अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टरद्वारा साहित्यिक विमर्श कार्यक्रम आयोजित 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), सिक्किम च्याप्टरले मिति १४ जून, २०२५  शनिवारका दिन गान्तोक सिक्किमको नेपाली साहित्य परिषद् भवनको प्रेक्षागृहमा साहित्यिक विमर्श कार्यक्रमको आयोजना गऱ्यो। कार्यक्रमको अध्यक्षता अनेसास सिक्किम च्याटरका अध्यक्ष वरिष्ठ साहित्यकार श्री रुद्र पौड्यालले गरेका थिए भने मुख्य अतिथिका रूपमा पद्मश्री सम्मानले विभूषित वरिष्ठ साहित्यकार श्री सानु लामा उपस्थित थिए। कार्यक्रममा नेपाली साहित्य परिषद्का अध्यक्ष श्री हरि ढुङ्गेल, पूर्व मन्त्री श्री बीएम रामूदामू, पूर्व विधायक डीबी ठटाल एवम् वरिष्ठ साहित्यका श्री प्रद्युम्न श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा सिक्किमका साहित्य सर्जकहरूको विशेष उपस्थिति रहेको थियो। दीप प्रज्जवलनबाट शुरु भएको कार्यक्रममा अनेसास केन्द्रिय समिति सदस्य श्रीमती रत्न लक्सम सुब्बाले स्वागत सम्बोधन राख्नेक्रममा अनेसासको परिचयात्मक इतिहाससहित उद्देश्यहरू प्रस्तुत गरिन्। कार्यक्रमको आकर्षण रह्यो साहित्यमा पर्यावरणको मुद्दा – विषयमा आयोजित साहित्यिक विमर्श, जसको सञ्चालन डा. पारसमणि दंगालले गरेका थिए। विमर्शमा वरिष्ठ साहित्यकार एवम् पूर्व अध्यक्ष प्रा. डा. पुष्प शर्मा, वरिष्ठ साहित्यकार एवम् पूर्व उपाध्यक्ष प्रा. डा. कविता लामा अनि वरिष्ठ साहित्यकार एवम् पूर्व कोषाध्यक्ष श्रीमती उषा शर्मा सहभागी बनेका थिए।

वर्तमान विश्व साहित्यमा पर्यवरणलाई कसरी हेरिएको छ भन्ने विषयमा विमर्श केन्द्रित रहेको थियो। कार्यक्रममा कवि पेम नर्बू शेर्पा ‘ज्योति’, फूर्वा खाण्डु शेर्पा, रिकी ल्हमू लेप्चा, मुँगा राई अनि भीम रावतले कविता वाचन गरेका थिए। कार्यक्रममा श्रीमती वीणा योञ्जन, कोषाध्यक्षले पोर्तुगल अनेसास सम्मेलनको प्रतिवेदन एवम् अनुभव साझा गरेकी थिइन्। यसपछि भारतको प्रतिष्ठत साहित्य अकादेमी पुरस्कार २०२४ ले सम्मानित साहित्यकार श्री युवा बराल अनन्तलाई सिक्किम च्याप्टरले अङ्ग वस्त्र र अभिनन्दन पत्र अर्पण गरेरे बधाई सहित अभिनन्दित गरेको थियो। आफ्नो सम्बन्धोनमा श्री बरालले आफ्नो साहित्यिक यात्राको क्रममा अनेसासको भूमिका बारे मनतव्य प्रस्तुत गरेका थिए। मुख्य अतिथि श्री सानु लामाले आफ्नो सम्बोधनमा विश्व साहित्यमा नेपाली साहित्यलाई प्रस्तुत गर्ने अनेसास एउटा मञ्च हुनसक्ने विचार राख्दै सिक्किम च्याटरलाई बधाई दिए। त्यसपछि सभाध्यक्ष श्री रूद्र पौड्यालले अनेसास सिक्किम च्याप्टरका गतिविहरूमाथि प्रकाश गरेका थिए। कार्यक्रमको सञ्चालन डा. पारसमणि दंगालले गरेका थिए भने अन्त्यमा उनले नै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।

     

 

प्रतिकृया दिनुहोस्