साहित्यिक संस्था र समाजसेवीलाई रण–अम्बिका शाह सेवा पुरस्कार

काठमाडौं । रण–अम्बिका शाह सेवा गुठी, नेपालले साहित्यिक तथा सामाजिक क्षेत्रमा क्रियाशील संस्था र व्यक्तिलाई २०८२ सालको ‘रण–अम्बिका शाह सेवा पुरस्कार’ प्रदान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चिकित्सक प्रा.डा. मृगेन्द्रराज पाण्डेले समाजसेवी उज्ज्वलविक्रम थापा र साहित्यिक संस्था नेपाल स्रष्टा समाजलाई उक्त पुरस्कार प्रदान गरे ।
साहित्यका माध्यमबाट समाजका लागि भाषा, संस्कृतिको उत्थानमा करिब दुई दशकदेखि क्रियाशील संस्था नेपाल स्रष्टा समाजलाई र एसिड आक्रमणबाट पीडित महिला तथा जलनबाट पीडितहरूको सेवामा निरन्तर समर्पित समाजसेवी उज्ज्वलविक्रम थापालाई, तिनको सामाजिक योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको कुरा गुठीका सचिव किरण थापाले बताए । दुबैलाई पुरस्कारकासाथ जनही नगद राशि एक लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको हो । समाजको पुरस्कार समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ग्रहण गरे ।
सोही अवसरमा गुठीले विभिन्न सात संस्थाहरूलाई आर्थिक सेवा सहयोग समेत प्रदान गरेको छ । यस वर्ष सेवा सहयोग प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय युवा सेवा कोष, अन्तरदृष्टि नेपाल, जोन्ता क्लब, नेपाल चिकित्सा मनोविद् संघ, प्राकृतिक स्वास्थ्य संस्था, बाल शान्ति गृह लगायत छन् ।
पुरस्कृत संस्था स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले स्रष्टा समाजले गरेका कामहरूका बारेमा जानकारी दिँदै प्राप्त पुरस्कारले आफूहरूमा उर्जा थपिएको बताए भने अर्का पुरस्कृत व्यक्तित्व समाजसेवी थापाले आफू बाल्यकालदेखि नै समाजसेवातर्फ आकर्षित भएको बताउँदै पछिल्लो चरणमा आफूले गरेका सामाजिक सेवाका कामहरूबारे जानकारी दिए ।
प्रमुख अतिथिको मन्तव्यका क्रममा प्रा.डा. पाण्डेले गुठीले गरेको सामाजिक कामको प्रसंशा गर्दै सबैले राम्रो काम गर्दै जानुपर्नेमा जोड दिए । बाल शान्ति गृह, दाङका भोलानाथ योगीले गुठीले गरेको सहयोगले उत्साहित भएको बताए बताए भने डा. चिन्तामणि योगी, मिता शाह राणाले पनि गुठी र पुरस्कारका विषयमा आफ्ना धारणा राखे ।