चार पुस्ताले लोकार्पण गरे कवि सङ्गमको ‘अभ्युदय’

काठमाडौं । कवि सुमन थापा सङ्गमको ‘अभ्युदय’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ ।
चर्चित कवि र साहित्यकारहरुको उपस्थितिमा राजधानीमा आयोजित एक अनौपचारिक कार्यक्रमका बिच कविका ८४ वर्षीय पिता, छोरी र नातिनातिनीहरू समेतले उक्त कृतिको लोकार्पण गरे ।
लोकार्पण कार्यक्रम आफैँले सञ्चालन गर्दै अभ्युदयकी कवि सङ्गमले आफ्ना चार पुस्तालाई संगै राखेर साहित्यका केही प्रतिनिधीमूलक महानुभावहरुको समुपस्थितिमा कृति सार्वजनिक गर्न पाउँदा हर्ष व्यक्त गरिन्- ‘यो भन्दा खुशी मेरो लागि के हुन सक्छ र !’
डा.शेखर कुमार श्रेष्ठले लोकार्पित कृतिमाथि चर्चा गर्दै अभ्युदयमा प्रेम विषयका कविताहरु बढी भएको बताए । ‘प्रेमका अनेकानेक आयाम बाबुआमा प्रतिको प्रेम, प्रेमीप्रेमिकाको प्रेम, देशप्रेम, पशु र प्राकृतिक चिजवस्तुहरुमाथिको प्रेम कविताहरुमा छरिएका छन् ।’ भन्दै उनले थपे- ‘स्वच्छन्दवाद, नीजात्मक, आशा र निराशाहरु पोखिएका प्रतिकात्मक चेतका कविताहरुमा मनका पीडाहरु पनि आएका छन् ।’
कवि सङ्गमकी छोरी समिक्षा केसीले कार्यक्रमका सहभागी सबैलाई स्वागत गर्दै आफ्नी आमाको खुशी बढाउन उपस्थित सम्पूर्ण आदरणीयजनहरुप्रति आभार प्रकट गरिन् ।
अनौपचारिक रुपमा गरिएको उक्त कार्यक्रममा कवि श्रीबाबु कार्की, रमी प्रिया, विश्व सिग्देल र प्रोल्लास सिन्धुलीयले अभ्युदयभित्रका कविताहरु बाचन गरे । कवि सङ्गमले आफ्ना केही थान कविता सुनाएर कार्यक्रमको समापन गरिन् ।