एकै साता दुई नेपाली साहित्यकारको महाप्रस्थान

काठमाडौं । पछिल्लो साता नेपाली साहित्य जगतलाई एकपछि अर्को दुखद खबरले शोकमग्न तुल्याएको छ । एकै साता दुई विशिष्ट साहित्यिक हस्तीहरूले महाप्रस्थान गर्नुभएको छ ।
वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको दुई दिन पछाडि अर्का वरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएका क्यान्सर पीडित चालिसेलाई अचानक छाती दुख्न थालेपछि १६ गते बिहान घर नजिकै अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लगिएको थियो । उपचरकै क्रममा बिहान १०:१५ बजे उहाँको निधन हुन पुग्यो । काठमाडौँको जोरपाटीस्थित आरुवारिमा विसं २००८ साल असार २२ गते जन्मनुभएका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो । लामो समय पत्रकारिता क्षेत्रमा समेत योगदान पुर्याउनु भएका चालिसेका कथा, उपन्यास, नियात्रा, बालसाहित्य विषयका ५० बढी पुस्तकहरू प्रकाशित छन् ।
चालिसेको निधनको खबरले स्तब्ध भएको नेपाली साहित्य जगतलाई एउटा घाउमा खाटा नबस्दै अर्को शोक थपिएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराउँदै आउनुभएका अर्का बरिष्ठ सर्जक गणेश रसिकको ७८ बर्षको उमेरमा जेठ १८ गते बिहान ११:३० बजे निधन भएको छ । भोजपुरको टेम्केमैयुङ- २, छिनामखु नौलागाउँमा विसं २००४ असोज ४ गते जन्मिनुभएका रसिक लेखकका रूपमा मात्र नभई गायक तथा संगीतकारका रूपमा समेत परिचित हुनुहुन्छ । उहाँको पनि उपचारकै क्रममा ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।
नेपाली साहित्यमा उहाँका कथा, कविता, उपन्यास, संस्मरण, निबन्ध आदिका थुप्रै कृतिहरू प्रकाशित छन् । नेपाली गीत-सङ्गीतको क्षेत्रमा पनि रसिकको विशेष योगदान छ ।
दुई विशिष्ट सर्जकहरूको अकल्पनीय असामयीक निधनमा विभिन्न साहित्यकार तथा साहित्यिक संघ-संस्थाहरूले दु:ख व्यक्त गर्दै नेपाली साहित्य जगतलाई अपुरणीय क्षति भएको बताएका छन् । दुवै बरिष्ठ साहित्यकारहरूप्रति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अनेसास दर्पण हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछ ।