डा. कडेलका एकसाथ दुई कृतिहरु सार्वजनिक

काठमाडौं । शिक्षाविद् तथा साहित्यकार डा. सदानन्द कडेलका दुई कृति एकैसाथ लोकार्पण गरिएको छ ।
नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार काठमाडौंमा आयोजित साहित्यिक कार्यक्रमविच डा.कडेलका ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ र ‘झुल्को आँखामा’ प्रा.डा.सुरेशराज शर्मा, प्रा.डा.वासुदेव त्रिपाठी, केदारभक्त माथेमा, प्रा.डा.विद्यानाथ कोइराला, प्रा.डा.मनप्रसाद वाग्ले, बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, प्रा.डा.अन्जना भट्टराई, प्रा.डा.बालचन्द्र लुइटेल लगायतले सार्वजनिक गरेका हुन् ।
नेपाल स्रष्टा समाजले प्रकाशनमा ल्याएको ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’ जीवनी बिम्ब हो भने इन्दिरा लामिछाने उपाध्याय प्रकाशक रहेको ‘झुल्को आँखामा’ गीतसङ्ग्रह हो ।
पुस्तक लोकार्पण पछि काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माले हामी आफैंलाई राम्रो बनाउन खोज्यौं होला तर देशलाई राम्रो गर्न कसले सोच्यो भन्ने प्रश्न उठाउँदै देश विग्रन लागेकोमा चिन्ता प्रकट गरे ।
त्रिविविका पूर्वउपकुलपति एवं पूर्व राजदुत केदारभक्त माथेमाले देशमा शिक्षाले सही बाटो नलिएकोमा चिन्ता प्रकट गर्दै उच्च शिक्षामा राजनीतिकरण भएकोमा आपत्ति प्रकट गरे । प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा.वासुदेव त्रिपाठीले विदेशिने संस्कृतिप्रति गम्भीर हुँदै नेपाली भाषा समृद्धि र शिक्षाको विश्वस्तरीयता आफूले चाहेको बताए । शिक्षाविद प्रा.डा. मनप्रसाद वाग्लेले शिक्षा र साहित्यको अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै निराश नहुन र आशावादी चेत जगाउन आग्रह गरे ।
प्रा.डा. विद्यानाथ कोइराला, नेपाल स्रष्टा समाजका संरक्षक पवन आलोक लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
लोकार्पित ‘शैक्षिक आकाशका उज्ज्वल नक्षत्र’माथि प्रा.डा. बालचन्द्र लुइटेलले प्रकाश पार्दै पुस्तक अनुसन्धानको क्षेत्रमा लाग्नेहरुको निम्ति महत्वपूर्ण भएको बताए । ‘झुल्को आँखामा’ गीतसंग्रहबारे आफ्नो धारणा राख्दै प्रा.डा. अन्जना भट्टराईले आमाप्रति समर्पित, थातथलोको स्मरण, महिलाका पीडाहरु, प्रेम लगायतका विषयहरु र बालगीतहरु समेत समेटिएको पुस्तकमा प्रेम, लोककाव्य गीत प्रकृतिका बिम्बहरु रहेको बताइन ।
कृतिका स्रष्टा डा. कडेलले रचनागर्भबारे आफ्नो अनुभव र अनुभूति सुनाएका कार्यक्रमका अध्यक्ष रोदनले शैक्षिक क्षेत्रमा वाहिर प्रकाशमा नआएका धेरै कुराहरु जीवनी बिम्बले ल्याएको भन्दै पैसा खर्चेर अरुलाई जीवनी लेखाउने प्रचलन बढेको अबस्थामा मुलुककै शैक्षिक क्षेत्रलाई उठाउन जीवनभर लागिरहेका व्यक्तित्वहरुको बारेमा यस प्रकारको जीवनी आउनु गौरवको विषय भएकोले त्यस्तो कृति प्रकाशनको अबसरका लागि स्रष्टालाई धन्यवाद दिए ।
समाजकी कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन महासचिव देविका तिमिल्सिनाले गरेकी थिइन् ।