशुद्ध सामाजिक संस्था ब्लड डोनर्स अफ अमेरिका (बिडिए)ले अमेरिका बस्ने नेपाली मुलका समुदायहरुलाई रक्तदानको माध्यमबाट अमेरिकी समुदायसँग जोड्ने र रक्तदानले मानिसको ज्यान बचाउन सकिन्छ भन्दै विभिन्न स्वास्थ्य शिविरहरू लगायत विभिन्न अभियानहरु संचालन गर्दैआइरहेको छ। अमेरिकादेखि नेपालसम्म पनि यस्का अभियानहरु चल्दै आएका छन्।
जुलाई 19 र 20 मा हुने बिडिएको अधिवेशन तथा गजलउत्सव-६ लाई भव्यर सभ्य रूपमा सफल बनाउन केन्द्रीय उपाध्यक्ष महेश्वर पन्तको प्रमुख संयोजकत्वमा पूर्ण समिति गठन पनि भइसकेको कुरा बिडिए म्यासाचुसेट्स राज्यका अध्यक्ष राम थापाले जानकारी दिए ।
अध्यक्ष थापाले कार्यक्रमबारे जानकारी दिने क्रममा शनिवार साँझ विशेष गजल गायन तथा सांस्कृतिक साँझ रहने र आइतवार अमेरिकामा रहेका उम्दा र चलिआएका गजलकारहरुको विशेष गजल वाचनको श्रवण गरेर रमाउन सकिने छ भन्दै सबै संघ संस्था, समाजमा रहेका समाजिक आभियन्ताहरुलाई सहभागिताका लागि विशेष आह्वान पनि गरे।
राजनीति र भेदभावको अभिप्रायबाट टाढा बसेर सामाजिक रुपान्तरण गर्न पर्छ भन्ने मूल नीति अँगालेको यस सँस्थाले हाम्रो नेपाली समाज पनि रक्तदानमार्फत समाजमा असल चेतना दिन सक्छ भन्ने देखाएको छ ।
संस्थाले पहिलो अधिवेशन विशेष कार्यक्रमसहित 2016 मा टेक्सासमा, दोस्रो अधिवेशन 2018 सालमा जर्जियाको अट्लान्टामा सम्पन्न गरेको थियोभने तेस्रो अधिवेशन 2020 मा कोलोराडोमा हुने घोषणा भएको थियो यद्यपि कोभिडको कारणले जूम रिमोट प्रविधीको प्रयोग गर्दै 2021 मा सम्पन्न भएको थियो । त्यसैगरी 2023 मा मेरिल्यान्डको सुन्दर सहर बाल्टिमोरमा चौथो अधिवेशन भएको थियो ।
हाल पाँचौँ अधिवेशनको संघारमा उभिएको बिडिएले थप नयाँ कार्यक्रमहरु ल्याउने, स्मारिका निकालेर समाजलाई जानकारी दिने, बिधानको आवश्यक संशोधन गरेर संस्थामा नेपाल भन्ने शब्द जोडने, लोगोमा नेपालको झन्डा पनि देखिने गरी राखेको छ। विधान संसोधन तथा सबै काम वैधानिक तवरले पूरा गर्न पूर्व अध्यक्ष डा. लिलाराज दाहालको नेत्रित्वमा समिति समेत गठन भएको छ। ऊक्त नयाँ कामको बैधानिकता बोस्टनमा हुन लागेको अधिवेशनले प्रदान गर्ने छ भन्ने कुरा बिडिएका हालका केन्द्रिय अध्यक्ष भुषणलाल श्रेष्ठले बताए ।